१२ वैशाख २०८१

सृजनशील खेल लेगो र जर्मनीको लेगोल्याण्ड

0

binayaडा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड। बालबालिकाहरुलाई रचनात्मक, सृजनात्मक र कल्पनशील बनाउन उनीहरूलाई राम्ररी खेल्न पाउने वातावरण दिनुपर्छ । यसका निम्ति अनेक खेलौना र सामग्रीहरूको निर्माण भएको छ । अनेक विधि र प्रविधिको विकास भएको छ । यसै क्रममा पछिल्लो समयमा लोकप्रिय बन्दै गएको खेलौना र विधि हो – लेगो । विकसित राष्ट्रहरुमा बालबालिकाका मानसिक, शारीरिक एवं बौद्धिक विकासका लागि पाठशालाहरुमा मात्र होईन, त्यसबाहेकका गतिविधिका लागि पनि उल्लेख्य लगानी गरिएको हुन्छ । जसले बालबालिकाको मष्तिस्क र स्नायू प्रणालीको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । बालबालिकाहरुलाई खेलाउँदै पढाउनु र सिकाउनु यूरोपेली र अमेरिकी शिक्षा नीतिको एक अन्योन्याश्रित पक्ष हो ।

के हो लेगो?

unbenannt

लेगो पश्चिमी मुलुकहरूमा बालबालिकाहरुको सृजनात्मक खेल जीवनको अभिन्न अंग बनेको छ । टुक्राटाक्रीहरू जोडजाड गरेर थरिथरिका निर्माण गर्ने खेल हो – लेगो । लेगोमा प्लास्टिकका रंगीविरंगी स-साना संरचनागत ईकाईहरुलाई जोडेर वा खिपेर कुनै संरचना (जस्तै घर, कार, बस, हेलिकप्टर, शहर आदि) को निर्माण गरिन्छ । यस्ता संरचना भत्काएर त्यही सामग्रीले फेरि अर्कै खालको संरचना निर्माण गर्न सकिन्छ । लेगोबाट त्यस प्रकारका संरचनाहरू निर्माण गर्न केहि मिलिमिटरदेखि केहि सेन्टिमिटरसम्मका निर्माण ईकाई वा ईंटाहरु बनाईएको हुन्छ । लेगोका यस्ता स्याना ईकाईहरू कैयन् आकार र प्रकारमा उत्पादन गरिएका हुन्छन् । मानिस बनाउनका लागि कपाल, टाउको, शरीर, हात-खुट्टा आदि छुट्टा-छुट्टै ईकाईहरु हुन्छन । ति ईकाईहरुबाट कस्तो मानिस वा संरचनाको सृजना गर्दै खेल्ने बालबालिकाको सृजनशीलतामा भर पर्छ । त्यसैले लेगो खेल्दा बालबालिकाको सृजनात्मक क्षमतामा अभिवृद्धि हुने विश्वास गरिन्छ । लेगोका ईकाईहरु प्रयोग गरेर कुनै पनि संरचना निर्माण गर्न धैर्यता र विधिगत प्रकृयाको आवश्यकता पर्दछ । ति जीवनका लागि अत्यावश्यक मानविय गुणहरु हुन् । धैर्यता र प्रकृयागत मिहिनेत बिना जीवनमा दिगो सफलताको कल्पना गर्न सकिंदैन ।

