१३ वैशाख २०८१

डायस्पोराका एक अभियन्ताको अप्रेशन (जिबनवृत फोटो फिचर सहित )

0

डिल्ली राम अंमाई। बि. सँ. २०७३ सालको शरद ऋतु अन्त्यको एक दिन । फ्रान्सका अविरल देशप्रेमी धावक हरिहर अर्याल जस्तै सवैले सुनेका तथा नवुझेका, धेरैको वन्ने रहर भएका तर वन्न नसकेका उनै अभियन्ता  युवराज गुरुङ्गको मनोदशाको चिरफार गर्ने  मनसायले यो पंक्तिकार उनको घर पुग्यो ।

बेल्जियमका समाजसेविहरुका माझ युबराज गुरुङ (निलो कोट) बाँयाबाट क्रमश सिपी भट्ट, चित्र सुबेदी र दाँयाबाट सुबाश जोशी, ओम शर्मा र डिल्ली अंमाई

बेल्जियमका समाजसेविहरुका माझ युबराज गुरुङ (निलो कोट)
बाँयाबाट क्रमश सिपी भट्ट, चित्र सुबेदी र दाँयाबाट सुबाश जोशी, ओम शर्मा र डिल्ली अंमाई

एकतल्ला माथि  वैठक कोठाको सोफामा वसेँ । एउटा झ्याल थोरै खुल्ला छ, मौसम चिसो चिसो, बाहिरबाट  अरवि लवजमा मिसिएर हुँईकी रहेका  गाडीहरुको  आवाज, मसिनो गरि थोरै खुलेको झ्यालबाट भित्र पसी रहेको छ  ।

समय विहानी थियो, मैले समयको अंक हेर्नु पर्ने महसुस नै गरिन । पङ्क्तीकार अकस्मात आउँदा आशंकाले भरिएको पोटिलो, मंगोलियन अनुहार अलमलिएको पाएँ । उनलाई कफी उमाल्न हतारो भै रहेको थियो – उनी भान्सा कोठा तर्फ लागे । घरको श्रिंगार पटारमा भाउजुको हातको कला पोखिएको थियो । दुई छोराहरु अनिश, मनिष र हजुरआमा फोटोको फ्रेममा माया र सत्कारको आलोकले सिँगारिएर भित्तामा सजिएका  थिए।

युबराज गुरुङका ८३ बर्षिय आमा चन्द्र माया गुरुङ र दुई छोराहरु अनिश र मनिष

युबराज गुरुङका ८३ बर्षिय आमा चन्द्र माया गुरुङ र दुई छोराहरु अनिश र मनिष

गुरुङ मित्रले कफीको कप मलाइ दिदै आफ्नो आत्मिय सत्कार देखाए । मैले उत्पात खुशीको भावमा कफीको कप समातें ।म तर्फ बिस्फोटित लोचनले हेरेर हाँस्दै भने – भेटघाट बाहेक केहि काम पनि थियो कि ?

बस्नुस, केहि बेर गफ गरौँ भनेर … कनिकुथी जवाफ थियो मेरो । उनि पनि कफी लिएर नजिकै सोफामा बसे ।

कफीको चुस्की संगै आजको मिति सम्म उनले पद र पैसाको लागि राजनैतिक गुट उपगुटमा नपुगेको कुरा स्मरण गरे । ठाउँ ठाउँका मंचहरुमा जातहरुको झुण्डमा मात्र विभाजित बनेर सिंगो उत्पिडन साम्प्रादायिक बनेको तर उनि त्यसमा फरक धारणा सहित प्रस्तूत भै रहेको जिकिर सुनाए ।

घरबाट अढाइ घण्टाको टाढाको स्कूलमा गै पढेका उनि पहिलो पल्ट एसएलसी फेल भएका रहेछन । भक्तपूर सानोठिमी क्याम्पसमा अध्ययन गर्दा आर्थिक अभाब राम्रैसँग झेलेको उनले गुनासो गरे । उनको आमाले गाउँमै भेडाको ऊनबाट राडीपाखी बुन्ने, घरेलु रक्सि बनाउने, काँचोपात सूर्ती बनाइ बेचबिखन गरी छोरालाई पढाउनु भएको रहेछ।

बि स २०४२ तिर १० कक्षाका सहपाठी मित्रहरु चन्द्र र हेमराज सँग मूलखर्क कृषि मेलामा युबराज गुरुङ (बिच)

बि स २०४२ तिर १० कक्षाका सहपाठी मित्रहरु चन्द्र र हेमराज सँग मूलखर्क कृषि मेलामा युबराज गुरुङ (बिच)

