०८ वैशाख २०८१

उत्तर कोरियाद्वारा अमेरिकालाई चुनौति दिँदै पाँचौं परमाणु बम परिक्षण

0

सोल, २४ भदौ । उत्तर कोरियाले गरेको पाँचौं पारमाणविक बम परिक्षणको कडा शब्दमा दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हाईले निन्दा गर्नु भएको राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको छ । राष्ट्रपति पार्क हाल लाओसको औपचारिक भ्रमणमा हुनुहुन्छ ।

लाओसको राजधानी भिएनटिएनमा पूर्वी एसियाली राष्ट्रहरुको शिखर सम्मेलन (इएएस) मा भाग लिने क्रममा त्यहाँ रहनु भएकी पार्कले यसै वर्ष भित्र उत्तर कोरियाले गरेको यो दोस्रो पटकको पारमाणविक बम परिक्षण भएको बताउनु भएको छ ।

यसअघि गत जनवरीमा पनि उत्तर कोरियाले यस्तै परिक्षण गरेको र संख्याका हिसाबले त्यस परीक्षण चौथो पटकको थियो । उत्तर कोरियाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदका संकल्प प्रस्तावको बारम्बार अवहेलना र उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय जगतलाई सशक्त चुनौति दिइ रहेको पनि राष्ट्रपति पार्कले आरोप लगाउनु भयो ।

उत्तर कोरियाले पुङग्येरी स्थित आफ्नो प्रमुख परीक्षण केन्द्रबाट शुक्रबार बिहान गरेको पारमाणविक शक्ति परीक्षण पाँचौं पटकको भएको दाबी गरिएको छ ।

सोलको सैनिक स्रोतका अनुसार यस परीक्षणको क्रममा पुङग्येरी क्षेत्र वरीपरी टाढासम्म ५.० रिक्टर स्केलको कृत्रिम भूकम्पको महसूस गरिएको थियो ।

उत्तर कोरियाले गरेको यस पारमाणविक परिक्षणले ल्याएको ५.० रिक्टर स्केलको कम्पनले १० हजार टन सम्मको विस्फोटन शक्ति उत्पन्न गर्ने दाबी दक्षिण कोरियाले गरेको छ ।

यसअघि चौथो पटकमा गरिएको परीक्षणमा ६ हजार टन सम्मको विस्फोटन शक्ति उत्पन्न भएको अनुमान गरिएको थियो ।

यस परमाणु बम परीक्षणपछि उत्तर कोरियामाथि द्विपक्षीय र बहूपक्षीय थप कडा प्रतिवन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायको सहयोगमा संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषदसँग आफ्नो सरकारले जोडदार आग्रह गर्ने राष्ट्रपति गेयुनले बताउनु भएको छ ।

संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषद तथा विश्वका शक्तिशाली राष्ट्रहरुले दवाव बढाएमा प्योङगयाङगले आफ्ना आणविक उत्पादन तथा परीक्षण त्याग गर्न बाध्य हुने विश्वास राष्ट्रपति गेयुनले लिनु भएको छ ।

यता उत्तर कोरियाले भने शुक्रबार गरेको परमाणु परीक्षणको पुष्टि गरेको छैन ।

उत्तर कोरियाले यसअघि सन् २००६, २००९, २०१३ र यसै बर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परिक्षण गरिसकेको छ ।

उत्तर कोरियाले गत सोमबार पनि आफ्नो पूर्वी सामुन्द्रिक तट बाहिर तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको थियो ।

उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट जापानी सागर (सि अफ जापान)मा लगातार उक्त तीनवटै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताले बताएका थिए ।

दुई हप्ता जति अघि अर्थात् अगस्ट २४ का दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५०० किलो मिटर प्रहार क्षमता दूरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो ।

गत सोमबार पनि जी–२० राष्ट्रहरुको शिखर सम्मेलन जारी रहेकै बखत् फुर्सदको समयमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाइ र चीनका राष्ट्रपति सि जिनपिङ्गका बीच भेटघाट र अनौपचारिक छलफल भएको केही घन्टामै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्नुभनेको आफ्ना छिमेकी मुलुकलाई तर्साउन सकिन्छ कि भन्ने कुनियत प्रदर्शन गर्नु हो दक्षिण कोरियाको दाबी रहेको थियो । रासस÷सिन्ह्वा÷एएफपी

Share.

Leave A Reply