०६ जेठ २०८१

आर्थिक कूटनीतिका कार्यक्रम ल्याउँछौ – नवनियुक्त राजदूत भट्टराई

0

बेर्न। स्वीट्जरल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत मणि प्रसाद भट्टराईले पर्यटन प्रवर्धन, लगानी र प्रबिधि हस्तान्तरणलाई जोडेर आर्थिक कूटनीतिको क्षेत्रमा काम गर्ने बताएका छन्। राजदूत भट्टराईले नेपालको फाइदाका लागि तीनवटा पक्षलाई जोडेर दूतावासले कार्यक्रम ल्याउने बताएका हुन्। स्वीट्जरल्याण्डको नेपाली समुदायले आईतबार बेर्नमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने,” नेपाली समुदायसँग छलफल तथा सहकार्य गरेर दूतावासले आर्थिक कूटनीतिको क्षेत्रमा कार्यक्रमहरू तय गर्दैछ।”

परराष्ट्रमन्त्रालयले हालै ब्रेनगेन सेन्टर कार्यक्रम ल्याएको भन्दै आफूसँग भएको ज्ञान, सीप र दक्षताको बारेमा मुलुकले जानकारी गराउन उनले नेपाली समुदायलाई आह्वान गरे। भट्टराईले भने मन्त्रालयको वेबसाइट मार्फत रजिस्टर गर्न आह्वान गर्दछु, त्यो रेकर्ड हुन्छ। मुलुकले आवश्यकता भएको बेला तपाइलाई सम्पर्क गर्नेछ, देशलाई योगदान दिने मार्ग खुलेको छ आफ्नो दक्षताबारे जानकारी गराउन अनुरोध गर्दछु।”

स्वीट्जरल्याण्ड तथा जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका लागि राजदूत नियुक्त भएर भट्टराई हालै जेनेभा आईपुगेका हुन्। पहिलो पटक नेपाली समुदायमाँझ बोल्दै उनले भिजिट नेपाल २०२० सफल पार्न स्वीट्जरल्याण्ड स्थित नेपाली समुदायलाई अनुरोध गरे। “बर्षमा एक पटक तपाईहरु नेपाल  पुग्नु भयो भनेपनि मुलुकलाई ठुलो फाईदा हुन्छ। पर्यटन बिकासका लागि गैर आबासीय नेपालीहरुको ठुलो भूमिका रहन्छ सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दछु” राजदूत भट्टराईले भने।

अन्तर्राष्ट्रिय श्रम संगठनको सयौ बर्षगाँठको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनेभा भ्रमण गर्न लागेको बताउदै उनले भम्रणलाई सफल र उपलब्धिमुलक बनाउने बताए। राजदूत भट्टराईले भने,”आगामी महिना प्रधानमन्त्रीले जेनेभा भ्रमण गर्दै हुनुहुन्छ। नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने चाहाना राख्नु भएको छ, यसका लागि दूताबासले गृहकार्य गर्दैछ।”

स्वीट्जरल्याण्डका लागि नवनियुक्त राजदूत भट्टराईले सन् १९८८ देखि  नेपाल सरकारमा सेवा शुरु गरेका हुन्। उनले २०१० देखि २०१४ सम्म न्यूयोर्कमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा मिनिस्टर काउन्सिलरको जिम्मेवारी सम्हालेका थिए। न्यूयोर्कबाट फर्किए पछि उनले परराष्ट्र मन्त्रालयमै सहसचिवको रूपमा काम गरेका थिए।

गत डिसेम्बर महिनामा नेपाल सरकारले परराष्ट्र मन्त्रालयका पांचजना सहसचिवहरुलाई पांच विभिन्न मुलुकहरुका लागि राजदूत नियुक्त गरेको थियो। जसअनुसार सहसचिव भट्टराई स्वीट्जरल्याण्ड तथा जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका लागि राजदूत नियुक्त भए।

झन्डै एक दशक राष्ट्रिय योजना आयोगमा काम गरेका भट्टराई नवौं तथा दशौँ योजना तर्जुमामा पनि सहभागी थिए। अल्पविकसित मुलुकहरुको लागि राष्ट्रसंघद्वारा सन् २०११ मा पारित ‘इस्तानबुल प्रोग्राम अफ एक्सन’ घोषणा प्रक्रियामा समेत सहभागी रहेका भट्टराई जेनेभामा स्वीट्जरल्याण्डसंग द्वीपक्षीय सम्वन्ध सुद्रीढ गर्न र नेपालको आर्थिक विकासका लागि स्रोतहरु जुटाउन बढी सक्रिय रहनुपर्ने देखिन्छ ।

एनआरएनए स्वीट्जरल्याण्डले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष भूमिराज गुरुङ्ले दूताबास र नेपाली समुदायको सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड दिए। कार्यक्रममा संघका संस्थापक अध्यक्ष सजंय मुडवरी, आईसीसी सदस्य राम महतो, महिला संयोजक शुभ एल्मर लामा, बेर्न समाजका अध्यक्ष बिष्णु थापा, नेपाली जन संम्पर्क समिति स्वीट्जरल्याण्डका अध्यक्ष श्याम सापकोटा र प्रवासी नेपाली एकता मञ्चका प्रस्तावित संयोजक अच्युत प्रसाद फुयाल लगायत संघसंस्थाका प्रतिनिधिहरुले बोलेका थिए।

कार्यक्रमको संचालन संघका महासचिव शुक्र श्रेष्ठले गरेका थिए।

Share.

Leave A Reply