०६ जेठ २०८१

फ्राँकफर्टमा किराँत राई समुदायको उभौली पर्व सम्पन्न

0

जर्मनीको फ्राँकफर्ट शहरमा किराँत राई समुदायको उभौली पर्व (साकेला) सम्पन्न भएको छ ।
आफ्ना मौलिक संस्कार तथा संस्कृतिलाई एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्दै जाने माध्यमका रुपमा राई समुदायले मनाउँदै आएको साकेला नेपाल बाहिर फ्राँकफर्टमा पनि मनाइएको हो ।

यो समुदायले गर्मी मौसम सुरु भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो मौसम सुरुभएसँगै जाडो छल्न बेंसी झर्ने आफ्ना पित्रीहरुको सम्झनामा साकेला मनाउने गर्दछन्। राईहरुले अन्नबाली लगाउने बेलाको उँभौली र भित्र्याउने बेलाको उधौली गरी वर्षमा दुई पटक साकेला मनाउने गर्दछन् ।

मुलुक बाहिर रहँदा पनि आफ्नो संस्कृतिको जगेर्ना गर्न र सांस्कृतिक पहिचानलाई विश्व सामु चिनाउने उद्देश्यका साथ जर्मनीमा बसोबास गर्ने किराँती राईहरुले फ्राँकफर्ट स्थित खुल्ला पार्कमा नेपालीहरुको बहृत् जमघट गराई किराँती संस्कृति अनुसार पितृपूजा र प्रकृति पूजा गरी उभौली चाड साकेला पर्वको औपचारिक कार्यक्रम गरेका हुन् । जर्मनी, स्विट्जरल्याण्ड र बेल्जिमबाट उपस्थित भएका अतिथिहरुले कार्यक्रममा आ आफ्ना शुभ(कामना मन्तव्य राखेका थिए ।

स्विट्जरल्याण्ड, बेल्जियम र जर्मनीको बिभिन्न शहरहरुबाट किराँत राई र गैर किराँतहरुको उपस्थिति रहेको उक्त साकेला उभौलीमा आ(आफ्नो संस्कृति झल्काउने पोषाकहरु, पुरुषहरु कालो कोट, दौरा(सुरूवाल र नेपाली टोपीमा ठाँटिएर महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर हातमा झ्याम्टा, ढोल र सेउली लिएर निकै रमाईलो गर्दै गोलबन्द भएर साकेला नाचेका थिए।

भाषा, संस्कार संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने, एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, प्रकृतिलाई सदा खुसी पार्न, अन्नबाली राम्ररी फलोस्, प्राकृतिक विपत्ति नआइपरोस्, पित्री पुज्ने र सम्झनामा र जर्मनीमा जन्मे हुर्केका आउदा पुस्थाहरुलाई हाम्रो संस्कार संस्कृति सिकाउने मुख्य उदेश्यले यो उधौली साकेला कार्यक्रम आयोजना गरेको आयोजक मध्यका एक सदस्य जोती राईले बताए।

कार्यक्रममा गैर(आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका संरक्षक जिवा लामिछाने, गरै(आवसीय नेपाली संघ जर्मनीका अध्यक्ष बिजय मोक्तान र गैर(आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरुङ लगायत जर्मनी स्थित संघ(संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

साँस्कृति माहोलका बीच किराती संस्कृतिका मिष्ठान्न परिकारहरुका साथमा रमाइलो गर्दै किरात राई तथा गैर किरातहरूले पनि ढोल, झ्याम्टाको तालमा गाउँदै तथा गोलबन्द भएर नाच्दै निकै मनोरञ्जन गरेका देखिन्थे।
किराँत राई समुदाय जर्मनीका सदस्यहरुको मिहेनत, परिश्रम र लगनशीलताका कारण कार्यक्रम निकै नै आकर्षक अनि व्यवस्थित रुपमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply