१४ वैशाख २०८१

‘विमानको सहचालक मानसिक रोगी हुनसक्ने’

0

जर्मनीका छानबिनकर्ताहरुले फ्रान्सको हिमाली क्षेत्रमा जानाजान यात्रुवाहक विमान दुर्घटना गराएको ठानिएका पाइलट आन्द्रेआस लुबिट्जले आफ्नो मानसिक बिमारी रोजगारदाताबाट लुकाएको प्रमाण फेला परेको बताएका छन्।

उक्त दुर्घटनाको दिन उनी काममा हाजिर हुन असमर्थ रहेको बेहोराको भनि डाक्टरले लेखिदिएको एउटा पत्र च्यातिएको अवस्थामा डुसेलडोर्फस्थित उनको निवासमा फेला परेको थियो।  

छानबिनकर्ताहरुले आफ्नो प्रतिवेदनमा विमानका सहचालकको रोगको प्रकृतिका बारे खुलाएका छैनन्।

जर्मनीका संचार माध्यमहरुमा प्रकाशित विवरणहरुका अनुसार उक्त दुर्घटनाग्रस्त एयरबसका ति २७ बर्षे सहचालक विगतमा डिप्रेशन भनिने मानसिक रोगबाटग्रस्त थिए।

अनुसन्धान

उनले झण्डै डेढ बर्ष त्यसको उपचार गराएको बताइएको छ।

तिनको नियमित स्वास्थ्य्य समीक्षा भइरहनु आवश्यक थियो।

छानबिनकर्ताहरुले भनेका छन्, “उनले गराएका भनिएको दुर्घटनाका पछाडि कुनै राजनीतिक वा धार्मिक कारण वा उद्देश्य रहेको प्रमाण फेला परेको छैन र उनले आत्महत्या गर्नु अघि छाडेका हुनसक्ने कुनै सन्देश पनि छैन।”

एउटा वक्तव्यमा छानबिनकर्ताहरुले ती सहचालकको डुसेलडोर्फस्थित उनको निवास र फ्र्यांकफर्टको उत्तरमा अवस्थित उनका अभिभावकको निवासबाट चिकित्सा उपचार सम्बन्धी कागजातहरु कब्जामा लिइएको बताएका छन्।

अनुमान

उनीहरुका अनुसार दुर्घटना भएको दिनलाई समेत समेट्ने गरी बिरामी भएर काममा उपस्थित हुन नसक्ने बेहोराको च्यातिएका पत्र लगायतका कागजातहरुले ती सहचालकले रोजगारदाताबाट आफ्नो रोग लुकाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

एशोसिएटेड प्रेस समाचार एजेन्सीका अनुसार यो नयां जानकारीका सम्बन्धमा कुनै पनि टिप्पणी गर्नबाट लुफ्थान्सा अन्तरगतको विमानसेवा जर्मनवीग्सले अस्वीकार गरेको छ।

गत मंगलबार एकसय पचास जना सवार जर्मनवीग्सको एउटा यात्रुवाहक विमान फ्रान्सको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त हुंदा ती सबैको मृत्यु भएको थियो।

-बिबिसी नेपाली

Share.

Leave A Reply