०८ वैशाख २०८१

संसार घुमें, संसार देखें

0

जीवनमात्रै होइन, यात्रा पनि सुख–दुःखकै पाटो हो । विश्वका विभिन्न देश भ्रमणका क्रममा अनेकौं घटना भएका छन् । त्यसैको सानो–ठूलो दस्तावेज हो– सर्सर्ती संसार !

भनिन्छ– दश माइलको यात्रा दश पुस्तक पढेबराबर हो । नयाँ–नयाँ ठाउँ घुम्दा मुखमात्र फेरिँदैन, नयाँ जीवनशैली, संस्कृति, रहनसहन आदि पाटासँग साक्षात्कार हुने मौका पनि पाइन्छ । युक्रेनमा यस्तै रमाइलो घटना भयो ।

सन् २००४ को कुरा हुनुपर्छ– मस्कोको किएभ्सकी रेलवे स्टेसनबाट राति १० बजे हामी रेल चढेका थियौँ । रुसको सीमा पार गरेर युक्रेनको जोर्नोभा स्टेसन पुग्दा त्यस्तै बिहान ३ बजेको थियो ।

यात्राको क्रममा थकाइ स्वाभाविक लाग्छ । सीमा गार्डहरूले ‘ओई उठ !’ भनेपछि पो हामी झसंग भयौँ । उनीहरू पासपोर्टका लागि आएका रहेछन् । यात्रामा म र डा. सञ्जीव यादवसँगै अरु विदेशी पनि थिए ।

अचम्म ! हामी दुई र विदेशी (शायद सिंगापुरका थिए)लाई अतिरिक्त सोधपुछका लागि भन्दै भित्र कार्यालयतिर पो लिएर गए ।
यता, रेलचाहिँ तालिकामुताविक नै बिहान किएभतिर प्रस्थान गरिहाल्यो ।

त्यहाँ पुर्‍याएपछि हामीलाई सीमा कार्यालयको चिसो छिँडीमा रहेको एउटा कुर्सीमा बस्न लगाइयो । नोभेम्बरको महिना लगलगी जिउ कामिरहेको थियो, न्यानो खोज्ने कुरा पनि भएन ।

उनीहरू बेलाबखत भन्थे, “बिहान ९ बजे सीमा अधिकृत आउँछन्, सोधपुछपछि मात्रै छाड्ने–नछाड्ने निधो हुन्छ ।”

हामीले त जसोतसो सिरोटो छलिरहेका थियौँ तर सिंगापुरियनलाई भने साह्रै असह्य भइरहेको थियो । उनीहरूको अनुहार एकतमासको थियो, अनुहार साह्रै विरक्तलाग्दो बनाएका थिए ! ओठहरूमा कलेटी पर्न थालिसकेको थियो ।

बीचमा मैले अनुनय विनय गरेँ, “हाम्रो पासपोर्ट फिर्ता देओ, हामीलाई जानु छैन तिमीहरूको देश !”

तर, उनीहरू मूर्तिवत् ठिंग उभिइरहेका थिए, हाम्रो कुरै सुन्दैनथे !

ढल्किँदै–ढल्किँदै बिहान १० बजेतिर सीमा गार्ड अधिकृत आइपुग्यो । उसको अनुहार हेर्दा लाग्थ्यो– विदेशी पर्यटक देख्नेबित्तिकै यसैगरी नियन्त्रणमा लिएर राख्नू !

रुसमा लामो समयसम्म बसेर कर्मचारीहरूको चालमाला बुझिसकेको थिएँ– उनीहरू घूस खोजिरहेका छन् । दुई–चार पैसा पाए भने फुरुंग परेर हामीलाई छाडिदिन्छन् !

अधिकृत आएर गोहीको आँसु झार्न थाल्यो, “तलब साह्रै थोरै छ, यसरी पर्यटकलाई दुःख नदिए मुखमा माड के गरी लगाउनू !”

