१५ वैशाख २०८१

राष्ट्रपतिका लागि अब ढोका खुल्यो: प्रचण्ड

0

एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको चयनपछि अब राष्ट्रपतिमा आफूले दाबी गर्ने संकेत गरेको छ । शनिबार आयोजित एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले अब राष्ट्रपतिमा दाबी गर्ने ढोका खुलेको बताए ।

आफू राष्ट्रपति नबन्ने यसअघि नै घोषणा गरेका प्रचण्डले शनिबार संसदीय दलको बैठकमा पात्रको बारेमा कुरा नगरी राष्ट्रपतिका लागि दाबी गर्ने ढोका खुलेको बताएका हुन् ।

उपराष्ट्रपति पहिलेदेखि नै एमाओवादीलाई दिने प्रस्ताव आइरहेको बताउँदै प्रचण्डले नेपाली कांग्रेस सहमतिबाट बाहिरिएको अवस्थामा अब एमाओवादीले पनि राष्ट्रपतिमा दाबी गर्ने बाटो खुलेको बैठकमा बताए ।

यसअघि कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपति बनाउने एमाले कांग्रेसवीच भद्र सहमति भएकोमा कांग्रेसले त्यसलाई तोडेपछि एमाओवादीले राष्ट्रपतिका दाबी गर्ने संकेत गरेको हो ।

राष्ट्रपति कसलाई बनाउने भन्ने एमाओवादीले टुंगो गरेको छैन । कतिपयले भने माओवादी नेता मोहन वैद्यलाई राष्ट्रपति बनाउनुपर्ने बहस एमाओवादीभित्र थालनी गरेका छन् ।

प्रधानमन्त्री बनेपछि मन्त्रालयमा छलफल

एमाओवादी अध्यक्ष प्रचण्डले संसदीय दलको बैठकमा एमालेसँग भएको १४ बुँदे सहमतिबारे व्याख्या गरेका थिए।
सरकार गठनबारे सहमति भइनसकेको जानकारी दिँदै प्रचण्डले मन्त्रायल बाँडफाँडबारे प्रधानमन्त्रीको चयनपछि नै छलफल हुने आफ्ना सभासदहरुलाई जानकारी दिए ।

मन्त्री बनाउँदा सबै पक्षलाई मिलाएर समावेशी आधारमा गरिने प्रचण्डले आश्वासन दिए । मधेसबारे केपी ओलीसँगको दृष्टिकोणमा केही भन्नता भए पनि ओलीलाई आलोचनात्मक समर्थन गरिएको प्रचण्डले स्पष्ट पारेका थिए।

प्रचण्डले राष्ट्रिय एकतालाई खलल पार्न खोज्नेलाई मतदान नगर्न र ओलीलाई एक ढिक्का भएर मतदान गर्न सभासदहरुलाई आग्रह गरे ।

बाबुराम पक्षका भनिएका प्रभु साहले नै ओलीलाई मतदान गर्छु भनेपछि एमाओवादीका कुनै पनि सांसदले दलको बैठकमा पार्टी निर्णयप्रति असन्तुष्टि नजनाएको एक सांसदले अनलाइनखबरलाई जानकारी दिए ।

कांग्रेसमा भारतीय चलखेल भएको आरोप

एमाओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसभित्र भारतले चलखेल गरेको बताएका छन् । भारतको नामै लिएर उनले सुशील कोइरालाले भारतको इशारामा उमेद्वारी दिएको कुरा बाहिर आइसकेको बताए ।

-अनलाईनखबर

Share.

Leave A Reply