०४ जेठ २०८१

स्वीट्जरल्याण्डमा ओपन एयर किनो देखाएर नेपालमा सहयोग

0

नेपालीहरुको सहयोगमा आफूलाई अहोरात्र खटाउने शुभ एल्मर लामाले स्वीट्जरल्याण्डमा ओपन एयर किनो देखाएर नेपालमा सहयोग गरेकि छिन् ।
नेपालीहरुलाई सहयोग पुग्छ भनेपछि आफूलाई अहोरात्र खटाउने लामाको सिंगो परिवार नै उक्त ओपन एयर किनो देखाउनका लागि खटेका थिए ।


स्वीट्जरल्याण्डको मूल्हेहोर्नमा बस्दै आएकी लामाको परिवारले हरेक वर्ष यस प्रकारको ओपन एयर किनो देखाउँदै आएका छन् । सोही क्रममा यस पटक ११ औं पटकको प्रस्तुति रहेको थियो । उक्त कार्यक्रमका लागि केही समयअघि देखि नै लामाले सामाजिक सञ्जाल मार्फत सबैलाई आह्वान गर्दै फेसबुक ग्रुप नै बनाएर आमन्त्रण गरेकी थिइन् भने कार्यक्रममा उपस्थित हुने पाहुनाहरुलाई कोशेली बिना नै उपस्थितिका लागि आग्रह समेत गरेकी थिइन् । साथै उनले उक्त कार्यक्रममा उपस्थित हुने पाहुनाले नेपालीहरुको सहयोगार्थ स्वेच्छाले जे जति सकिन्छ आर्थिक सहयोग गर्नुहोला भनेर अग्रीम जानकारी समेत गराएकी थिइन ।


शुभ एल्मर लामाको निमन्त्रणामा स्वीट्जरल्याण्डबासी नेपाली तथा स्थानीय स्वीस नागरिकहरु समेत उक्त चलचित्र अवलोकनका लागि उपस्थित भएका थिए । चलचित्र हेर्न उपस्थित पाहुनाहरुलाई लामाले नेपाली तथा स्वीस स्वादिष्ट परिकारहरुले स्वागत गर्दै बेलुकी करिब २१ः३० बजे अंतरिक्ष यात्री किसान चलचित्र प्रदर्शन गरिएको थियो ।


उक्त चलचित्र प्रदर्शनीमा उपस्थित पाहुनाहरुबाट सहयोग स्वरुप ६०० स्वीस फ्रेंक संकलित भएको थियो । उक्त रकम मध्ये ४०० स्वीस फ्रेंक नेपालमा डा. मिना सिंह खड्काले काभ्रेमा सञ्चालन गरेको प्रौढ शिक्षाका लागि सहयोग गर्ने र बाँकी २०० स्वीस फ्रेंक गौर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको महिला फोरम अन्तर्गत रहेको विपत व्यवस्थापन कोषमा जम्मा गर्ने जानकारी आयोजक लामाले गराईन ।


लामाले स्वीट्जरल्याण्डमा रहेका विभिन्न समयमा विभिन्न कार्यक्रम मार्फत नेपालका विभिन्न क्षेत्रमा रहेका असहाय एवं विपन्न वर्गको उत्थानका लागि आर्थिक सहयोग जुटाउँदै आएकी छिन् । सामाजिक सेवामा आफूलाई पूर्ण रुपमा समर्पित गरेकी लामा गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको २०१५-२०१७ कार्यकालको महिला संयोजक थिइन भने वर्तमान २०१७-२०१९ का लागि समेत महिला संयोजक रहेकी छिन् ।

 

Share.

Leave A Reply