जनही सय डलर घूस नबुझाएसम्म हामीले पासपोर्ट पाउँदै पाएनौँ, मुटुमाथि ढुंगा राखी हामीले घूस बुझाउनै पर्‍यो, अर्काको देशमा अनाहकमा हन्डर बेहोर्नुभन्दा सुरुक्क पैसा बुझाउँदा नै हामीलाई सजिलो हुन्थ्यो ।

घूस बुझाएपछि त हामीलाई मानसम्मान पो गर्न थाले ! हाम्रो अघिल्तिर तातो कफी ल्याएर आतिथ्यभाव दर्शाए ।

झट्ट पृथ्वीनारायण शाहको उक्ति याद आयो– घूस लिन्या र दिन्या दुवै अपराधी हुन् !

मुटु चिसो भयो मेरो !

० ० ०

च्यातिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा तब फूलबाट

सोभियत संघ अधिनस्थ १५ गणराज्यमध्ये सबैभन्दा दक्षिणस्थित ताजिकिस्तानको (सोभियत संघ विघटन भएपछि) दूरवस्था देख्दा मलाई राष्ट्रकवि माधव घिमिरेका यिनै पंक्ति झल्झली याद आउँछन् ! राजनीतिक महत्त्वाकांक्षाका कारण जब देश खण्डित हुन्छ, तब जनताले कस्तो दुर्दशा भोग्नुपर्छ भन्ने दृष्टान्त पनि हो ताजिकिस्तान !

तत्कालीन सोभियत संघ देश होइन, महादेशै थियो । प्राकृतिक साधनस्रोत, सामरिक महत्त्व, औद्योगिक तथा खनिज पदार्थ उत्पादन, वन–जंगल, जैविक विविधता के थिएन सोभियत संघसँग ? जुनसुकै कोणबाट हेर्दा पनि सोभियत संघ एउटा महाशक्ति राष्ट्र नै थियो ।

तर, सोभियत संघ क्रमशः खण्डीकरणको बाटोमा पुग्यो र देशहरू छुट्टिन थाले । संघबाट अलग भएकैमध्येको देशको ताजिकिस्तान ।
नेपालको राजनीतिक–सामाजिक धु्रवीकरण देख्दा मलाई झट्ट ताजिकिस्तानकै याद आउँछ । बडो भावुक बन्छु म ।

अनपेक्षित राजनीतिक अव्यवस्थाको भूमरीमा फसेको मुलुक ताजिकिस्तानमा सन् १९९१ मा मैले पहिलो पटक पाइला टेकेको हुँ ।

भाइ खेम सन् १९९० ताका रुसी भाषा पढ्न ताजिकिस्तानको एउटा इन्स्टिच्युटमा भर्ना भएको थियो । ऊसँग केही नेपाली विद्यार्थी पनि थिए ।

त्यसबेला पूरै पाँच दिन, पाँच रातको रेलयात्रा गर्दै मस्कोबाट ताजिकिस्तानको राजधानी दुसान्बे सहर पुगेको कुरा सुनाउँथे उनीहरू । उनीहरूको रेलयात्रा अनुभव सुन्दा मलाई डाह लागेर आउँथ्यो !

रुसको ट्रान्स साइबेरियन रेल संसारकै लामो रेलवे लाइनमध्ये पर्छ । संसारभरिबाट रेलयात्राका सौखिनहरू यो रुटमा यात्रा गर्न आउँछन्, जुन मेरो पनि इच्छा थियो ।

मस्कोतिरका इन्स्टिच्युटहरूमा भन्दा त्यतातिर ट्युसन फी अपेक्षाकृत सस्तो हुने भएकाले खेमलाई मैले नै त्यहाँ अध्ययन गर्न पठाएको थिएँ ।
गोर्बाचोभले सन् १९८५ मा सुरु गरेको पेरेस्त्रोइका र ग्लास्तनोस्तपछि सबै संघीय गणराज्य सोभियत संघबाट छुट्टिएर आ–आफ्नो अलग पहिचानसहितको स्वतन्त्र राज्य बन्न लागेको संक्रमणकाल थियो त्यो । त्यसैले आर्थिक र सामाजिक पक्षहरू अस्तव्यस्त बन्न पुगेका थिए । जाति–जातिबीच विद्यमान सामाजिक सद्भाव बिथोलिएर एकअर्काप्रति द्वेषको भाव उत्पन्न हुन थालेको टीठलाग्दो अवस्था थियो ।

