०५ जेठ २०८१

नेपालको परिवर्तनबाट विश्व समुदायले पाठ सिकोस् – प्रम ओली

0

नेपालका प्रधानमन्त्री के. पी. शर्मा ओलीले नेपालले राजनीतिक क्षेत्रमा छोटो समयमा नै आमूल परिवर्तन गरेकाले विश्व समुदायले नेपालबाट पाठ सिक्न सक्ने बताएका छन् ।
विश्व आर्थिक मञ्चको ४९ औं सभामा भाग लिन स्वीट्जरल्याण्ड आई पुगेका प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा जेनेभा स्थित नेपाली राज दूतावासले जुरीख स्थित साट्गोथाड होटेलमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गरेका हुन् ।


उक्त कार्यक्रममा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत तथा संयुक्त राष्ट्रसंघको जेनेभा स्थित कार्यालयका लागि नेपालका तर्फबाट स्थायी प्रतिनिधि दीपक धिताले उपस्थित प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा लगायत उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य एवं स्वीट्जरल्याण्ड स्थित गैर आवासीय नेपाली संघ, स्वीस नेपाली समाज, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत उपस्थित सम्पूर्ण पाहुनाहरूलाई स्वागत गर्दै कार्यक्रमका सम्बन्धमा जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै राजदूत धितालले नेपालमा प्रधानमन्त्री ओलीको नेतृत्वले नेपालको द्वन्द र लामो संक्रमणकालको दरिलो निकास पाएको बताउँदै देशले राजनीतिक स्थायित्व पाउनुका साथै विकास र समृद्धिको शुरुआत भएको बताए । वर्तमान् विश्वव्यापीकरणको युगमा नेपाललाई छिमेकी मित्रराष्ट्रहरु तथा विश्व समुदायको सहयोगका साथै त्यस किसिमका कुराहरु चासोका विषयहरु, देशको इज्जत र प्रतिष्ठाका कुराहरु प्रधानमन्त्री ओलीले सशक्त रुपमा स्पष्टताका साथ समावेशीताका आधारमा राख्नु भएको छ। डावोसमा प्रमले विभिन्न अत्यन्त महत्वपूर्ण सत्रहरुमा भाग लिएर नेपालका समावेशी मुद्दाहरुलाई विश्व रंगमञ्चमा ससक्त रुपमा उठाउनु भएको छ । विशेषगरी हाम्रा छिमेकी र क्षेत्रीय स्तरमा रहेका मुलुकहरुसँगको सम्बन्ध र त्यसलाई अझै सुदृढ बनाउनु पर्ने कुरा र आपसी लाभका कुराहरुलाई सशक्त रुपमा उठाउनु भएको चर्चा गदैँ प्रजातन्त्रलाई विश्वव्यापीकरण गर्ने र जनता र मुलुकको सेवामा कसरी आफूलाई उभ्याउने जस्ता विषयहरुमा यस फोरमका विभिन्न सत्रहरुमा प्रमले प्रबल रुपमा आफ्ना मुद्दाहरुलाई उठाएको बताए । अझ महत्वपूर्ण कुरा नेपाल जस्ता कम विकसित मुलुकहरुलाई विश्व व्यापारको परिवेशमा के हुन सक्छ ? हाम्रा समावेशी मुद्दाहरु के हुन् र त्यसलाई विश्व समुदायले न्याय र समानताको आधारमा कसरी हेर्नुपर्छ भन्ने जस्ता कुरालाई प्रमले ग्यादरीड. अफ वर्ल्ड इकोनोमिक लिडर्सको भेलामा उठाएको बताए।


