१४ वैशाख २०८१

लडाकू व्यवस्थापन र द्वन्द्व पीडितलाई राहतमा ४० अर्ब खर्च

0

३० चैत, काठमाडौं । माओवादी लडाकू व्यवस्थापन र द्वन्द्व पीडितहरुलाई राहत वितरणमा राज्यकोषबाट ४० अर्ब रुपैयाँ खर्च भएको छ । तत्कालीन विद्रोही माओवादी लडाकुको व्यवस्थापनमा मात्रै त्यसको झण्डै आधा रकम खर्च भएको छ ।

लडाकू व्यवस्थापनमा १९ अर्ब ६१ करोड ९ लाख ५६ हजार ५ सय ५५ रुपैयाँ खर्च भएको शान्ति मन्त्रालयका सचिव खुमराज पुन्जालीले जानकारी दिए ।

यस्तै लडाकू शिविर व्यवस्थापनमा ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार खर्च भएको छ । शिविरहरुसम्म पुग्ने बाटो निर्माण, खानेपानी, विद्युत लाईन पुनर्निर्माण लगायतका शिर्षकमा १ अर्ब ५४ करोड ४८ लाख १५ हजार रुपैयाँ खर्च भएको छ ।

माओवादी शान्तिप्रक्रियामा आएपछि उसका लडाकूहरुलाई ७ मुख्य र २१ सहायक शिविरहरुमा राखिएको थियो । लडाकू समायोजनपछि हाल ति शिविरहरु सेना र सशस्त्र प्रहरीको जिम्मामा छन् । ति शिविरहरुलाई सामाजिक काममा लगाउने गृहकार्य अगाडि बढाइएको छ ।

माओवादी लडाकुको स्वेच्छिक अवकास, बाटो खर्च र प्रशासनिक खर्चमा ८ अर्ब २६ करोड ९२ लाख ६१ हजार ३ सय ५२ रुपयाँ खर्च भएको शान्ति मन्त्रालयले जनाएको छ ।

पुनर्निर्माण र पुनःस्थापनामा १ अर्ब २७ करोड खर्च

राज्यकोषबाट यति धेरै रकम खर्च भए पनि शान्ति प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन । शान्तिप्रक्रियाको एउटा महत्वपूर्ण पाटो सेना समायोजनको काम सकिए पनि संविधान निर्माणको काम अपुरै छ । द्वन्द्व पीडितहरुलाई राहत वितरण, पुनःस्थापना र भौतिक सम्पत्ति पुनर्निर्माणको काम पनि अझै सकिएको छैन ।

चालु आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रममा १२ सय ४३ वटा आयोजनालाई १ अर्ब २७ करोड, ७७ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी शान्तिका लागि विकास कार्यक्रम अन्र्तगत १५ सय १२ आयोजनालाई ५० करोड रुपैयाँ छुट्याइएको शान्ति मन्त्रालयका सचिव पुन्जालीले जानकारी दिए ।

द्वन्द्वकालमा सम्पत्ती कब्जा भएका, अंगभंग भएका, मृत्यु भएका, वेपत्ता भएका र टुहुरा बालबालिकाहरुको लगत संकलन गरी राहत दिने तयारी शान्ति मन्त्रालयले गरिरहेको छ ।

Share.

Leave A Reply