सोभियत संघका पन्ध्र गणराज्यमध्ये रुसी महासंघ जनसंख्या, क्षेत्रफल र स्रोतसाधन सबै हिसाबले अग्रणी स्थानमा भएकाले अरू गणराज्यमा रुसी जातिको प्रभाव बढी थियो । अन्य गणराज्यमा प्रशासन, शैक्षिक संस्थान र उद्योग–कलकारखानाका माथिल्ला पदहरूमा रुसीहरूकै बोलवाला रहन्थ्यो । सोभियत संघ विघटनको संघारमा आइपुग्दा प्रायः सबै गणराज्यमा रुसीको प्रभाव कम हुँदै जानु स्वाभाविक थियो । विघटनपछि त केही गणराज्यमा रुसीहरूलाई बसोबास नै असहज बन्न थाल्यो, लखेटिने अवस्थासमेत आयो ।

मलाई सम्झना छ– धेरै रुसी आफ्नो घर, अपार्टमेन्ट कौडीको मूल्यमा बेचेर रुसका विकट क्षेत्रमा बसाइँ सर्न थाले । ताजिकिस्तान त्यसको अपवाद कसरी बन्न सक्थ्यो !

० ० ०

पोल्यान्ड र राजधानी वार्सा सहर धेरैपटक घुम्ने मौका मिल्यो । त्यसमध्ये सन् १९८८ मेको एउटा घटना उल्लेख गर्नैपर्ने खालको छ–

हामी बर्लिनका लागि यात्रारत थियौँ । त्यसो त म यसअघि पनि बर्लिन नपुगेको होइन । एक मित्र गुप्ताजी र म दिनभर वार्सा घुमेर साँझ बर्लिनका लागि रेल चढ्यौँ । तर, नसोचेको घटना भयो !

हामी रेल चढ्नेवित्तिकै आठ–दश जना युवा ठेलमठेल गर्दै रेलभित्र पसे !

सिटमा गएर के बस्न भ्याएका थियौँ, गुप्ताजी चिच्याइहाले, “चोरले मेरो वालेट झन्डै उडाएको यार !”

म पनि सजग भएर हत्त न पत्त गोजीमा हात पुर्‍याउँछु त चोरले अघि नै वालेट उडाउन भ्याइसकेछ । खङ्ग्रङ्ग भएँ । युरोपमा पाकेटमारको फेला परिएला भन्ने कल्पना मैले कसरी गर्नू !

वालेटमा नगदमात्र थिएन, अमेरिकन एक्सप्रेस कम्पनीको ट्राभलर्स चेक पनि थियो । दुवै एकसाथ चोरी भएछ ! रुनमात्र सकिनँ !

हराएको चेक जारी गर्ने कम्पनीबाट सोधभर्ना लिन सन्थ्यिो तर आफ्नै हुस्सुपनका कारण बैंकले दिएको अमेरिकन एक्सप्रेस चेकको सिरियल नम्बर र खरिदका प्रमाणहरू मैले जतनसाथ राखेको थिइनँ, सोधभर्ना लिन सकिने कुरै भएन ।

रेलको डब्बामा चोरको ठूलै ठफ्फा रहेछ, पछिमात्रै थाहा पायौँ । उनीहरूसँग प्रतिवाद गर्न सक्ने अवस्था पनि थिएन । त्यसैले सुरुक्क अर्को डब्बामा गयौँ ।

पहिलो पटक रुस जाने क्रममा काठमाडौंमा भेट भएका प्याट्रिस लुमुम्बा विश्वविद्यालय (मस्को)मा पढ्ने डा. अब्दुल मतिनले मैले आफूले उपयोग गर्न सक्ने पूरै सटही सुविधा लिन नसक्ने थाहा पाएपछि आफ्ना लागि केही डलर लगिदिन अनुरोध गरेका थिए । मैले उनका लागि अमेरिकन एक्सप्रेसको ट्राभलर्स चेक लिइदिएको थिएँ । चेकमा सकेसम्म हस्ताक्षर नगर्न उनले सम्झाएका थिए तर बैंकले चेक लिँदा हस्ताक्षर नलिई किन मान्थ्यो र !

मस्को पुगेपछि म उनलाई चेक फिर्ता गर्न गएँ । उनले चेकमा जसको हस्ताक्षर छ, उसैले मात्र उपयोग गर्नसक्ने भन्दै चेक मलाई नै फिर्ता गरे ।

अब म आफैंले त्यो चेक साटेपछि मात्रै उनलाई भुक्तानी दिन सक्ने भएँ । चेक चोरी भएकाले उनको त्यो रकम मैले अर्कोपटक बर्लिन जाँदा बचत गरेको नाफाबाट मात्रै फिर्ता गर्न सकेँ । थोरै संगतमा भरोसायोग्य बनेका ती विद्वान मित्रको काम एउटा चोरीका कारण बिथोलियो । यता असल मानिसको काम भरपर्दो तरिकाले गर्न नसकेकामा मलाई आज पनि पछुतो भइरहेको छ ।

० ० ०

भ्रमणमा स–साना कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । नत्र हेला–हाँसोको पात्रो बनिन्छ । त्यसो त म सामान्यतः साधारणै होटलमा बस्छु । तर, जापानमा अलि फरक भयो । सामान्य होटल सफासुग्घर नहोला ठानेर र स्तरीय होटल नै रोजेँ ।
मैले त्यसो भन्नुका दुई कारण थिए ।

पहिलो– नेपालीहरू राम्रो होटलमा बस्न सक्खैनन् भन्ने सोचाइमा परिवर्तन ल्याउन जरुरी थियो । दोस्रो– म अरूका अगाडि सबल व्यवसायीका रूपमा उभिन चाहन्थेँ ।

जापान पुगेको भोलिपल्ट व्यवसायी मित्र काटो सानले हामीलाई हाकोने नेसनल पार्क जाऊँ भने । हामीले पनि नाइँनास्ती गरेनौँ । हामी चार जना थियौं । सिंगापुर र ताइवानी साथीहरूले चाहिँ आफ्ना श्रीमतीलाई किनमेलका लागि टोकियोमै छाडे ।

प्राकृतिक तातो पानीमा डुबुल्की मार्नु जापानीहरूको परम्पराजस्तै हो । उनीहरूको मान्यता छ– शरीरमा भएका घाउखटिरा या जिउ दुख्ने रोग छ भने त्यस्तो पानीमा चोबलिएपछि ती समस्या चट् हुन्छन् ।

शायद त्यहाँ भएको सल्फरले घाउखटिरा सन्चो बनाउँदो रहेछ कि !

काटो सानले हामीलाई हाकोनेको एउटा प्रसिद्ध ओनसेन रिसोर्ट लिएर गए । त्यहाँ त प्राकृतिक तातो पानीसहितको स्विमिङ पुल पनि रहेछ ।
पचास डिग्री तापक्रमको सल्फरयुक्त तातो पानीमा मानिसहरू निर्वस्त्र नुहाइरहेको देख्दा मैले त लाजले मुख छोप्न पो पुगेछु !

तर, उनीहरूलाई त्यसको कुनै परवाह थिएन । सोचेँ– मानिसको यौवनको तापभन्दा त्यो पानीको ताप धेरै चर्को रहेछ । र त, यति धेरै लालायित बन्दा रहेछन् यिनीहरू !

केही बेर घुम्दाघुम्दै म पनि उनीहरूजस्तै लाजै नमान्ने भएछु । स्थानीय भाषामा त्यसलाई ओनसेन अर्थात् हटस्प्रिङ स्पा लिने भनिँदो रहेछ । त्यहाँ मलाई अनौठो र न्यानो अनुभूति भयो ।

त्यस्तै अर्को रमाइलो दृश्य पनि देखियो-
हाकोनेबाट फर्कंदा मानिसहरू रुमालमा पोको पारेको अण्डा तातो पानीमा डुबाउँदै खाँदै गरेको दृश्यले मेरो ध्यान तान्यो, अचम्मित भएँ ।

तातो पानीमा डुबाएपछि केही बेरमै अन्डा उसिनिँदो रहेछ ! हामीले पनि त्यसैगरी अण्डा खायौं ।

दृश्यले मलाई अर्को सम्झना पनि गरायो– नेपालमा पनि यस्ता थुप्रै तातोपानी कुण्डहरू छन् । तिनलाई पनि यसैगरी उपयोग गर्न सके ! देशलाई मनग्य आम्दानी पनि हुने, त्यस क्षेत्रको पर्यटकीय क्षेत्रको रूपमा विकास हुने !

