१५ वैशाख २०८१

भूकम्पको निहुँमा कालोबजारी गर्नेलाई कारवाहीको चेतावनी

0

१४ वैशाख, काठमाडौं । भूकम्पको महाविपत्तिको सामना गरिरहेका उपभोक्तालाई सहजरुपमा खाद्यवस्तु उपलब्ध गराउन सरकारले व्यवसायीसँग आग्रह गरेको छ ।

व्यवसायीहरु विपतका बेला बजारमा वस्तुको अभाव देखाउँदै कालोबजारीमा उत्रिने गरेका छन् । उपभोक्ताले अभावको महशुस गर्न नपरोस् भनेर सरकारले व्यवसायीलाई इमानदारितापूर्वक आफ्नो दायित्व निभाउन झक्झकाएको हो ।

‘विपतका बेलामा सबै उपभोक्ताले आफुलाई आवश्यक वस्तुहरु सहज रुपमा पाउनुपर्छ’ वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद विडारीले अनलाइनखबरसँग भने- ‘बजारमा वस्तुको अभाव देखाएर कालोबजारी गर्नेहरुलाई छाड्दैनौं ।’

बजारमा अत्यावश्यक वस्तुहरुको सहज आपूर्तिका लागि विभागले अनुगमन समेत गरिरहेको विडारीको भनाइ छ । खासगरी यस्तो बेलामा बजारमा पानी, हल्का पेय पदार्थ, चाउचाउ, विस्कुट, चिउरा, तरकारी, दाल लगायतका वस्तुहरुको माग अत्यधिक बढेको  छ ।

भूकम्प फेरि आउने त्रासमा घर बाहिर निस्केका अधिकांशले जंकफुड खाएर छाक टार्ने काम गरिरहेका छन् । बजारमा यस्ता खाद्य वस्तुहरुको बिक्री सामान्य दिनको तुलनामा अत्यधीक बढिरहेको छ ।

त्रासका कारण अहिलेसम्म बजार राम्ररी खुल्न सकिरहेका छैन । भूकम्पको त्रासले उद्योगी व्यवसायीहरु उद्योग व्यवसाय बन्द गरेर खुला ठाउँमा बसिरहेका छन् । जसले गर्दा पनि अत्यावश्यक वस्तुहरुको अभाव भएको छ ।

विभागका महानिर्देशक विडारीले कालोबजारी गर्ने उद्योगी व्यवसायी कारबाहीको दायरामा आउने दाबी गरेका छन् । ‘विपतका बेलामा सबैले होस्टेमा हैंसे गर्नुपर्छ’ उनले भने- ‘यस्तो बेलामा पनि उपभोक्ता ठग्न कुनै उद्योगी व्यवसायी उद्दत्त हुन्छ भने उम्किन पाउँदैन ।’

उत्पादन बन्द

भूकम्पका कारण उद्योगसमेत बन्द भएको हुँदा बजारमा आपूर्ति पनि कम हुन थालेको छ । बजारमा दूध, दही, तरकारी, पानी लगायतका वस्तुहरुको अभाव देखिन थालिसकेको छ । कतिपय उपभोक्ताले चर्को मूल्य तिरेर समान खरिद गर्नुपरेको गुनासो गर्न थालेका छन् ।

पेट्रोल सहजरुपमा विक्री वितरण हुने दाबी

यसैबीच बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । अधिकांश पेट्रोल पम्म बन्द हुँदा उपभोक्ताले तेल पाउन नसकेको गुनासो गरिरहेका छन् । केही पेट्रोल पम्पले तेल वितरण गर ेपनि उपभोक्ताको लाइन बाक्लिएको छ ।

नेपाल आयल निगमले सहजरुपमा तेल वितरण गर्न पेट्रोल पम्पहरुलाई आग्रह गरिसकेको छ । निगमले पनि पेट्रोल पम्पलाई आवश्यक तेल उपलब्ध गराउन तयार रहेको बताएको छ ।

उता विभिन्न्न बैंकहरुले पनि भूकम्पको कारण देखाउँदै आफ्नो सेवा बन्द गरेकाले बजारमा पैसाको अभाव खड्न थालेको छ । चेक र एटीएम नचलेपछि उपभोक्ताले फारुतिनो गरेर खर्च गर्न थालेका छन् ।

-अनलाईन खबर

Share.

Leave A Reply