त्यसैगरी प्रधानमन्त्रीले नेपालमा भएको उच्च हिमाली क्षेत्रले आजको यो ग्लोबल वार्मिड. र हावापानी परिवर्तनको युगमा दक्षिण एशियाको सम्पूर्ण भागमा के कस्तो परिवर्तन ल्याएको छ र प्रभाव पार्छ अनि यसलाई विश्व समुदायले नेपालको हिमाली क्षेत्र र त्यहाँका जनताले इको सिस्टमका पुर्याएको योगदानको उच्च मूल्यांकन हुनु पर्छ र उनीहरुलाई ईज्जत र प्रतिष्ठा दिनु पर्छ र यो मुद्दालाई हामीले विश्व रंगमञ्चमा परराष्ट्र नीतिको अभिन्न अंगको रुपमा प्रवर्धन गर्नुपर्छ  भन्ने सन्देश नेपालको कूटनीतिक समुदायलाई दिनु भएको छ । समग्रमा भन्नुपर्दा यो उच्चस्तरको सहभागिताबाट नेपालको शाख विश्व समुदायमा बढेको छ र नेपालले पनि अहिलेको यो विश्वको राजनीतिक एवं आर्थिक क्षेत्रमा आफ्नो उपस्थिति देखाउने क्षमता राख्दछ र अगाडि बढ्न सक्छ भन्ने सन्देश पनि गएको राजदूत धितालले बताए ।


कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका अध्यक्ष भूमि गुरुङले नेपालका प्रधानमन्त्री सहितको उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीट्जरल्याण्डमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै वर्तमान सरकारले गैर आवासीय नेपालीहरुलाई केही प्राथमिकतामा राखेर काम गरिरहेकोमा धन्यवाद र आगामी दिनमा गैर आवासीय नेपालीहरुले नेपालमा नै फर्किएर पनि धैरै काम गर्न सक्ने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीले डावोसमा व्यक्त गरेको म शासक होइन जनताको सेवक बन्न चाहन्छु भन्ने अभिव्यक्ती आफूलाई मन परेको भन्दै समृद्ध नेपाल खुशी नेपालीका लागि प्रवासी नेपालीले पनि यसमा केही न केही सहयोग गर्न सक्छन् भन्ने विश्वास लिँदै एनआरएनएले पनि त्यसका लागि सहकार्य गरिरहेको छ र प्रवासमा रहँदा पनि देश र जनताका बारेमा चिन्तित रहेको बताउँदै देशमा शान्ति र विकास भएमा प्रवासमा सिकेका ज्ञान र सीप नेपालमा लगानी गर्न सक्नेछौँ भन्ने विश्वास व्यक्त गरे ।


त्यसैगरी स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस् रुक्स्टूलले आफ्नो गृह नगरीमा नेपालका सम्माननीय प्रधानमन्त्री तथा प्रतिनिधि मण्डलका सदस्यहरुलाई हार्दिक स्वागत गर्न पाउँदा अत्यन्तै खुशी एवं गौरव महशुस भएको बताउँदै स्वीस नेपाली समाजका तर्फबाट प्रम तथा उक्त प्रतिनिधि मण्डलका सदस्यहरुको भ्रमण फलदायी रहोस् भन्दै शुभकामना व्यक्त गरे । उनले नेपालको विकासमा टेवा पुर्याउने हेतूले स्वीस नेपाली समाजका माध्यमबाट नेपालका विभिन्न क्षेत्रहरुमा  नेपाली समुदायसँगको सहकार्यमा काम गर्दै आएको बताउँदै अहिले आएर त नेपाल र स्वीट्जरल्याण्डका बीचमा पारिवारिक सम्बन्धहरु  पनि विकास भईसकेको र हाम्रा दुई देशका बीचमा भएका धेरै खालका समानताहरुले दुई देश विचको सम्बन्ध उचाईमा पुर्याउन सहयोग पुर्याएको बताए । उनले भने यो भ्रमणले विश्व आर्थिक मञ्चमा मात्र होइन हाम्रा दुई देश र जनताका बीचको सम्बन्धलाई अझ बढी उचाईमा पुर्याउन सहयोग पुग्ने विश्वास लिनुका साथै यो भ्रमण फलदायी हुनेमा विश्वस्त रहेको छु।


