२४ वैशाख २०८१

अनुशासन र कर्तव्य पालना नगरी समाजबादी भइदैन : मुख्यमन्त्री गुरुङ

0

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्काउटले नागरिकलाई कर्तब्य र अनुशासन सिकाउनुपर्ने बताएका छन् । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको आयोजनामा पोखरामा शुरु भएको गण्डकी प्रदेश स्तरिय ‘आधारभुत स्काउट तालिम’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले सभ्य समाज निर्माणका लागि स्काउटले नागरिकलाई कर्तब्य र अनुशासन सिकाउनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री गुरुङले अनुशासन र कर्तव्य पालना नगरी समाजबादीसमेत नभइने बताए । उनले सबैलाई उत्प्रेरणा र उत्साही बनाउनुपर्ने आवश्यक्तासमेत औंल्याउँदै त्यो भूमिका स्काउटले खेल्न सक्ने बताए । यसो गर्न सकियो भनेमात्र देश सकारात्मक दिशातर्फ उन्मुख हुने उनको भनाई थियो ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले स्काउटलाई ब्यबस्थित गर्न नया स्काउट ऐन बनिरहेको बताए । उनले स्काउटको नया ऐनको मस्यौदा बनिरहेको र चाँडै ऐन बन्ने उल्लेख गरे ।

प्रतिनिधि सभाका सांसद विद्या भट्टराई अधिकारीले युवालाई उत्तरदायी बनाउनका लागि स्काउटको भूमिका महत्वपूर्ण हुने बताइन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नपनि स्काउटले सघाउनुपर्ने उनको भनाई थियो ।

प्रदेश सांसद राजिव पहारीले स्काउटमा लागेका युवाहरु बर्दि बिनाको सुरक्षाकर्मी भएकाले समाज रुपान्तरणमा स्काउटको भूमिका प्रमुख हुने बताए । उनले सुरक्षार्की झैं देश निर्माणमा जुट्न स्काउटकर्मीहरुलाई सुझाव दिए ।

सांसद कृष्ण थापाले तालिममा सहभागिहरुलाई सिकेका कुरा व्यवहारमा उतार्न सुझाव दिए ।

सांसद विन्दुकुमार थापाले स्काउटले गलत ट्रयाकमा हिंडेको सरकारलाईसमेत सहि दिशा देखाउन सक्नुपर्ने बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समाजको प्रत्येक समस्यामा स्काउट समाधान भएर उभिने विश्वास व्यक्त गरे । राज्यले युवालाई परिचालन गर्न नसकेको भन्दै उनले स्काउटले स्कुल र कलेज बाहिरका युवालाईसमेत समेटर समाज रुपान्तरणमा अघि बढ्नुपर्ने बताए ।

हिसानका केन्द्रीय उपाध्यक्ष शेरबहादुर गुरुङले स्काउटले समाज सेवामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बिपद आउँदा होस् वा सामाजिक कार्यमा हाम्रो लागि स्काउट छ भन्ने आभाष दिलाउनुपर्ने आवश्यक्ता औंल्याए ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले विकृति, विसंगतिबिरुद्ध लड्न सक्ने युवा जमात तयार पार्न स्काउटले अभियानकै रुपमा तालिम सञ्चालन गरेको बताए । उनले राष्ट्र निर्माण र समाज रुपान्तरणका लागि मात्र नभई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नपनि स्काउटले भूमिका खेल्ने बताए । उनले स्काउटलाई गाउँ गाउँ र स्कुल स्कुलसम्मपनि पु¥याउने अभियानका लागि पनि तालिम आयोजना गरिएको बताए ।

विहीबारदेखि नै शुरु भएको गण्डकी प्रदेश स्तरिय स्काउट आधार तालिमको शुक्रबार समुद्घाटन गरिएको हो । स्वयम्सेवी युवा उत्पादन गर्न शुरु भएको तालिम फागुन २० गतेसम्म चल्ने नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए ।

तालिममा गण्डकी प्रदेशका प्रत्येक पालिकाबाट प्रतिनिधित्व हुनेगरी ३९१ जना सहभागि रहेको संयोजक भण्डारीले बताए । तालिममा नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य र विपत्तीमा कसरी काम गर्ने भन्नेबारेमापनि तालिम दिइने उनले बताए । उनले तालिममा समाज रुपान्तरणसँगै देश विकासका लागि सामाजिक कार्य गर्नुपर्ने र त्यसका लागि युवाले नेतृत्व कसरी लिने भन्नेबारेपनि सिकाइने बताए । उनका अनुसार तालिममा विपतमा परेकाहरुको उद्धार र उनीहरुको सुरक्षाका लागि अप्नाउनुपर्ने उपायहरुबारेपनि सिकाइनेछ ।

५ सय जना सहभागि प्रशिक्षार्थीका लागि झण्डै १ सय जना स्काउट मास्टरहरुले प्रशिक्षण दिइरहेको संयोजक भण्डारीले जानकारी दिए । ३२ जना प्रशिक्षार्थीहरुको एउटा ग्रुप बनाएर उनीहरुलाई १ जना कोच लिडर र ५ जना काउन्सिलरसहित ६ जनाको टिमले नेतृत्व गरेर प्रशिक्षण दिइरहेको उनले बताए ।

प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुलाई अन्र्तराष्ट्रिय स्तरको प्रमाणपत्र दिइने नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जनाएको छ ।

Share.

Leave A Reply