२०४४ सालमा उनि सानोठिमी पढ्न आए पछि त्यो बेलाका उद्योग सहायक मन्त्रि धर्म बहादुर गुरुङको स्वकीय सचिब भएर काम गर्दाको एउटा चाख लाग्दो घटना सुनाउदै उनि बोल्न हौसिए । ” एका बिहानै  क्वार्टरमै भएको बेला छिमेकमा हल्लीखल्ली भएको सुनियो । के रहेछ भनेर बाहिर निस्कँदा करेसा बारीमा फूल्न लागेका काउलिका बोटहरु छपाछप काटिएका रहेछन । कामदारहरुको खास खुसले होहल्ला मच्चिए पछि त्यो हल्ला एकाएक सामसुम पारियो । अघिल्लो साँझै मन्त्रिमण्डल बिघटन भै सकेको हुनाले मन्त्रि आफैले रोपेका काउली  आउने मन्त्रीले खान नपाउन भनेर त्यसो गरेका रहेछन । कस्तो मानसिकता होला ति बेलाका ति मन्त्रीको !” त्यो घटना संझदा अहिले पनि उनलाई बिस्मत लाग्छ रे ।

यता पहिलो बर्षको रिजल्ट बाँकी हुँदा हुँदै उनले प्रा वि शिक्षकको लागि आयोगबाट नाम निकालेछन । उनि त्यस पछि खाँदबारी फर्केर आफ्नो दरबन्दी बुझ्दा दूर्गम क्षेत्र च्याम्तांग तोकिएको रहेछ । उनि चाकडीबाज र भनसून भन्दा कर्मको ईमान्दारितामा बिस्वास गर्ने भएकोले तोकिएकै ठाउँमा त्यहि गाउँकै संचालक समितका अध्यक्ष भैरूंग धोर्चे सँग बाटो लागेछन । उनले नमिठो गरि मुख बिगार्दै भन्छन – ” बाटो अचम्मको डर लाग्दो । धेरै   खोलाहरुमा पूल पुलेसा नै छैनन् । फलामको लठ्ठामा झुण्डिएर अरुण  तर्नु पर्ने, बगीरहेको पहिरो संगै दौडेर बाटो पार गर्नु पर्ने, उर्लंदो खहरे खोलाहरुमा पानी  लहरोको फड्केबाट तर्नु पर्ने ।खिस्रिक्क खस्यो कि चोक्टो लाम्टोको नाम निशानो नभेटिने ।  स्याउँ स्याउँ जूका त कत्ति हो कत्ति ! भैरूंग संगै आठौ दिनका दिन च्याम्तांग पुगेका उनलाई के थाहा ? त्यो ठाउँमा धेरैले  नेपाली बोल्न पनि जान्दैनन् भनेर ।“

उनी झन उक्सिँदै भन्दै गए – “पहिलो रात असँख्य उपियाँको टोकाइले इन्तु न चिन्तु बनायो । सुँगुरको खोर माथि ओछ्यान भएकोले न शान्त सँग सुत्न पाइयो न त सास फेर्न नै । एका बिहानैको झुल्के घाममा १३ बर्षे केसाङ्ले घुर्यानबाट आधा खिईएको भुक्के हेटौडे चप्पल खोजेर ल्याए अनी त्य्सलाई चक्कुले काटेर चिया फिट्ने वासर बनाए, एकै छिनमा चौरीको घ्यू हाली चिया बन्यो तर मुश्किलले एक दुई सुरूप पिएँ । घरमा भैरुँगकी श्रीमतीले  भात पकाइन, खाँदा भातका सीता भन्दा सेता चिल्सा किरा धेरै – रुचे पो ! मलाई अत्यास लाग्यो । सहज  हुन सक्दिन कि भन्ने डर लाग्यो, तर त्यो परिवारबाट मैले यती धेरै माया र सम्मान पाएँ कि त्यस्तो स्नेह सायदै कतै पाइएला ।” केही महिना अत्यास लागे पनि पछी बिस्तारै झ्याम्मिदै गए रे उनी । त्यहिको रहन सहनमा रत्तिएर सबैको माया बटुल्न सकेको बताए उनले । गाउँ भरिका सबैले रुँदै रुँदै बिदा गरेको त्यो बेलाको तस्विर कहिले पनि भुल्दैनन रे उनले । पढाएर खर्चको जोहो गर्दै पढ्दै गर्दाको सम्झना गर्दै उनले भने – “बिच बिचमा काठमाण्डु आइ रहनु पर्ने, कहिले जाँच दिन त कहिले किताब कपी किन्न ।”

