०६ जेठ २०८१

शेष घले र कुमार पन्त संग जुरीखमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

२४ जुलाई २०१६, स्विटजरल्याण्ड। गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्विटजरल्याण्डले आज २४ जुलाई, जुरीखमा गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री शेष घले र उपाध्यक्ष श्री कुमार पन्त संगको  “गैर-आवासिय नेपाली संघका वर्तमान चुनौति र अवसरहरुका पृष्टभूमिमा भूकम्प प्रभावित क्षेत्रको पुन:निर्माणमा संघको उत्तरदायित्व” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना ग-यो।

“मोडल भिलेज” मात्र होईन मोडेल भिलेज बनाउने प्रकृया पनि “मोडल प्रोसेस” बनाउन चाहेका हौं : शेष घले 

कार्यक्रममा अध्यक्ष घलेले गैर-आवासिय नेपाली संघको १००० घर योजनाको पृष्टभूमिका बारेमा विस्तृत रुपमा बोल्दै योजनाको कार्यान्वयनको कार्यनीति र यस सम्बन्धमा गैर-आवासिय नेपाली संघको भिजनका बारेमा आफ्नो विचार राखे। लाप्राकमा मोडल भिलेज बनाउन गत आप्रिल महिनामा नेपाल सरकारसंग सम्झौता भएको चर्चा गर्दै घलेले गैर-आवासिय नेपाली संघले “मोडल भिलेज” मात्र होईन मोडेल भिलेज बनाउने प्रकृया पनि “मोडल प्रोसेस” बनाउन चाहेको बताएका छन्। निर्माणका मापदण्ड पुरा गर्न प्रकृया महत्वपूर्ण हुने कुरामा उनले जोड दिए। मोडल भिलेजमा घरहरु मात्र बनाएर सजिव गाउँ बनाउन नसकिने बताउँदै उनले गाउँका लागि सडक, खानेपानी, पाठशाला, कम्युनिटि हल जस्ता पूर्वाधारको आवश्यकता रहने विचार राखे। “ति आवश्यक पूर्वाधारहरुका लागि गैर-आवासिय नेपाली संघ सम्बन्धित क्षेत्रमा विशेषज्ञता हासिल गरेका विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय संघ-संस्थाहरु संघ सम्पर्कमा छ“, घलेले थपे। संघको १००० घर योजनाका लागि आगामी सेप्टम्बरसम्म योजनाको मास्टर प्लान तयार हुने, योजनाको ओभरहेड कष्ट शुन्य प्रतिशत भन्दा कम हुने, घर स्वामित्ववालाहरुलाई योजनामा संलग्न गराईने र योजनामा स्थानिय महिलाहरुको अगुवाईलाई प्राथमिकता दिने जस्ता विषयहरुमा बोल्दै सहभागीहरुद्वारा सोधिएका प्रश्नहरुको उत्तर दिए।

एनआरएनए र १००० घर योजनामा एक पैसा तलमाथि हुने छैन : कुमार पन्त

गैर-आवासिय नेपली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तले कार्यक्रममा बोल्दै संघका चुनौति र अवसरहरु का बारेमा आफ्नो विचार ब्यक्त्त गरे। संघको ७३ वटा देशहरुमा सञ्जाल फैलाई सकेको गैर-आवासिय नेपाली संघको संस्थागत विकासका केहि चुनौतिहरु भएपनि परोपकारी कार्य र लगानीका क्षेत्रमा प्रशस्त अबसरहरु छन्, उनले भने। नेतृत्वमा बस्ने मान्छेको छवि सफा हुनु पर्ने बताउँदै उनले गैर-आवासिय नेपाली संघलाई सबैको साझा संस्था बनाउनु पर्नेमा जोड दिए। एनआरएनएको १००० घर योजनाका बारेमा बोल्दै एनआरएनए र योजनामा एक पैसा पनि तलमाथि नहुने प्रतिबद्धता जनाए। कार्यक्रममा गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक श्री दिल गुरूङ सहित स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाहरुका प्रतिनिधिहरु र स्विटजरल्याण्डबासी नेपालीहरुको उपास्थिति रह्यो।

स्विटजरल्याण्डका आईसिसि सदस्य डा. विनय श्रेष्ठले अन्तरक्रिया कार्यक्रमको मोडेरेशन गर्दै गैर-आवासिय नेपाली संघले १३ वर्षको कार्यावधिमा नै आफ्नो अभियानका माध्यमबाट “गैर-आवासिय नेपाली” लाई आधिकारीक तवरले परिभाषित गराउने, नेपालको संसदबाट ‘गैर-आवासिय नेपाली ऐन’ पारित गराउने र अन्तत: सिमीत राजनीतिक अधिकार सहित कै भएपनि ‘नेपालको संविधान २०७२’ मा एन.आर.एन. नागरिकताको व्यवस्था गर्न सफलता हासिल गरेको बताए। यसै परिप्रेक्ष्यमा सन २०१५ को विनाशकारी भूकम्पका बखत संघले भूकम्पपीडितहरुको लागि संचालन गरेको उद्धार कार्यलाई स्वदेश र प्रवासमा उच्च महत्वका साथ चर्चा गर्ने गरिएको र भूकम्पपीडित क्षेत्रको पुन:निर्माणका लागि संघले अघि सारेको १००० घर योजनालाई गैर-आवासिय नेपालीहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको विचार राखे।

स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुलाई आसन ग्रहण गराईएको उक्त्त कार्यक्रममा स्वीस-नेपाली समाजका अध्यक्ष डा. मार्कुस रुकस्थुल, स्वीस-नेपाली भूकम्प पुन:निर्माण अभियानका संयोजक पितम गुरूङ, नेपाली जन-सम्पर्क समिति, स्विटजरल्याण्डका अध्यक्ष राम महतो, नेपाल जनजाति महासंघ स्विटजरल्याण्डका संयोजक छोङडुक भोटे, बासेल समाजका अध्यक्ष रेशम रोक्का र नेपाली जुरीख स्पोर्ट क्लबका अध्यक्ष देव राईले मन्तब्य ब्यक्त्त गरे।

कार्यक्रमको अन्त्यमा गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका अध्यक्षले आईसिसि अध्यक्ष घले र उपाध्यक्ष पन्तलाई धन्यवाद ज्ञापन गर्दै संघको १००० घर योजनामा आईसिसि संग सहकार्य गर्न चाहेको बताए। साथै उनले भूकम्पपीडित हरुका लागि गैर-आवासिय नेपाली संघ स्विटजरल्याण्डलाई सहयोग गर्ने सबैमा कृतज्ञता ब्यक्त्त गर्दै स्वीसबासीहरुले गरेको एक-एक पैसाको सदुपयोग हुनेमा विश्वाश ब्यक्त्त गरे। कार्यक्रमको संचालन राष्ट्रिय समन्वय परिषद, स्विटजरल्याण्डका महासचिव भूमिराज गुरूङले गरेका थिए। अन्तरक्रिया कार्यक्रमको समापन पश्चात स्वीस-नेपाली भूकम्प पुन:निर्माण अभियानको छुट्टै कार्यक्रम आयोजना गरी अभियानद्वारा संकलित अर्थ गैर-आवासिय नेपाली संघका अध्यक्ष श्री शेष घले र उपाध्यक्ष श्री कुमार पन्तलाई संयुक्त्त रुपमा हस्तान्तरण ग-यो।

नोट: अभियानको कार्यक्रमको छुट्टै समाचार प्रकाशित गरिने छ।

Share.

Leave A Reply