१३ वैशाख २०८१

एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन सम्पन्न, घोषणापत्र जारी

0

न्यूजर्सी, संयुक्त राज्य अमेरिका । गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८, २०१६ (भाद्र ११ र १२ २०७३)मा अमेरिकाको न्युजर्सी शहरमा सम्पन्न भएको छ ।

“भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड” भन्ने मुख्य विषय रहेको सम्मेलनको उद्घाटन पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङले गर्नु भएको थियो । 

गैरआवासीय नेपाली संघका पदाधिकारी तथा २५ देशका ५०० भन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा भएको यस सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

सम्मेलनमा मुख्यत: गैरआवासीय नेपाली संघको आगामी नीति तथा संस्थागत संरचनाका बिषयमा अध्यक्ष शेष घलेले पेश गर्नुभएको प्रस्ताव माथि छलफल भयो ।

एनआरएनएको संस्थागत क्षमता अभिबृद्धि गरी नेपाल र नेपाली समुदायको अपेक्षालाई परिपूर्ती गर्नेगरी संरचना तयार गर्ने, दोस्रो पुस्ताका एनआरएनलाई संस्थामा सहभागी बनाउने र परोपकारी कामका लागि बेग्लै एनआरएन फाउण्डेसन स्थापना गर्ने नयां नीतिमा प्रस्ताव गरिएको छ ।

सम्मेलनले सो प्रस्ताव प्रति सहमति प्रदान गर्दै गैरआवासीय नेपालीहरुको सुझाव र प्रतिक्रिया लिएर कार्यन्वयनको प्रकृयामा लैजान अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई जिम्मा दिएको छ । 

सम्मेलनमा पुन:निर्माण, गैरआवासीय नेपाली संघको भवन निर्माण, गैरआवासीय नेपाली नागरिकता, बैदेशिक रोजगार, महिला, पर्यटन प्रर्बद्धन लगायतका बिषयमा गहन छलफल भएको छ । ती छलफलबाट प्राप्त निष्कर्षहरुलाई समावेश गर्दै सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ । 

घोषणापत्रको पूर्ण पाठ:

गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलनद्वारा जारी

न्युजर्सी घोषणापत्र २०१६

गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८, २०१६ (भाद्र ११ र १२ २०७३)मा अमेरिकाको न्युजर्सी शहरमा भब्य रुपमा सम्पन्न भयो । “भिजन ट्वान्टी ट्वान्टी  एण्ड बियोण्ड” भन्ने मुख्य विषय रहेको सम्मेलनको उद्घाटनमा प्रमुख अतिथिको रुपमा पूर्व सभामुख माननीय सुवास चन्द्र नेम्वांगको उपस्थिति रह्यो । त्यस्तै अतिथिको रुपमा माननीय सदस्यहरु महेन्द्र यादव, मोहन बराल, न्युजर्सीका कंग्रेसमेन डोनाल्ड पेन जुनियर, अमेरिकाकालागि नेपाली राजदुत डा. अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य, कानून मन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि डा. दुर्गा प्रसाद भट्टराई, उद्योगपति बिनोद चौधरी, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य चन्द्र ढकाल लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली संघका पदाधिकारी तथा २५ देशका ५०० भन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा भएको यस सम्मेलनमा व्यक्त बिभिन्न बिचारहरुलाई सम्मान गर्दै यो सम्मेलन निम्न प्रतिवद्धता सहितको ‘न्युजर्सी घोषणा पत्र’ जारी गर्दछ । 

१. देशको समृद्धि हाम्रो चाहना हो । राजनीतिक स्थिरता त्यसको पहिलो आधार हो । त्यसैले यो सम्मेलन सबै पक्षको सहमतीमा संविधान कार्यान्वयन गर्दै देशलाई स्थायित्व प्रदान गर्न  सम्पूर्ण दलहरुलाई आग्रह गर्दछ । साथै, संविधान कार्यान्वयनको क्रममा बन्ने नागरिकता लगायतका ऐनहरुमा गैरआवासीय नेपालीहरुको भावना र मर्म समेट्न पनि यो सम्मेलन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ । 

२. भुकम्प प्रभावितहरुको लागि घर निर्माण गर्ने प्रतिवद्धता अनुसार गोर्खाको लाप्राकमा नमूना बस्ती निर्माण गर्ने निष्कर्ष सहित सोही ठाउंमा नै सम्माननीय राष्ट्रपति बिद्यादेवि भण्डारीज्युको उपस्थितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारी पत्रमा हस्ताक्षर भएको प्रति यो सम्मेलन खुसी ब्यक्त गर्दछ । साथै संघले बस्ती निर्माणको लागि प्राविधिक कार्य अगाडि बढाईसकेको अवस्थामा लाभग्राहिले पाउने जग्गा लगायतका सरकारी पक्षबाट गरिदिनु पर्ने कार्य तत्काल पुरा गरिदिन यो सम्मेलन सम्बन्धित निकायको ध्यानाकर्षण गराउंदछ ।