बि स २०४७ मा गान्धी मा बि काँडाघारी, काठमाडौंका (आफ्ना) विद्यार्थीहरुसँग युबराज गुरुङले अध्ययन गरेको सानोठिमी क्याम्पस परिसरमा

बि स २०४७ मा गान्धी मा बि काँडाघारी, काठमाडौंका (आफ्ना) विद्यार्थीहरुसँग युबराज गुरुङले अध्ययन गरेको सानोठिमी क्याम्पस परिसरमा

दुर्गम स्कूलमा पढाउँदाका रमाइला घटनाहरु सुनाउन कस्सिए उनी । “नेपाली भाषा खासै नबुझ्ने स्थानियले । एकजना स्थानिय थोक्मी भोटेको सट्टा मलाई स्थाई नियुक्ती गरेर त्यहा खटाइएको रहेछ । थोक्मीले टेस्ट मात्र पास गरेका रहेछन र उनी सामान्य अपाङ्ग समेत रहेछन । म उनको सट्टा त्यहा पुगेको थाहा पाए पछी मलाई सबै मिलेर कुट्पिट गरी लखेट्ने सल्लाह गरी सकेका रहेछन । भैरुँगबाट सबै कुरा थाहा पाए पछी मैले शाहसका साथ उनिहरुलाई भनेँ – मलाई कुटपिट नगर्नु होला बरु हाजिर हुन नदिने हो भने त्यही रिपोर्ट लेखी देउ र म यहाँबाट फर्कन्छु । मलाई हाजिर नगराउदा स्कूल र तपाईंहरुलाई फाईदा हुँदैन भने पछी उनिहरुले मलाई स्विकारे । थोक्मिको पनि जागिर थमाउन अरु उपायको खोजी गर्ने सल्लाह भयो ।”

यसरी ज्यान जोगाएछन उनले । उनले धेरै पटक मरेर बाँचेको कथा सुनाइ रहे । ” आइ एड पढाइको अन्त्य तिर २०४५ सालमा दशरथ रँगशालाको घटनामा पनि परेँ । त्यतिखेर मैले फलामको काँडे तारमा अल्झिएका दुई आइमाइहरुलाई उद्धार गरेको कहिल्यै भुल्दिन । ब्यबस्थापनको कमजोरीले र प्रहरिको लाठी प्रहारबाट घाइते भै ढलेर कुल्चाइमा परेका सबै मरेका हुन र आफु सँजोगले मात्र बान्च्न सकेँ ।” उनले भने ।   अचेल संझदा आभाष हुन्छ, हजार पटक मर्दै बाँच्दै गर्दा जिउनुको मज्जा बेग्लै हुँदो रहेछ ।

रोचक त के भने च्याम्ताङमा अध्यापन  गराउदै गर्दा एक पटक भोकमरी लागेछ । सरकारले दुर्गमका कर्मचारीहरुका लागि  भोकमरी चामल दिने घोषणा गरे पछी सबै कर्मचारीहरुले त्यही उसिना चामल ल्याएर भोकमरी कटाएका रहेछन । चार किलो  त्यो चामलले  दुई चार दिन कटे पनि बाँकी दश दिन जति कटाउन बन-जँगलको कन्दमूल र स्थानियको सहयोगमा खोले खाइ बांचेका रहेछन उनी । एक अर्को प्रसँगमा उनले भन्दै गए – “एक दिन त्यही गाउँको निम्तामा दूलहा लिएर जन्त गैयो । जन्तीका मूल्किरिले गोरुको सिँगै टाउको घाँटिमा चोयाले झुण्ड्याएर दूलहिको घरमा जानु पर्ने, अनी दूलही पक्षकाले चिसो पानी र सिस्नुको मूठोले दूलहा र जन्ती सबैलाई जथाभाबी हानेर स्वागत गर्ने चलन रहेछ । कस्तो अनौठो चलन ! अचम्म त झन त्यो पो लाग्यो – त्यसरी  सिस्नु पानीले हान्दा पनि जन्तीले हाँसेर सहनु पर्ने, स्विकार्नु पर्ने । म त धेरै डराएँ । तर दूलहा घर भित्र छिरे पछीको स्वागत सम्मानले अगाडिको सबै पिडा भूलाई दिने ।”

