१६ चैत २०८०

चितवनमा १६ बर्ष पछि फेरी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल “विकास रनिङ शिल्ड – २०७३”

0

पुष्प कुमार श्रेष्ठ, नारायणगढ, चितवन। नेपालमा विभिन्न कालखण्डमा फुटबल प्रतियोगिताहरु आयोजित भईरहेका थिए र छन् । तिनै फुटबल प्रतियोगिताहरु मध्येको एक नारायणगढको क्याम्पा चौरमा विक्रम संवत २०३१ सालदेखि आयोजना गर्न थालिएको राष्ट्रिय स्तरको विकास शिल्ड फुटबल प्रतियोगिता पनि एक हो । विक्रम संवत २०५७ सम्म निरन्तर आयोजना भएता पनि त्यस पश्चात १६ बर्षसम्म उक्त्त प्रतियोगिता सञ्चालन हुन सकेन । २०५७ सालमा एघारौं संस्करण सम्पन्न गरेपछि यस प्रतियोगिताको बाह्रौं संस्करणका लागि चितवनबासीहरुले १६ बर्ष प्रतिक्षा गर्नु पर्यो । उल्लेखित समयाबधिमा उक्त्त प्रतियोगिता किन सम्पन्न हुन सकेन, त्यसका विविध कारणहरु होलान ।  तर हालै पुर्नगठित विकास शिल्ड समितिले यस प्रतियोगितालाई निरन्तरता दिने सोंचका साथ यस पटकको प्रतियोगिताका लागि सम्पुर्ण तयारी पुरा गरेको छ । यहि २०१६ अक्टोबर १७ देखि ३० तारीखसम्म आयोजना हुने यस प्रतियोगिताले चितवनबासी खेल एवं फुटबलप्रेमीहरुमा उत्साह र खुसीको तरंग पैदा गरेको छ । अन्तर्राष्ट्रिय स्तरको कद र छबि बोकेको यस प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न अवश्य पनि चुनौतिहरु छन्, तर सामना गर्न एक भएर लागेका छन् चितवनबासीहरु ।

पूर्व विजेताहरु र यसपालीका सहभागी टिमहरु

विकास शिल्डको स्थापना कालदेखि विक्रम संवत २०५७ सम्म आईपुग्दा विकास शिल्ड एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका रुपमा स्थापित भैसकेको थियो । ति प्रतियोगिताहरुमा नेपालका लगभग सबै राष्ट्रिय स्तरका टिमहरु र भारतका फुटबल टिमहरुको पनि सहभागिता रहेने गरेको थियो । १६ बर्षको प्रतिक्षा पश्चात आयोजना हुने प्रतियोगिताको पूर्वसन्धामा विगतका विजेताहरुको चर्चा हुन थालेको छ । विकास शिल्डको पहिलो पटक विक्रम संवत २०३१ सालमा सम्पन्न प्रतियोगितामा शारदानगर फुटबल टिमले जित हासिल गरेको थियो भने  २०३२ सालमा सुनाखरी फुटबल क्लब काठमाण्डौं, २०३६ सालमा पाल्पा-११ विजयि भएका थिए । यसबीचमा जनकपुर चुरोट कारखानाको फुटबल टिम र चितवनको नारायणी फुटबल मण्डलले उक्त्त प्रतियोगिता २ – २ पटक जित्न सफल भए । विक्रम संवत २०५७ सालमा शाहि औषधि लिमिटेडकोफाईनल खेल चितवनबासी खेलप्रमीहरुले अझैपनि सम्झने गरेको पाईन्छ । त्यस बर्ष शाहि औषधि लिमिटेडको फुटबल टिमले विजय हासिल गरेको थियो ।

विकास शिल्ड – २०७३ प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुने खबरले खेलप्रमीहरु उत्साहित बनेका छन् । यस पटको प्रतियोगितामा नेपालका “ए स्तर” का फुटबल टिमहरु, विभिन्न विभागिय फुटबल टिमहरु र भारतबाट चार वटा टिमहरु सहित १४ वटा टिमहरुको सहभागिता रहने भएको छ(कृपया खेल तालिका हेर्नुहोस्) । खेलप्रेमी एवं विश्लेषकहरुले यस प्रतियोगिताका खेलहरु रोमान्चक एवं प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

bikash-2073-1

हरियो समथर क्याम्पा चौर

विकास शिल्ड रनिङ फुटबल प्रतियोगितासंग चितवनबासीहरुको भावनात्मक सम्बन्ध रहेको छ ।  त्यसैले त चितवन एवं नारायणगढबासीहरुले यसका लागि सक्दो मिहिनेत गरे । कैयन खेलकुद प्रतियोगिताहरु आयोजित हुँदा नाङ्गो र विरक्त देखिने क्याम्पा चौर यसपाली पूर्णरुपमा समथर र हरियो बनेको छ । क्याम्पा चौरलाई यसरुपमा विकसित गर्न विकास समिति, उप-समितिहरु र अन्य धेरैले पसिना बगाएका छन् । यस प्रतियोगिताको ईतिहासमा नै प्रथम पटक दर्शकहरुको सुविधाका लागि खेल मैदानको वरिपरि ३००० व्यक्त्ति क्षमताको प्याराफिट बनाईएको छ । मैदान ब्यवस्थापन उप-समितिका संयोजक श्री शान्त कुमार पिया भन्नु हुन्छ, “यसपाली वास्तव मै अन्तर्राष्ट्रिय स्तरको फुटबलको  अनुभव गर्न पाउने छन् खेलप्रेमी दर्शकहरुले” । त्यसैगरी विकास शिल्ड समिति एवं मूल आयोजन समितिका संयोजक श्री श्याम कुमार पिया प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनेमा विश्वस्त हुनुहुन्छ । मूल समिति संयोजक पिया भन्नुहुन्छ, “हामीले कार्य विभाजन गरी उप-समितिहरु गठन गरेका छौं । सबै उप-समितिहरु एवं चितवनबासीहरुको सहयोग प्राप्त भइरहेको छ । अब विकास शिल्डले निरन्तराता प्राप्त गर्ने छ” ।

puspa-kumar

निष्कर्ष

सबैको साथ र सहयोगले मात्र यस प्रकारको प्रतियोगिताले सफलता र निरन्तराता प्राप्त गर्न सक्दछ । विकास शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता – २०७३ लाई पनि सबै खेलप्रमीहरुको साथ र सहयोगको आवश्यकता छ । यस प्रतियोगिताको प्रसार-प्रसारमा नेपालका साथै डायास्पोरिक मिडियाले पनि महत्वपूर्ण भुमिका खेल्न सक्ने देखिन्छ । त्यसैगरी प्रतियोगिताका लागि प्रबासी नेपालीहरुको सहयोग र समर्थन जुट्न सके विद्धयमान चुनौतिहरुको समाधान गर्न सहज हुन सक्ने देखिन्छ । अगामी बर्षदेखि प्रबासी नेपालीहरुसंग पनि सहकार्य हुन सकोस् । विकास शिल्डको सफलता र निरन्तरताले नेपालमा फुटबल खेलको विकासमा टेवा पु-याउँदै चितवन र नेपालकै प्रतिष्ठा बृढि गर्नेमा दुई मत नहोला । सबै मिली विकास शिल्ड फुटबल प्रतियोगिता- २०७३ लाई सफल पारौं ।

(लेखक विकास शिल्ड फुटबल प्रतियोगिता – २०७३ को मैदान ब्यवस्थापन उप-समितिका सचिव हुन् ।)

Share.

Leave A Reply