१५ चैत २०८०

घलेको नेतृत्वमा एनआरएनको शिर ठाडो -उपाध्यक्ष कुमार पन्त

0

फ्रयांकफोर्ट,जर्मनी। सोमवार जर्ममीको फ्रयांकफोर्टस्थित होक्टरर्स होफ होटलमा नेपाली जनसम्पर्क समिति यूरोप क्षेत्रको २ दिने भेलाको अन्त्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले एनआरएनएले भूकम्पको केन्द्रविन्दू गोरखा लाप्राकमा ६ सयभन्दा बढी घर सहितको नमुना बस्ती निर्माण तथा अन्य विषयमा अध्यक्ष शेष घले नेतृत्वको चर्चा गरे।

‘भूकम्प लगत्तै राहतमा अहोरात्र खट्नेदेखि भूकम्पपीडितका घर बनाइदिने कार्यमा शेष दाई र जमुना भाउजूले नेपालको सरकार तथा कर्मचारी संयन्त्रका अप्ठ्यारा चिर्दै गरेका कामहरुले आज सम्पूर्ण गैरआवासीय नेपालीहरुको शिर उचो पारिदिएका छन्’, उनले भने, ‘यो कामले गर्दा आज गैरआवासीय नेपालीहरु केही गर्न सक्षम छन् भनेर प्रमाणित भएको छ।’

एनआरएनएको इतिहासमा घलेको कार्यकाल एउटा सफल उदाहरणको रुपमा रहने उनले बताए। शेष घलेको नेतृत्व टोलीमा सबैभन्दा नजिकबाट संलग्न हुन पाएकोमा उपाध्यक्ष पन्तले खुशी व्यक्त गरे। नमुना बस्ती निर्माण कार्य सम्पन्न गर्ने, आफ्नै भवन निर्माण पूरा गर्ने लगायत अध्यक्ष घलेले सुरु गरेका महत्वपूर्ण काम पूरा गर्न एनआरएनएलाई सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको भन्दै उनले ती काम सम्पन्न गर्नका लागि नेतृत्वको भारी बोक्न आफू तयार रहेको पनि बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सभापति दिल बहादुर गुरुङ गैरआवासीय नेपाली संघका सल्लाहाकार पुष्प थापा, प्रवासी नेपाली मञ्च जर्मनीका अध्यक्ष चन्द्र कान्त आचार्य, नेपाली जनप्रगतिशिल मञ्च जर्मनीका अध्यक्ष सागर पोखरेल, गैरआवासीय नेपाली संघ बेल्जियमा अध्यक्ष गंगाधर गौतम लगायतले मन्तब्य दिएका थिए। अन्तरकृया कार्यक्रम सभापति शिखर खड्काको सभापतित्वमा भएको थियो।

भेलामा नर्वे, स्विडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्जेम्बर्ग, पोल्यान्, बेलायत र आयरल्यान्डका प्रतिनिधिले सहभागी थिए।

Share.

Leave A Reply