कार्यक्रममा बोल्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो डाओस् भ्रमणको पुष्टी गर्दै भने हामीले हाम्रा कुरा राख्यौँ, नयाँ अभ्यासको थालनी भएको छ । त्यसको प्रतिविम्ब अन्तर्राष्ट्रिय क्षेत्रमा परेको छ । देशको आवश्यकता र ती आवश्यकता पूरा गर्न अठोटका कुरा हामीले गर्यौँ । उनले अगाडि भने खास गरेर नेपाली डायस्पोराका दाजुभाइ दिदीबहिनीहरुलाई भन्न चाहन्छु तपाईँहरु कुनै पनि अलमलमा नपर्नुस् । नैपालले ठूलो उपलब्धी प्राप्त गरेको छ, परिवर्तन ल्याएको छ र सकारात्मक बाटोमा अगाडि बढेको छ । विश्व आर्थिक फोरमको सन्दर्भमा यस पटक यो तहमा हाम्रो सहभागिता रहयो र हामीले हाम्रा कुराहरु राख्यौँ ।
प्रधानमन्त्री ओलीले अगाडि भने विश्व समुदायले हामीबाट सिक्न सक्छ, हामी सानो देश भयौँ तर परिवर्तनका हिसावले असाधारण फड्को मारेका छौँ । हामीले सरणार्थी समस्या केही तहसम्म हल गर्यौँ । अन्य समस्याका केही अवशेषहरु छन् जसलाई पनि हामी समाधानको बाटोमा लागेका छौँ । देशमा देखा परेको द्वन्दको समाधान गर्यौँ, हिंसाको नीतिको पनि व्यवस्थापन गर्यौँ । राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रको  स्थापना गरी जनतालाई सार्वभौमसत्ता सम्पन्न बनायौँ । सहभागितामूलक नयाँ संविधान निर्माण गर्यौँ । उक्त संविधानमा सामाजिक न्याय र समानताका कुराहरु, पछाडि परेका समुदायलाई अगाडि ल्याउने कुराहरु, महिलालाई अगाडि बढाउने कुराहरु आदि छन् कि छैनन् ? लोकतन्त्रलाई राजनीतिक पक्षबाट मात्र हेर्ने कि जनताका आर्थिक सामाजिक समृद्धिका पक्षबाट पनि हेर्ने ? भन्दै यूरोप र हाम्रो सन्दर्भ नै फरक छ, हामी बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहु जातीय भोगोलिक विविधताको संरचनामा रहेको मिश्रीत बनोटमा छौँ । हामी विविधताभित्र छौँ र त्यही विविधताभित्रबाट एकता खोज्ने हो । हामी एकताबद्ध प्रयासमा अगाडि बढ्छौँ । संविधानका धारा अनुसार कार्य गर्न कानुन बनाएका छौं, बाझिएका हदसम्मका धाराहरुलाई संसोधन र परिमार्जन गर्दै अगाडि बढिरहेका छौँ । यस प्रकारले नेपाल अब स्थिरतातिर उन्मुख भएको छ । अब हामी नीतिगत, संरचनागत स्थायित्व र स्थिरतामा प्रवेश गरेका छौँ । अब हाम्रो यात्रा सुसासन कायम गर्दै र लोकतन्त्रको रक्षा गर्दै आर्थिक उन्नतिको बाटोमा अगाडि बढ्ने हो । हामीले विदेशी मित्रहरुसँग, संस्थाहरुसँग र विदेशमा रहेका नेपाली दाजु-भाई दिदी-बहिनीहरू सँग अब नेपाललाई समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग गर्नुस भनेर आग्रह गरेका छौँ भन्दै ओलीले भने आफ्नो देश आफैंले बनाउने हो तसर्थ हरेकले आआफ्नो स्थानबाट कोशिस गरौँ । विदेशमा रहेका नेपालीहरु स्वदेशमै फर्केर जाउन र विदेशमा सिकेको सीप र आर्जित सम्पत्ती स्वदेशमै लगानी होस् भनेर सहुलियत कर्जाको पनि व्यवस्था गरेका छौँ । बाह्य लगानी आकर्षित गर्न आवश्यक कानुनी व्यवस्थालाई ब्यावहारिक बनाएका छौँ । मजदुर, रोजगारदाता, व्यापारी व्यवसायी लगायत सबै क्षेत्र र समुदायको प्रतिनिधित्वमा निर्माण गरेको नयाँ संविधानले ती सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने खालको कानुनी व्यवस्था गर्नुका साथै सामाजिक सुरक्षाको प्रत्याभूति भईसकेकाले अब कुनै पनि खालका झञ्झट र समस्या रहने छैन।