नेपालको मुक्तिनाथ गएर आउनेहरूले गाउँमा सुनाउँथे– मुक्तिनाथ नजिकैको कुण्डमा रुमालमा चामल पोको पारेर एकछिन तातो पानीमा डुबाउने हो भने भात बन्छ ।

बेलुका टोकियो फर्कंदै गर्दा लामो जाममा पर्‍यौँ । माथि डिजिटल होर्डिङ बोर्डमा राता अक्षरमा लेखिएको सूचनालाई काटो सानले अनुवाद गरेर सुनाए– पाँच किलोमिटर लामो ट्राफिक जाम छ । यो जाम छिचोल्न दुई घण्टा लाग्न सक्छ । मेरो सातो गयो !

० ० ०

जर्मनी मेरो दोस्रो कर्मभूमि हो ।

सन् २०१२ देखि जर्मनीको फ्र्यान्कफर्ट सहरमा व्यवसाय गरेर बसेका युवा उद्यमी तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तसँगको साझेदारीमा व्यवसाय सुरु गरेपछि जर्मनी मेरो कर्मथलोमा रुपान्तरण भएको हो ।
जर्मनी युद्धले धुजा–धुजा ठाउँ हो ।

जर्मनीसँग युद्धका खाटा बस्न बाँकी रहेका थुप्रै घाउ छन् । प्राचीन सभ्यताको जननीस्थल भएर पनि यसले खासै परिचय फेर्न सकेझैँ लाग्दैन ।
एउटा प्रसंग छ ।

यही पृथ्वी हो, जहाँ चस्मा लगाएका मानिस बुद्धिजीवी हुन्छन् भनेर कम्बोडियामा छानी–छानी मारिएका कथा छन् । जातीय हेलाकै भरमा हिटलरले ६० लाख यहुदी सिध्याए । अरू त अरू– विश्वविख्यात वैज्ञानिक आइन्स्टाइन पनि कोपभाजनमा पर्नु पर्‍यो । आइन्स्टाइन लखेटिएपछि जर्मनीका विद्वानहरूले बाहिर निस्किएर भने– जर्मनी आज युद्धमा हारेको छ ।

विश्वविख्यात भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई यहुदीका नाममा देशनिकाला गर्नु जर्मनीका लागि अभिशापसिद्ध भयो । बीसौं शताब्दीका यी महान् वैज्ञानिकलाई देशबाट निकालिँदाको क्षण विश्व रोएको थियो ।

जर्मनीबाट लखेटिएपछि अमेरिकाले आइन्स्टाइनको बुद्धि, ज्ञान र विवेकको राम्रोसँग उपयोग गर्‍यो ।

आफ्नै मातृभूमिमा तिरस्कृत हुनुपरे पनि उनको प्रतिभाको कदर संसारले गरेको छ ।

संसारकै सबैभन्दा क्रूर शासक र दुइटा विश्वयुद्ध जन्माउने देश जर्मनी अहिले युद्धबाट थाकेर चुपचाप विकास, विकास अनि फेरि विकासमै लागेको अनुभव हुन्छ ।

इतिहासमा थुप्रै अक्षम्य भूल गरेको जर्मनी अब कहिल्यै त्यस्तो भूल नगर्ने वाचा गरेर युरोपको एउटा सुन्दर फूल बन्दै विश्वभर शान्तिको सन्देश छरिरहेजस्तो छ ।

जर्मन टेक्दा म जहिल्यै सोच्छु– युद्धले घाउबाहेक केही दिँदो रहेनछ !

