०४ जेठ २०८१

वैदेशिक रोजगारीमा गएकालाई सञ्चयकोषमा समेट्ने सरकारी प्रयासको एनआरएनएद्वारा स्वागत

0

नेपाल सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा अन्तर्गत समेट्दै सञ्चयकोषको व्यवस्था गर्ने गरी गरेको निर्णयको गैर आवासीय नेपाली संघले स्वागत गरेको छ ।
गैर आवासीय नेपाली संघले सन् २०१३ देखि नै अभियानका रुपमा अगाडि बढाएको हजारे अभियानलाई मूर्त रुप दिने उद्देश्यले कर्मचारी सञ्चयकोषसँगको सहकार्यमा अगाडि बढाएको वैदेशिक रोजगारी सञ्चय कोषको प्रक्रियालाई अध्ययन गरी प्रतिवेदन पेश गर्न नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपछि उक्त प्रक्रियाले मूर्त रुप पाएको हो ।
श्रम, रोजगार तथा सामाकिज सुरक्षा मन्त्रालयका सचिव महेश दाहालको संयोजकत्वमा गठित उक्त सरकारी कार्यदलले बुझाएको प्रतिवेदनका सम्बन्धमा एनआरएनएले आफ्नो धारणा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दै सरकारको उक्त कदमा स्वागत गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरुलाई देशको सामाजिक सुरक्षा र संचयकोषको सेवा उपलब्ध गराउने गरी व्यवस्था गर्न आवश्यक प्रकृया अगाडि बढाएकोमा गैरआवासीय नेपाली संघ नेपाल सरकार, विभागीय मन्त्री माननीय गोकर्ण विष्ट, कर्मचारी संचयकोष तगायत सबै सम्बन्धित निकायहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दछ । यो विषयलाई निर्णायक तहमा पुर्याउन मन्त्रालयका तर्फबाट पछिल्लो समयमा भएको अध्ययनमा संघले विगत लामो समयदेखि उठाउँदै आएका हजारे अभियान लगायतका यससंग सम्बन्धित विषय, संचयकोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयहरुलाई समेत गम्भिरतापूर्वक लिइएको हामीले महशुश गरेका छौं । नेपाल सरकारको यो निर्णयको संघ सहर्ष स्वागत गर्दछ ।

विज्ञप्तिमा अगाडि भनिएको छ गैरआवासीय नेपाली संघले यस अभियानलाई केबल वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा र भविष्यका लागि बचत हुने विषयका रुपमा मात्रै हेरेको छैन । यो अभियानले सानो सानो पूँजीलाई एकिकृत गरेर राष्ट्र निर्माणका ठूलठूला कार्यहरु गर्नसमेत योगदान पुग्ने विश्वास संघले लिएको छ । यही विश्वासका साथ संघले सन् २०१३ देखि नै यो विषयलाई हजारे अभियान (सामाजिक सुरक्षा कोष) का रुपमा अघि बढाउँदै आएको थियो । अव यो कार्यान्वयनको तहमा पुगेको सन्दर्भमा संघ र यसका अभियन्ताहरु खुसी भएरमात्र पुग्ने अवस्था छैन । यस अभियानमा वैदेशिक रोजगारीमा रहेका बढी भन्दा बढी दिदीबहिनी तथा दाजुभाइहरुलाई सहभागी गराएर सफल बनाउनु पनि हाम्रो दायित्व हो भन्ने हाम्रो बुझाइ छ र यस निम्ति नेपाल सरकार र सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य गर्न संघ आतुर रहेको समेत यसै अवसरमा जानकारी गराउन चाहन्छौं, विज्ञप्तिमा भनिएको छ ।

Share.

Leave A Reply