१६ चैत २०८०

एनआरएनले थालेको पुनःनिर्माण उदाहरणीय हुनेमा बिश्वस्त छु, प्रधानमन्त्री दाहाल

0

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय  नेपाली संघले लाप्राकमा बनाउन लागेको नमुना वस्ती नेपालको पुनःनिर्माण अभियानका लागि उदाहरणीय र अनुकरणीय हुने विश्वास ब्यक्त गर्नुभएको छ ।
संघका अध्यक्ष शेष घलेसँगको भेटमा प्रधानमन्त्री दाहालले भूकम्पका बेला प्रभावकारी राहत बितरण कार्यबाटै एनआरएनको क्षमता प्रष्ट भएको भन्दै पुनःनिर्माण अभियान पनि त्यस्तै अनुकरणीय हुने बिश्वास ब्यक्त गर्नुभयो ।

सो अबसरमा उहाँले पुनःनिर्माण अभियानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै यस क्रममा देखिएका गतिरोधलाई अन्त्य गरी एनआरएन जस्तो निस्वार्थ भावनाबाट सहयोग गर्न खोज्ने संस्थालाई मद्दत गर्न सरकार तयार रहेको वताउनु भयो ।
सो अबसरमा अध्यक्ष घलेले संघले लाप्राकमा निर्माण गर्न लागेको नमूना बस्तीको अवधारणा प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै यसको कार्यान्वयन त्रिपक्षिय सम्झौता मुताविक गर्न संघ कटिवद्ध रहेको र गुरुयोजना बनाउने काम भई रहेको जानकारी गराउनु भयो ।
भेटमा अध्यक्ष घलेले दाहाललाई प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा बधाइ दिँदै उहाँको नेतृत्वमा राष्ट्रले पुनःनिर्माणमा गति पाउने र संविधान कार्यान्वयनको मार्ग प्रशस्त भई मुलुक क्रमशः स्थायित्व र आर्थिक सम्बृद्धितर्फ उन्मुख हुनेमा संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरु आशावादी रहेको बतथाउनुभयो ।
अध्यक्ष घलेले सदा झै नेपाल सरकारसँग हातेमालो गरेर अगाडी बढ्न गैरआवासीय नेपाली तत्पर र अग्रसर रहेको बताउनुभयो । भुकम्प, नाकाबन्दी र लामो समयको राजनीतिक आन्दोलनका कारण जोखिममा रहेको मुलुकको अर्थव्यवस्था सुदृढ गर्नु र मुलुकलाई सम्बृद्धिको दिशातर्फ अग्रसर बनाउनु मुख्य चुनौती रहेको उहाँले औल्याउनुभयो ।

यसैवीच राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संघसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नै लाप्राक पुनःनिर्माण अगाडी बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
संघका अध्यक्ष शेष घलेसँगको हालैको भेटमा सीइओ ज्ञवालीले अन्य गैरसरकारी संस्थालाई जस्तै एनआरएनलाई पनि रकम सेवाग्राहीको खातामा जम्मा गर्न लगाउने बिषयमा छलफल भए पनि सम्झौताअनुसार काम गर्न प्राधिकरण तयार रहेको बताउनुभएको हो ।
गैरआवासीय नेपाली संघको अगुवाईमा लाप्राकमा ६ सय बढी घर भएको नमुना वस्ती बनाउन भएको सम्झौताअनुसार संघले हाल त्यसको गुरुयोजना निर्माण गरिरहेको छ । तर, हालै जिल्लास्थित अधिकारीहरुले गैरआवासीय नेपाली संघलाई सेवाग्राहीको खातामा रकम जम्मा गर्न ताकेता गरेपछि संघले पुनःनिर्माणको पूर्वनिर्धारित ढाँचामा परिवर्तन भएकोबारे प्राधिकरणसँग जवाफ माग गरेको थियो ।
जवाफमा सीइओ ज्ञवालीले गुरुयोजना निर्माण भएपछि सेवाग्राहीको नाममा जग्गाको स्वामित्व दिने कार्य सुरु हुने र त्यसलगत्तै एनआरएनले निर्माण कार्य सुरु गर्न सक्ने बताउनुभयो । उहा “ले संघको तर्फबाट गुरुयोजना पेश गर्दा योजनाको कार्यनीति, प्रकृयागत कार्यविधि र समय तालिका सहित पेश गर्न अनुरोध गर्नु भयो ।
अध्यक्ष घलेले संघले नमूना बस्तीको लागि आवश्यक अन्य बस्तुहरुको बन्दोबस्तीको लागि बिभिन्न संस्थाहरुसँग समन्वय गरिरहेको जानकारी दिनुभयो ।
लाभग्राहिहरुको सहकारी खडा गरी त्यही सहकारीमार्फत पुनर्निर्माण सामुदायिक समिति बनाई  निर्माण कार्य संचालन गर्ने तथा यस समितिलाई गैरअवासीय नेपाली संघका स्वयमसेवकहरुले सहयोग गर्ने प्रारभिक योजना रहेकोसमेत जानकारी दिनुभयो ।

Share.

Leave A Reply