० ० ०

युरोपको मध्य भागमा रहेर पनि स्विट्जरल्यान्डले आफूलाई निकै तटस्थ राखेको छ । र, निर्वाध रूपमा संघीय गणराज्यको भूमिका निर्वाह गरिरहेको छ । स्विट्जरल्यान्डमा जस्तो भूगोल छ, त्यो नेपालसँग पनि छ ।

पहाडैपहाड भएको देश स्विट्जरल्यान्डमा जताततै पहाड छेडेर सुरुङमार्ग बनाइएका छन् तर हाम्रा लागि त ती कल्पनामै सीमित भएका छन् ।

काठमाडौं उपत्यकाका साथै पोखरा, जिरी, पाल्पा, इलाम, जोमसोमलगायत दर्जनौं ठाउँ छन्, जसलाई ज्युरिच, जेनेभा र बर्नजत्तिकै आकर्षक बनाउन नसकिने होइन । खै हाम्रो सोच ?

सिंगापुर पुगेपछि मलाई यी कुराहरूले घोच्न थाल्छन् ।

हाम्रा हिमालभन्दा निकै होचा हिमालहरूमा स्कीलगायत अन्य स्नो एड्भेन्चरको मज्जा लिन लाखौं पर्यटक वर्षैपिच्छे आउने गर्छन् । जेनेभा र ज्युरिच तालले लाखौं पर्यटक आकर्षित गर्छन् । तीभन्दा कैयौं गुणा सुन्दर हाम्रा तिलिचो र से–फोक्सुन्डोहरू छन् । तर, माल पाए पनि चाल नपाएजस्तो !
दशकौंअघि स्वीस सरकारले दोलखाको जिरीमा बनाइदिएको कृषि केन्द्रमा गरिएको प्राविधिक सफलतासँगै उसले आफ्नो देशमा अभूतपूर्व कृषि क्रान्ति गर्‍यो । तर, उनीहरूले छाडेपछि जिरीका भौतिक संरचना हाम्रा लागि खण्डहरजस्ता भएका छन् ।

गैरआवासीय नेपाली संघको बैठक उद्घाटनमा स्विट्जरल्यान्डकी पूर्वफेडरल चान्सलर डा. अन्नामारी ह्युबर होट्ज उपस्थित भएर बैठकको गरिमा बढाइदिएकी थिइन् ।

बैठकको उद्घाटन समारोह सकिएपछि उनीसँग एकैछिन भलाकुसारी गर्ने अवसर मिल्यो । नेपाललाई असाध्यै माया गर्ने यी महिलाले दुई धर्मपुत्रीसमेत नेपालबाटै झिकाएकी रहिछन् ।

थुप्रैपटक नेपाल आउजाउ गरेकी पूर्वचान्सलरले मलाई सोधिन्, “विश्वकै असल र सुन्दर मानिसहरू भएको देशले विकासचाहिँ किन गर्न नसकेको होला ?”

म निःशब्द भएँ । आजपर्यन्त यसको उत्तर मसँग छैन ।

० ० ०

व्यवसाय, एनआरएनको काम र घुमघामको सिलसिलामा विश्वका विभिन्न देश पुगेँ र धेरै अनुभूति सँगालें । म जहाँ जान्थेँ, साथमा ल्यापटप लैजान छुटाउन्नथेँ । त्यसो त म डायरी पनि लेख्छु । नयाँ ठाउँ गए नै पिच्छे म हरेक कुरा टिपोट गर्न छुटाउन्नथेँ, त्यसैले हो मलाई किताब लेख्न घच्घच्याएको ।
किताबको पाण्डुलिपि तयार भएपछि मैले केही साथीहरूलाई पनि देखाएँ । उनीहरूले यसलाई किताबकै रूप दिन सुझाए ।

त्यसो त म लेखक होइन तर साहित्यप्रति असाध्यै रुचि राख्छु । स्कुल पढ्दा म निबन्ध लेखनमा सहभागी हुन्थेँ र पुरस्कृत पनि हुन्थेँ । भ्रमणका सिलसिलामा पनि म नयाँ कुरा भेट्टाउनेबित्तिकै डायरीमा टिपीहाल्थेँ । यसैगरी जन्मियो ‘सर्सर्ती संसार !’

प्रस्तुति : अक्षर काका
लामिछानेद्वारा लिखित पुस्तक सरसर्ती संसारशनिबार रसियन कल्चर सेन्टरमा विमोचन हुँदैछ ।

-१२खरी डट कम

Share.

Leave A Reply