०४ जेठ २०८१

वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने सरकारी निर्णयको एनआरएनएद्वारा स्वागत

0

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चयकोष गठनका लागि कार्यदल गठन गर्ने निर्णयको गैर आवासीय नेपाली संघले स्वागत गरेको छ ।

हजारे अभियान भनेर शुरु गरेको आफ्नो अभियानलाई मूर्त रुप दिन लामो समयदेखि कर्मचारी सञ्चयकोषसँग सहकार्य गर्दै आइरहेको संघ र कर्मचारी सञ्चयकोषका बीचमा एक समझदारी पत्रमा हस्ताक्षर भई दुई वर्षअघि देखि नै एक कार्यदल बनाएर वैदेशिक रोजगार सञ्चय कोष सञ्चालन सम्बन्धी नियमावलीको मस्यौदा समेत तयार भईसकेको छ । सोही मस्यौदालाई अगाडि बढाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्मचारी सञ्चयकोष र गैर आवासीय नेपाली संघ बीच भएको संयुक्त बैठक पश्चात् श्रम, रोजगार तथा सामाकिज सुरक्षा मन्त्री माननीय गोकर्ण राज विष्टले उक्त कार्यदल बनाएर अगाडि बढ्न निर्देशन दिएपछि उक्त कार्यदलले मूर्त रुप पाएको हो ।
कार्यदल गठन गर्ने सरकारको निर्णयको संघले एक विज्ञप्ती प्रकाशित गरी स्वागत गरको छ ।

संघद्वारा जारी विज्ञप्तिः

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने महत्वपूर्ण कदमको गैरआवासीय नेपाली संघ हार्दिक स्वागत गर्दछ । यसका निम्ति माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको सकारात्मक भूमिका प्रति संघ हार्दिक आभार प्रकट गर्दछ ।

गैरआवसीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका कामदारको हक हितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखि अनवरत रुपमा लागि रहेको छ । गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोष बिच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो समझदारी पत्रमा भएका शर्त तथा अवस्थाहरुलाई अक्षरस पालन गर्न विगत दुई कार्यकालमा कार्यदल गठन भई आवश्यक काम कारवाही भइरहेको छ । साथै गैरआवासीय नेपाली संघको पहलमा कर्मचारी सञ्चय कोष, वैदेशिक रोजगार सञ्चय कोष सञ्चालन नियमावली, २०७३ को मस्यौदा तयार गरिएको थियो । गैरआवासीय नेपाली संघले पटक पटक गरेको पहल अनुरुप आएको मन्त्रालयको यस कार्यदल गठन गर्ने निर्णयबाट निकै उत्साह मिलेको छ ।

हजारे अभियानको नाममा गैरआवासीय नेपाली संघले प्रस्ताव गरेको अभियानलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तदारुकताका साथ निकट भविष्यमा कार्यन्वयनमा ल्याउने अपेक्षा हामीले गरेका छौ । यस कदमले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको प्रत्याभूती गर्नुका साथै कामदारहरुको बचतको बानी बसाल्नेछ । यस कोषमा गरिएको बचत मार्फत कामदारले भविष्यमा कुनै पनि प्रकारको आर्थिक संकटको सामना गर्नुपर्ने छैन र साथै देशले पनि यसबाट संकलित रकमलाई जलविद्युत, कृषि लगायतका अन्य विकासका क्षेत्रमा लगानी गर्न सक्दछ ।

विदेशी नियोग मार्फत विदेशमा पुनः श्रमस्वीकृति कार्यान्वयनमा लाने, श्रम सीप बैंक स्थापना गर्ने, विदेश स्थित नियोगबाट मागपत्रको अनुगमन गर्ने र अनलाइन प्रणाली मार्फत विभिन्न निकायहरुलाई जोडी कामदार र सरकारी निकाय बीच समन्वय गराउने तर्फ सकारात्मक पहल भएकोमा संघ सरकार प्रति हार्दिक आभार प्रकट गर्दछ ।

छोटो समयमा नै वैदेशिक रोजगारको क्षेत्रको सुधारका लागि नेपाल सरकारबाट पछिल्लो समयमा भएका विभिन्न महत्वपूर्ण निर्णयले विदेशमा रहेका नेपाली कामदारहरुलाई निकै उत्साह मिलेको छ । गैरआवसीय नेपाली संघ यसप्रकारको महत्वपूर्ण कदमहरुको सधैं स्वागत गर्दछ र आवश्यक क्षेत्रहरुमा सहयोग र सहकार्यका लागि प्रतिवद्धता प्रकट गर्दछ ।

Share.

Leave A Reply