लेगोल्याण्ड जर्मनी

unbenannt1

बालबालिकाहरुलाई लक्षित गरी लेगो विषयमा केन्द्रित रहेर थुप्रै मनोरंजनात्मक थिम पार्कहरू बनाइएका छन् । यस्तै थिम पार्कहरूमध्ये जर्मनीको गुँन्जबुर्गको लेगोल्याण्ड भव्य छ, जहाँ वर्षेनी लाखौंले भ्रमण गर्छन् । लेगो विषयक थुप्रै खेलहरु संचालनमा छन् । २४ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त्त रिसोर्टमा बालबालिकाका मनोरन्जनका लागि अनेक संरचनाहरु तयार पारिएका छन् । लेगोल्याण्ड गुँन्जबुर्ग पुग्न जर्मनीको उल्म शहरबाट ट्रेनमा १५ – २० मिनेट लाग्दछ । टाढाबाट छुट्टीका लागि आउने बालबालिकाका परिवारहरुका लागि होटल, बस्ने कटेज र रेष्टुरेन्टहरुको पनि व्यवस्था छ । रिसोर्टको नाम नै लेगोल्याण्ड राखिएकोले लगभग सम्पूर्ण संरचनाहरु लेगो प्रविधिमा आधारित छन्।

लेगोबाट बनेको जर्मनीको फ्र्याङफर्ट शहरको दृश्य

लेगोबाट बनेको जर्मनीको फ्र्याङफर्ट शहरको दृश्य

लेगोल्याण्डको केन्द्रमा लेगोबाट हुबहु तयार पारिएका विभिन्न देशका मझौला आकारका शहरहरु छन् । वास्तविक शहरहरु भन्दा कयौं गुणा साना ति शहरहरु रहेको स्थानलाई ‘मिनील्याण्ड’ नामाकरण गरिएको छ। शहरका घर र बजार मात्र होईनन्, ति शहरहरुको नजिक अवस्थित नदीनाला र तालहरु पनि बनाईएका छन् । शहरभित्र कोहि कराईरहेका छन् भने कोहि रेष्टुरेन्टको बाहिर नाचिरहेका छन् । ति शहरका सडकहरुमा स-साना बस र अन्य सवारीका साधनहरु, अनि तालमा डुङ्गा पनि चल्ने बनाईएकोले ति शहरहरूमा सजिवता भेटिन्छ । स्विटजरल्याण्डको लुकेर्ने, जर्मनीको बर्लिन र फ्र्याङफर्ट, नेदरल्याण्डको आम्सटरदम, ईटलीको भेनिस नक्कल गरी बनाईएका केहि शहरहरु हुन् । ति स-साना शहरहरुलाई हेर्दा वास्तव मै ति शहरहरु डुलेको अनुभूति हुन्छ । त्यसैगरी मिनील्याण्डमा अवस्थित बायर्नको आलियान्ज फुटबल स्टेडियम ज्यादै आकर्षक छ । स्टेडियमको निर्माणमा ज्यादै सुक्ष्म विवरणहरुलाई ध्यान दिईएको छ । स्टेडियमभित्र हजारौं दर्शकहरु खेल हेर्न बसेको परिदृष्यलाई आवाज र बत्तीको संयोजनले जीवन्तता प्रदान गरेको छ । बालबालिकाहरु एकपछि अर्को शहर र ति शहरभित्रका सजिव दैनिकी हेर्दै दंग पर्दछन् । लेगोको वातावरणमा मन्त्रमुग्ध हुन्छन् ।

लेगोबाट निर्मित मझौला आकारको बायर्नको आलियान्ज फुटबल स्टेडियम

लेगोबाट निर्मित मझौला आकारको बायर्नको आलियान्ज फुटबल स्टेडियम

त्यसैगरी लेगो ल्याण्डभित्र बालबालिकाहरुले स-साना जीपमा चढेर जंगल सफारी गरी जंगली जीव-जन्तुहरू पनि हेर्न सक्छन् । ति सम्पूर्ण जीव-जन्तुहरु पनि लेगोबाटै बनाईएका छन् । बालबालिकाहरु जुन-जुन जनावरको सन्निध्यमा पुग्छन, त्यहि जनावरको सिमुलेसन गरिएको आवाज निस्कँदा तिनीहरु रोमाञ्चित हुन्छन् । त्यसबाहेक आकर्षक रोलर गाडीहरुमा चढी द्रुत गतिमा नागबेली परेका फलामे लिगमा तलमाथि गर्दा मानिसहरु रोमान्चकताले चिच्याउँछन् । डुङगामा चढेर पानीको छहराबाट तल खस्दा एकातर्फ पानीले निथ्रुक्कै हुन्छन् भने अर्कातर्फ एक्कासी माथिबाट तल झर्दाको रोमान्चकता र खुसीले बालबालिकाहरु आवेगमा कराउँछन् ।