 नौ महिना पछी च्याम्ताङबाट उनको जागिर खांदबारी सरूवा गराईएको रहेछ । खाँदबारी स्कूलमा चार महिना पनि पढाउन नपाउदै जिल्लाका सामन्त माझियाले अर्कै ठाउमा  सरुवा गराइ दिएछन । त्यो नयाँ ठाउँ यस्तो रहेछ कि – कुकूर भुकेको सुनिने तर घरबाट स्कूल पुग्न ६ घण्टा हिंड्नु पर्ने । त्यस पछी भने उनलाई शिक्षण पेशा देखी बिरक्त लागेर जागिर छाड्ने निर्णयमा पुगेछन ।

 २०४६ देखि उनी सानोठिमी क्याम्पसमै  बि एड पढ्न थाले । त्यो बेला भएको स्वबियूका प्रतिनिधिमा उनी र लोकनाथ ढुंगाना सर्बसम्मत  छानिएको स्मरण गर्दै उनले भने – “त्यो बेला छत्राबासको ‘प्रिफेक्ट’ म थिएँ भने बैतडीका फँकु सिंह एरी वार्डेन् थिए । त्यो बेलाका छत्राबासको प्रशासन हेर्ने चिरन्जिबी पौडेल हाल रोल्पाका जिशीअ छन । ८ कक्षा देखि डिग्री सम्मका सहपाठि साथी दयाराम दाहाल ५ बर्षे चाइना रेडियो नेपाली सेवामा काम गरे पछी हाल माथिल्लो मर्श्याङ्दी जलबिद्दत योजनामा सिनियर अनुबादकको रूपमा कार्यरत छन । लोकनाथ , चिरन्जिबी र दयारामको सहयोगले छात्राबासमा धेरै राम्रो काम गर्न सकेको सम्झन्छन । उनले त्यो बेलाको काम बारे उत्सूक हुँदै थपे – “मेरै नेत्रित्वमा छात्राबासको कोटा ४३ बाट बढाएर ९० पुर्याएँ । खानपिनको लागि मेश सन्चालन, अध्ययन ब्यबस्थापन, पुस्तकालयको ब्यबस्थापन सँग सँगै कम्पाउण्ड भित्र वृक्ष रोपन जस्ता सुधारमुखी कार्यक्रमहरु सम्पन्न गरियो । ति कुराहरुबाट आज पनि सन्तोष महशुस गर्दछु ।”

 बिदेश पलायन :

नेपालमा जति संघर्ष गरे पनि केही नहुने र मुलूकमा राजनितिक द्वन्दले अत्यास लाग्दो अवस्था बनेको कारण उनी बिदेश पलायन भएको बताउछन । “नत्र के पिर थियो र ! ठुलो परिवार थिएन, २ छोरा, श्रीमती, बहिनी र आमा मात्र – छोड्न त मन थिएन नि, आफ्नो थात थलो ।” यो भन्दै गर्दा उनी गम्भिर देखिन्थे । सपना पनि अहिले सम्म उनी आफ्नै गाउँको मात्र देख्ने गरेको सुनाउदै उनले घत लाग्दो गरी थपे – “राज्यको त सिमा होला तर राष्ट्रियताको सिमा हुँदैन त सर ! राष्ट्रियता त मन र सपनामा पो जाग्दो रहेछ ।”

 उनी बेल्जियम आए पनि आर्थिक र सामाजिक भूमिकामा नेपाल र नेपाली सँगै छन । सन १९९९ मा बेल्जियम आएका उनी केही नेपालीहरुको संपर्कमा आइ नेपाली समाज संगठित गर्न तिर लागे । राज्य  र बिद्रोही दुबै पक्षबाट नेपालमा मानब अधिकारको उलँघनका घटनाहरु ब्यापक रूपमा भै रहेका थिए । ति मूद्दाहरुलाई अन्तरराष्ट्रियकरण गर्न उनले जरूरी सम्झे । अर्को तर्फ बेल्जियममा नेपालीहरुका आफ्नै समस्याहरु थिए । अबैधानिक बसाइबाट अत्तालिएका नेपालीहरुलाई बसाइको कानूनी सहजिकरणको लागि काम गर्ने पर्ने उनले महशुस गरे । यिनै मुद्दाहरुलाई बोकेर सन २००० मा जनप्रगतिशिल मन्च निर्माण गरे । त्यो बेलाका उनका सहयात्रिहरु नबिन सापकोटा अध्यक्ष, कृष्ण खतिवडा सचिब र उनी कोषाध्यक्ष बने । उनी आफ्नै रफ्तारमा बोल्दै गए – “तपाइलाई पनि अली अली थाहा हुनुपर्ने – कागज बिहिन नेपालीहरुको लागि थुप्रै संघर्ष गरियो । त्यस्तै नेपालमा द्वन्द रोकी  मानब अधिकार बहालिको लागि राज्दूताबास र युरोपियन युनियन मार्फत थुप्रै दबाबहरु दियौँ ।” उनले त्यो बेला गरेका संघर्ष बारे अझै सम्म गौरब गर्दा रहेछन । त्यो बेला मन्च निर्माण गरेकोमा उनलाई कत्ती पनि पछुतो छैन रे । सन २००३ पछी भने उक्त सामाजिक संगठन भित्र अमूक राजनीतिक पार्टिको निती तथा कार्यक्रम हावी भएकोले मन्चबाट अलग हुनु परेको उनको दुखेसो रह्यो ।

