१३ वैशाख २०८१

चाँडै नेपालको भ्रमण गर्छुः राष्ट्रपति शी

0

चिनियाँ राष्ट्रपति शी जिन पिङले सहज हुने गरी छिट्टै नेपालको भ्रमण गर्न तयार रहेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डसँग शनिबार भारतको गोवामा भएको भेटवार्तामा उनले त्यस्तो वचन दिएको परराष्ट्रमन्त्रीले बताए।

भेटवार्तामा पूर्वाधार, सञ्चार, व्यापार र पारवहन लगायतका क्षेत्रको विकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको नेपाली अधिकारीहरुले बताएका छन्।

उदाँउदो अर्थतन्त्र भएका ५ मुलुकहरुको समूह ब्रिक्सको सम्मेलनमा भाग लिन भारतको गोवा पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति शीबीच शनिबार भेटवार्ता भएको हो।

वचन

भेटमा राष्ट्रपति शीलाई नेपाल भ्रमणका लागि प्रधानमन्त्री प्रचण्डले निम्तो दिएका थिए।

जवाफमा राष्ट्रपति शीले छिट्टै नेपाल भ्रमण गर्ने वचन दिएको भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताए।

उनले भने, “अत्यन्त सौहाद्रपूर्ण वार्ता भयो। हाम्रा प्रधानमन्त्रीले यसै वर्ष चिनियाँ राष्ट्रपतिलाई नेपालको भ्रमण गर्नका लागि निम्तो दिनुभयो र चिनियाँ राष्ट्रपतिले म चाँडोभन्दा चाँडो नेपाल भ्रमण गर्छु भन्नुभयो।”

यसअघि दूतका रुपमा चीन गएका उपप्रधानमन्त्री कृष्णबहादुर महराले समेत शीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका थिए।

ब्रिक्स सम्मेलनमै भाग लिन जाँदा राष्ट्रपति शीले नेपालको भ्रमण गर्ने भनिएकोमा हुन सकेको थिएन।

जसको कारणबारे हालसम्म दुवै देशका अधिकारीले केही बताएका छैनन्।

समाधान

शनिबारको भेटवार्तामा द्वीपक्षीय सहयोगका बारेमा पनि कुरा भएको परराष्ट्रमन्त्री महतले बताए।

उनले भने, “अरु पनि सहयोग नेपाललाई कसरी गर्न सकिन्छ त्यसका लागि तयार छौं भन्नुभयो र पहिले भएका समझदारीलाई अगाडि बढाउने, साप्रुबेसी, कोदारी जस्ता नाकालाई बनाउने काम पनि चाँडै अगाडि बढाउँछु भन्नुभएको छ।”

शनिबार नै प्रधानमन्त्री प्रचण्डले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका थिए।

भेटमा भुटानी शरणार्थी समस्या चाँडै समाधान गर्ने वातावरण बनाउन प्रधानमन्त्री तोब्बेलाई आग्रह गरिएको बताइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री प्रचण्डको स्वागत गर्दै नेपालीमै ‘उनको भ्रमणले भारत-नेपाल सम्बन्ध अझ मज़बुत बनाउनेछ’ भनी लेखेका छन्।

परराष्ट्रमन्त्री महतका अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार भारतीय समकक्षी मोदीसँग द्वीपक्षीय वार्ता गर्नेछन्।

यसपटकको भेटघाटमा अन्योलमा परेको जस्तो देखिएको सार्क सम्मेलनका बारेमा समेत कुरा हुने बताइएको छ।

-बिबिसि नेपाली

Share.

Leave A Reply