ओलीले अगाडि भने हामीले हवाई कनेक्टिभिटीका क्षेत्रमा काम गरेका छौँ, हवाई रुटहरु थपिएका छन्, तर दुःखको कुरो हाम्रो जहाज यूरोप प्रवेश गर्न पाउँदैन, आईकाओको प्रतिवेदन अनुसार हाम्रो भन्दा कमजोर हालत रहेको भारतले प्रवेश पाउँछ तर हामीले पाउँदैनौँ । हाम्रो मित्रराष्ट्र फ्रान्सले हामीलाई दुईवटा एयरवस बेचेको छ, हाम्रो विमानस्थलमा बस्न पनि सक्छ, उड्न पनि सक्छ भनेर बेचेको छ तर त्यही एयरबस उसको एयरपोर्टमा आउन दिँदैन । यस प्रकारका उल्झनहरुमाथि हामी छलफल गर्छौँ र अहिलेको नेपाल कसैसँग पनि खुल्ला रुपमा छलफल गर्न हिच्किचाउँदैन । स्वाधिनताका आधारमा सबै राष्ट्रहरु स्वाधिन र स्वतन्त्र छन् भन्ने मान्यताका आधारमा नेपाल अगाडि बढ्छ । नेपाली नयाँ वर्ष बैशाख २०७६ बाट हामी नेपाली विमानस्थललाई संसार कै बुटिक विमानस्थलको रुपमा विकास गर्छौँ । चीनसँग नेपालले रेलवेको कार्य थालनी गरेको छ, नेपाललाई बाटो, विकास र दुनियाँसँगको मित्रता चाहिएको छ, त्यसैले कसैको टाउको दुखाई हुँदैमा नेपाल पछाडि हट्दैन, कसैसँग पनि बैरभाव नगरी नेपाल अगाडि बढ्छ । पूर्व पश्चिम रेलवेको कार्य शुरु भईसकेको छ भन्दै उनले म शासक बन्न चाहन्न बरु जनताले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्न चाहन्छु।


नेपालमा भएको शान्ति प्रक्रिया एक ऐतिहासिक कार्य हुँदा हुँदै पनि अन्तर्राष्ट्रिय समुदायले वैचारिक पूर्वाग्रह राखेको प्रति ओलीले गुनासो व्यक्त गरे । उनले विदेशीहरुप्रति इन्गित गर्दै भने केही ट्रेन्डहरु वैचारिक पूर्वाग्रहबाट प्रकट भएको देखिएका छन् तथापि नेपालको राजनीतिक परिवर्तन एक असाधारण परिवर्तनको रुपमा रहेको छ । उनले अगाडि थपे हामीले द्वन्द व्यवस्थापन गर्यौँ र केही कार्यहरु अझै गर्दै छौँ तर केही दूतावासहरुले गुटबन्दी गरे त्यो आवश्यक थिएन र गलत हो । यसमा हाम्रो बिमती छ ।


कार्यक्रममा विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक सभामा सहभागी हुन आएको उच्चस्तरीय प्रतिनिदिमण्डलको टोली लगायत स्विटजरल्याण्डस्थित नेपाली समुदाय, स्वीस नागरिक, एनआरएनएन अभियन्ताहरु लगायत प्राविधिक तथा विज्ञहरु सहभागि थिए।
उपस्थित पाहुनाहरुका लागि रात्री भोजको आयोजना गरिएको थियो। कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक जिवा लामिछाने तथा वर्तमान उपाध्यक्ष कुमार पन्तको पनि उपस्थित रहेको थियो ।
कार्यक्रम दूताबासका नियोग उपप्रमुख तीर्थराज वाग्लेले संचालन गरेका थिए।

 

Share.

Leave A Reply