जनप्रगतिशिल मन्च बेल्जियमका संस्थापकत्रय युबराज गुरुङ (बायाबाट पहिलो), कृष्ण खतिवडा र नबिन सापकोटा तथा सदस्य लोक दाहाल तत्कालिन शाही नेपाली दूताबास ब्रसेल्समा बिरोध स्वरूप ज्ञापन पत्र बुझाउदै

जनप्रगतिशिल मन्च बेल्जियमका संस्थापकत्रय युबराज गुरुङ (बायाबाट पहिलो), कृष्ण खतिवडा र नबिन सापकोटा तथा सदस्य लोक दाहाल
तत्कालिन शाही नेपाली दूताबास ब्रसेल्समा बिरोध स्वरूप ज्ञापन पत्र बुझाउदै

उनले आफ्नो स्वभाब अली हठी भएको कारण केही असजिलो अवस्था ब्यहोर्नु परेको अबगत समेत् गराए । प्रयत्नबाट मात्र परिवर्तन संभब छ भन्दै सामाजिक भूमिकामा उनको आफ्नो ब्रम्हले देखेको सत्य बाहेक सितीमिती कसै सँग सम्झौता गर्दैनन ।

संखुवा सभा मूलखर्क ६ (माझखर्क) स्थित युबराज गुरुङको जन्म घर

संखुवा सभा मूलखर्क ६ (माझखर्क) स्थित युबराज गुरुङको जन्म घर

सन १९६९ मा संखुवासभाको मादी मूलखर्कमा जन्मेका उनी स्वर्गिय कर्ण बहादुर गुरुङ र आमा चन्द्र मायाका एक्ला छोरा हुन । दिदीहरुले त्यो बेला पढ्न लेख्नबाट बन्चित रही उनलाई पढाउन सार्है दु:ख गरेको कहिल्यै भुल्दैनन रे । साइली दिदी चन्द्रकला पहाड गाउमै र माइली दिदी धनमाया तराइ पथरिमा सुखका साथ बसेका छन रे । ठूली दिदी गोरी स्वर्गबास भै सक्नु भएको रहेछ । कान्छी बहिनी रश्मी काठमाण्डु घरैमा आमासँग रहेको सुनाए ।  आइ एड पढ्दै गर्दा बुवालाई गुमाएका उनले आफ्नो जीवनकालमा धेरै संघर्ष गरेर आफ्नो अध्ययनलाई स्नतोकोत्तर तह सम्म पुर्याए ।

युबराज गुरुङका माता चन्द्र माया गुरुङ (८३) र स्वर्गिय पिता कर्ण बहादुर गुरुङ

युबराज गुरुङका माता चन्द्र माया गुरुङ (८३) र स्वर्गिय पिता कर्ण बहादुर गुरुङ

२०४७ सालमा बि एड गर्दै गर्दा खाँदबारिका क्याम्पस प्रमुख उपेन्द्र कोरङिका सहयोगले मन्दरा गुरुङसँग मागी विवाह गरेका उनी आफ्न कुराहरु खुलेर राख्न कसैसँग पनि डराउंदैनन । अहिले सम्म आस्थाका कुनै पनि राजनितिक संगठनमा नछिरेका  उनी आफुलाई अझै सम्म स्वतन्त्र राख्न सफल भएको बताउछन । दौराको तूना छेउ नेपाली झण्डाको   ब्याज भिरेर उनी नपुगेका एन आर एनका कार्यक्रम बिरलै होलान । अचम्म छ उनको जाँगर ! अचम्मको छ उनको नेपाली मन !! कसै कसैले भनेको सुनिन्छ – के को पैसाले पुग्दो हो र युबराजलाई, युरोप अमेरिका जापान कुदी रहन्छन – झन्डा र ब्यानर बोकेर । उनको गतिबिधिले बताउँछ कि, उनको कर्म प्रबाशमा नेपाल भेट्टाउने र नेपाली मन खोजी खोजी नेपालीपनले भिजाउनु हो।