३. गैरआवासीय नेपाली संघले लामो समय देखि भन्दै आएको र सरोकारको बिषय रहेको खुल्ला बिश्वबिद्यालय ऐन संसदबाट पारित भएकोमा सम्बन्धित समिति लगायत सिंगो ब्यवस्थापिका संसद प्रति हार्दिक आभार प्रकट गर्दछ ।

४. गैरआवासीय नेपाली संघलाई नेपालको आर्थिक तथा सामाजिक विकासको साझेदार बनाउने संघको सातौ बिश्व सम्मेलनको घोषणापत्रको बुंदा नम्बर दुईको निर्णयलाई कार्यान्वयन गर्न यो सम्मेलनमा ‘भिजन २०२० एण्ड बियोण्ड’ अबधारणा प्रस्तुत गरियो । प्रस्तुत अबधारणा माथि भएको छलफलका क्रममा प्राप्त भएका र पछि प्राप्त हुने सुझावहरुलाई समेट्दै यो अवधारणालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसी)लाई जिम्मा दिने यो सम्मेलन निर्णय गर्दछ ।

५. नेपालको उद्यमशिलता बिकास तथा ब्यापार व्यवसाय प्रबर्द्धनको लागि सम्बन्धित मुलुकहरुको दुतावाससंग समन्वय गर्दै दोहोरो कर मिनाहाको लागि पहल गर्न यो सम्मेलन नेपाल सरकारसंग आग्रह गर्दछ ।

६. नेपालको पर्यटन प्रवर्धनमा गैरआवासीय नेपालीहरुको विशेष भूमिका रहनु पर्दछ भन्ने कुरा आत्मसात गर्दै पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रमहरु हरेक देशमा गर्ने र नेपालको पर्यटन बिकासमा एनआरएनएलाई खुलेर सहयोग गर्न यो सम्मेलन प्रतिवद्धता जाहेर गर्दछ । 

७. नेपाल सरकारको सेवालाई बैदेशिक रोजगारमा रहेका कामदारहरूसम्म सहज पार्न, लेबनान र इराकमा सरकारी उपस्थिति तथा साउदी, युएई जस्ता मुलुकहरूमा नियोगको बिस्तार तथा आवश्यक कानूनी सेवा समेत प्रदान गर्नेगरी क्षमता अभिबृद्धि गर्न र बैदेशिक रोजगारमा न्याय, उद्धार र क्षतिपूर्तिका लागि कानूनले निर्दिष्ट गरेका पक्षहरूलाई जिम्मेवार बनाउन नेपाल सरकारसंग यो सम्मेलन माग गर्दछ ।  साथै यो सम्मेलन, बैदेशिक रोजगार नीतिनिर्माण गर्दा गैरआवासीय नेपाली संघको उचित प्रतिनिधित्व गर्दै पीडित कामदार तथा घरेलु महिलाहरूको तत्काल उद्धार गर्न साधन स्रोत सहितको द्रुत उद्धार संयन्त्रको निर्माण गर्न पनि माग गर्दछ । 

८. स्वदेशमा लगानी बढाई रोजगारका अवसरहरू अभिबृद्धि गर्दै बैदेशिक रोजगारमा गएकाहरुको  पुनर्स्थापना एवं सामाजिक सुरक्षा, संचय कोष र बिमा प्राप्तिको लागि नेपाल सरकारसंग यो सम्मेलन अनुरोध गर्दछ ।

९. बिदेशमा जन्मिएका नेपाली एकल महिलाका सन्तान नागरिकता बिहीन भएको हुंदा त्यस्ता नावालकहरुलाई नागरिकता तथा ट्राभल डकुमेन्ट प्रदान गर्नका लागि उपयुक्त कानुन निर्माण गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ । 

१०. गैरआवासीय नेपालीको उल्लेख्य संख्या बढेका देशमा नेपाली दुताबास स्थापना गर्न नेपाल सरकारसंग यो सम्मेलन माग गर्दछ । साथै त्यस्ता देशका दुताबास नेपालमा स्थापना गर्न पनि यो सम्मेलन आवस्यक ठान्दै उचित पहलका लागि आग्रह गर्दछ ।

११. बिदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई गैरआवासीय नेपालीसंघमा समावेश गर्दै स्वदेशमा संचालन भइरहेका युवा सम्बन्धी कार्यक्रमहरुमा सहभागिता गराउादै जान यो सम्मेलन प्रतिवद्धता जाहेर गर्दछ ।

image36  

Share.

Leave A Reply