जंगल सफारीको एक दृष्य, लेगोबाट बनाईएका जीवजन्तुहरु

जंगल सफारीको एक दृष्य, लेगोबाट बनाईएका जीवजन्तुहरु

लेगोल्याण्डभित्र अवस्थित लेगो उत्पादन केन्द्रमा लेगोप्रेमीहरुले लेगो उत्पादन प्रकृयाको प्रत्यक्ष अवलोकन र सुपथ मुल्यमा लेगो खरिद गर्न पनि सक्दछन् । लेगोल्याण्डको खेल सुविधाको मजा एक दिनमा लिएर भ्याईंदैन । माथि उल्लेखित लेगोबाट बनाईएका संरचनाहरुका लागि हजारौंदेखि लाखौं लेगोका ईकाईहरुको आवश्यकता पर्दछ । लेगोल्याण्डमा प्रकृति, श्रव्य, दृष्य र गतिको संयोजन भेटिन्छ, जसले सम्पूर्ण रिसोर्टलाई जीवन्तता प्रदान गरेको छ । लेगोल्याण्ड मनोरन्जनात्मक मात्र नभई बालबालिकाहरुका लागि ज्ञानवर्द्धक पनि छ । बालबालिकाका लेगो सम्बन्धित सम्पूर्ण कल्पना र आशालाई लेगोल्याण्डले स्पर्श गर्छ भन्दा अतिशयोक्ति नहोला । खुसीले रमाएका केटाकेटीहरू आ-आफ्ना बुबा-आमालाई प्रदर्शित संरचनाहरुको अवलोकनका लागि यता जाउँ, उता जाउँ भनि तानिरहेका बालबालिकाहरु भेटिन्छन् । वास्तवमै लेगोल्याण्ड बालबालिकाका लागि स्वर्गै हो भन्दा फरक पर्दैन ।

बालबालिकाहरु डुङगामा चढेर झरनाबाट तल झर्दै

बालबालिकाहरु डुङगामा चढेर झरनाबाट तल झर्दै

नेपालमा लेगो खेल खासै उपलब्ध नभए पनि टुक्राटाक्री जोडजाड गरेर खेलिने थुप्रै प्रकारका खेल प्रचलनमा छन् । यी सबै खेल-खेलौना एकै अवधारणाका हुन् । मुख्य कुरो स्कुले पाठ्यक्रममा मात्र सिमित नराखेर बालबालिकाहरुमा खेलका माध्यमले अनुशासन, धैर्यता, पूर्वयोजना गर्न सक्ने क्षमता र कार्यगत निरन्तरता जस्ता गुणहरुको सानै उमेरमा विकास हुन सके उनीहरूको सोंचको परिधिलाई अझै बृहद र सृजनात्मकताको क्षितिजलाई अझै फराकिलो पार्न सक्नेछन् । बाल्यकालमा सिकेको कुनै पनि खेलले जीवनका जटिल एवं संघर्षपूर्ण क्षणहरुमा शान्त, धैर्य र अनुशासित बन्न सिकाउँछ । खेलले जीवन जिउन सिकाउँछ, खेलौं र बालबालिकाहरूलाई खेल्ने वातावरण सृजित गरौं ।

(लेखक गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य र पेशाले स्विटजरल्याण्डमा कार्यरत एक ‌‍र्‍याडिएसन अंकोलोजिष्ट हुन्।)

साभार: जुनकिरी, नागरिकन्युजको प्रकाशन

Share.

Leave A Reply