बि स २०४७ मा मागी विवाह अन्तर्गत घरेलुका नयाँ बस्त्रमा सजिएर विवाह गरेका युबराज गुरुङ र मन्दरा गुरुङ

बि स २०४७ मा मागी विवाह अन्तर्गत घरेलुका नयाँ बस्त्रमा सजिएर विवाह गरेका युबराज गुरुङ र मन्दरा गुरुङ

शुरुवातकालमा डल्लो मङोलियन अनुहारका उनी अलिक कठोर जस्तै लाग्थे – यो पंक्तिकारलाई ।  उनलाई पंक्तिकारले संपर्क गर्ने चासो पनि  लिएन, त्यसमा आफ्नै बुझाईको पनि कमी रह्यो होला । जनप्रशासनबाट स्नतोकोत्तर गरेका उनी बौद्धिक मान्छे हुन भन्ने कुरा पनि सन २००६ मा एनआरएन को पहिलो अध्यक्ष भए पछी थाहा भयो । “त्यतिबेला आदरणीय रबिन्द्रमान दाइ संस्थापक सँयोजक हुनुहुन्थ्यो र मैले सचिबको रूपमा काम गरेँ र जानकी गुरुङ कोषाध्यक्ष थिए । काठमाण्डु विश्व सम्मेलनबाट दाइ आइ सि सिमा जानु भयो र म २००६ नोभेम्बरको प्रथम अधिबेशनबाट एन आर एन बेल्जियमको प्रथम अध्यक्ष भएँ  । त्यो बेला मिलेर धेरै काम गरियो र एन आर एन बेल्जियममा त्यतिबेला कुनै झिना झम्टी थिएन ।  नेपाल महोत्सबको शुरुवात, युरोपियन एनआरएन बैठकको अबधारणा, खेलकूद लगायत धेरै गतिबिधिहरु त्यतिबेला देखि शुरु गर्यौँ र सफल पनि भयौँ, जसले अद्दावधिक निरन्तरता पाइ रहेको छ ।”

सन २००६ मा एन आर एन बेल्जियमको प्रथम अधिबेशनबाट प्रथम अध्यक्षको रूपमा पदभार ग्रहण गर्दै युबराज गुरुङ तत्कालिन एन आर एन केन्द्रिय अध्यक्ष डा उपेन्द्र महतो द्वारा नव निर्बाचित कार्यसमितिले शपथ लिँदै

सन २००६ मा एन आर एन बेल्जियमको प्रथम अधिबेशनबाट प्रथम अध्यक्षको रूपमा पदभार ग्रहण गर्दै युबराज गुरुङ
तत्कालिन एन आर एन केन्द्रिय अध्यक्ष डा उपेन्द्र महतो द्वारा नव निर्बाचित कार्यसमितिले शपथ लिँदै

स्वभाब र रुझान :

उनले आफुलाई प्रबाशी नेपालीहरुको बिच गज्जबले स्थापित गराइ सकेका छन । हाल एनआरएनए आइ सि सिको बिधान मस्यौदा समितीको उप प्रमुख रहेका गुरुङमा पदिय रवाफ कत्ती पनि देखिदैन । मुलूक प्रतिको कर्तब्य डायस्पोरामा विश्वाशयोग्य रूपले फक्रदै गरेको देख्छन उनले । मुलूकमा भन्दा नेपालको चित्र प्रबाशमा अझ पवित्र र गाढा हुँदै गएको उनको विश्वाश छ ।

उनी सन २०१३ मा एनआरएनएको केन्द्रिय सल्लाहाकार बने पछी उनको जिम्मेवारीले विश्वब्यापी हुने मौका पायो । उनी अब ब्यक्ति मात्र रहेनन । भूमिकाले थप उत्साहित हुँदै उनले भन्दछन –‘सबै नेपालीको विश्वाशले आत्मा विश्वाश र् सँकल्प झन निखारिदै जाँदो रहेछ ।‘ उनले हाँस्दै तर्क गर्छन – ‘आत्माबिश्वासका साथ गरिने  मिहेनत, प्रयास र कर्मलाई समाजले क्रमश मुल्याङ्कन गरी रहेको हुन्छ । शुरुमा बेल्जियम छिर्दा एक किसिमको वाताबरण थियो । त्यही रूपमा समाजका तत्कालिक मुद्दाहरुमा सरिक भैयो । त्यो परिस्थितीले संगठनको आधार बनाइ दियो र त्यही अनुसार अघी बढियो ।‘ पंक्तिकारको अनुभबमा पनि केही अग्रजहरुले त्यो बेला संगठन गर्ने जमर्को नगरेको भए नेपाली समाज यो रूपमा स्थापित र सरलीकृत हुन गार्हो हुन्थ्यो जस्तो लाग्छ ।

उनको स्वभाबबारे समालोचनात्मक टिप्पणी गर्नु पर्दा – उनी कुनै पनि सामाजिक संगठन वा अभियानमा बिचार  नै नगरि लुसुक्क पस्छन, कतै आफुलाई संका लाग्यो भने चुनौती दिँदै बाहिरिन्छन । उनको बिगतका भिबिन्न प्रस्तुतिले देखाउछ कि डायस्पोरिक अभियानहरुमा  हानिकारक  ब्याक्टोरिया देख्ने बित्तिकै सके भित्रै लड्नु नसके बहिरिएर लड्नु उनको धर्म हो । किनकी उनी नेपाली डायस्पोरिक समाजका एन्टिबायोटिक हुन । उनी एन आर एन वा आँफुलाई चासो लाग्ने संघ संगठनमा मज्जाले खेल्छन । उनी नेपालमा रहुन्ज्याल पनि समाजका एक खेलाडी थिए , प्रबासमा पनि रापिला खेलाडी हुन । उनी आफ्नो महत्वकांक्षाको लागि कहिले देखिने गरी खेल्छन,कहिले नदेखिने गरी खेल्छन । उनी नखेली चुप लागेर बस्न जन्मेका खेलाडी हैनन जस्तो लाग्छ उनको गतिबिधीबाट । कतिपयलाई उनको यही बानिबाट आलोचना गर्ने प्रसस्त मसला मिल्दछ । उनका गतिबिधिमा धेरै कमजोरी पनि होलान तर  बिगत फर्केर हेर्दा ‘मुल लक्ष आँफु सन्लग्न संस्थालाई निती र बिधान नियन्त्रित बनाउनु नै हो ‘ भन्ने उनको तर्कलाई अन्यथा मान्न सकिँदैन । पछील्ला दिनहरुमा एनआरएन अभियानको आदर्श र मूल्य मान्यतालाई ओझेलमा पार्दै दलिय राजनीतिक र ब्यापारिक साझेदारिहरुको चल्ती फिर्तीले बढावा पाउदै जानुमा गम्भिर चिन्ता प्रकट गरे उनले ।

“समाज सेवा एक खालको समर्पण हो र सामाजिक भावनाको उत्कर्ष पनि हो ।”  उनले धन कमाएर मात्र समाज सेवा हुन्छ वा गर्न सकिन्छ भन्नेहरुलाई यसरी  झटारो हान्दछन – “आर्थिक अवस्थाले सामाजिक सेवाको निर्धारण गर्दैन । दायित्वबोध समाजसेवाको महत्वपूर्ण पक्ष हो, आर्थिक पाटो त केवल साधन मात्रै हो ।” समाजसेवा बारे उनको आफ्नै परिभाषा छ ।

बेल्जियममा तमु समाजको गठनमा पनि बालेन्द्र तमु,दुर्गा गुरुङ, राम गुरुङ, राम घले, नन्दु घलेजानकी गुरुङ, उनी लगायत अभियानताहरु निर्णयक बनेको कुरा उक्त संस्थाका सबैले स्विकार्छन । जातिय उत्थान र शैक्षिक सवालमा जनजातिको पहुँचको लागि २०५४ सालमै तमु विद्यार्थी छोँज धिँको केन्द्रिय अध्यक्ष भएका उनी दलित र जनजातिको अवस्था अझै देशको मूल प्रबाहमा आउन नसकेको प्रति चिन्ता ब्यक्त गरे।

बि स २०५० ताका बुटवलमा सम्पन्न तमु (गुरुङ) विद्यार्थी छोज धिको राष्ट्रिय सम्मेलनमा युबराज गुरुङ (बायाबाट दोश्रो)) (यस सम्मेलनबाट उनी उपाध्यक्ष भएका थिए र २०५२ मा केन्द्रिय अध्यक्ष भएका थिए

बि स २०५० ताका बुटवलमा सम्पन्न तमु (गुरुङ) विद्यार्थी छोज धिको राष्ट्रिय सम्मेलनमा युबराज गुरुङ (बायाबाट दोश्रो))
यस सम्मेलनबाट उनी उपाध्यक्ष भएका थिए र २०५२ मा केन्द्रिय अध्यक्ष भएका थिए

कपको कफी रित्तिदै थियो, पंक्तिकार ले जातिय संगठन प्रतिको धारणा बारे आफ्नो जिज्ञासा राख्दा उनले मुख खोले – “जातिय समस्या दक्षिण एशियाको मनोबैज्ञानीक समस्या हो । यो चेतनासँग गाँसिएर आउछ । आफ्नो जातिय संस्कृति, धार्मिक सम्प्रदायका मौलिकताहरु राज्यले सँरक्षण गर्नु पर्ने हो, तर राज्य हिजो देखि नै यो बिषयमा बिभेद्कारी देखिँदै आएको छ । नागरिकबाट उठाईएका मुद्दाहरु कतिपय जायज छन तर एउटा कुरामा हामी सचेत हुनु पर्दछ कि यो समस्या कुण्ठा र आक्रोशबाट मात्रै हल हुँदैन । यसको समाधानको लागि सद्भाव नबिथोलिने गरी राज्यलाई दवाद दिई रहनु पर्दछ ।”

मन पर्ने पुस्तक बारे – ओम सेकेन्डरी स्कूल भक्तपूरमा पढाउने बेलामा पढेको ‘कल्याणी धरती’ नामक पुस्तकले उनको मानसपटलमा राम्रै प्रभाब छोडेको रहेछ । मेक्सिम गोर्कीको ‘आमा’बाट त झनै  प्रभावित भएको उनले बताए ।  शन्देश मूलक र प्रगतिबादी साहित्यिक रचनाहरुमा उनको बिशेष रूची रहेको सुनाए ।

अबको सपना :

सपनाको कुरा गर्दा बेल्जियम बसुन्जेल ढुकुटी प्रथाको बिकल्पमा एउटा  सहकारि ब्यबसाय शुरु गर्ने धोको अहिले सम्म पूरा हुन सकेको छैन । कानून नियन्त्रित सहकारि ब्यवसाय मार्फत धेरै नेपालीहरु लाभान्वित हुने उनी विश्वाश गर्दछन । उनी सँग नयाँ अबधारणा र नयाँ योजना ल्याउने कला र जाँगर पनि छ । नयाँ ब्यवसायको कुरा गर्दा उनी हौसिएर  चासो लिने गर्छन् । नेपाली खाना चिनाउन आफु बसेको शहरमा पहिलो पटक ‘यती हाउस’ रेष्टुरेन्ट खोले । सन्स्कृतिलाई चिनाउन नेपाल महोत्सबको शुरुवात गरे । साँस्कृतिक भवनको पनि अबधारणा ल्याउन कस्सिए ।  योजना बनाउछन तर सोचे जस्तो साथ पाउदैनन । किन भनेर प्रश्न गर्दा झोक्किदै भन्छन – ” प्रयासहरु पूर्ण सफल नहुनु सपनाको अन्त्य हैन गुरु ! अब धेरै बिदेश बस्ने रहर पनि छैन । बसुन्जेल जहाँ बसिन्छ – त्यो बारेमा सके जति सोच्ने र गर्ने न हो ।”

सन २०१३ मा एसेण्टा मेला बेल्जियममा नेपाल महोत्सबको र्यालिमा नेत्रित्व गर्दै युबराज गुरुङ

सन २०१३ मा एसेण्टा मेला बेल्जियममा नेपाल महोत्सबको र्यालिमा नेत्रित्व गर्दै युबराज गुरुङ

भर्खर १० अक्टोबरका दिन दशै मनाउन नेपाल गएका मिलनसार मित्र कमल घिमिरेको असमायिक निधनले मर्माहत हुँदै उनले बिस्मात ब्यक्त गरे – ” सोँच्छु जिन्दगीको के पो भर छ र ! बाँचुन्जेल प्रयास गर्दै जाने हो । पछीको लागि नेपाल बाहेक मैले केही सोचेको छैन ।“ केही बेरको मौनता पछी चिन्तित देखिदै कविवर सिद्धी चरण श्रेष्ठका निम्न हरफहरु गुन गुनाउन थाले ।

‘भाग्य लहरमा लहरी लहरी

पुँगे म यस् मरूस्थलमा कसरी ?

तर खेद छैन तिम्रो आक्रिति

लेखिएको छ यो हृदय भरी ।‘

पंक्तिकारले गौर गरेर उनको अनुहारमा हेर्यो । उनका आँखाका नानी भित्र क्रिडाभूमिको चित्र उज्यालिदै चम्की रहेको थियो । उनका आँखाका तल्ला परेली भित्रबाट प्रबाशिनुको पिडाको रापमा केही चिज नौनी पग्लिए झैँ देखिन्थ्यो । (घटना बिचार साप्ताहिकबाट सभार )

Share.

Leave A Reply