१५ चैत २०८०

द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन निर्देशन

0

काठमाडौँ, ८ असार । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा गत असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले नेपाली सवार बसमाथि भएको आक्रमणमा मृत्यु हुनेहरुलाई हार्दिक श्रद्धाजलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

उक्त आपराधिक आतकङ्कारी घटनाको भत्र्सना गर्दै बैठकले खेद प्रस्ताव पारित गरेको छ ।

बैठकले मृत्यु भएकाहरुको शव तत्काल नेपाल ल्याउन हवाईजहाज पठाएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्दै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ ।

अफगानिस्तानलगायत द्वन्द्वग्रस्त मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन बैठकले सरकारलाई निर्देशन दिएको छ ।

श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न र श्रम स्वीकृति नलिइ अफगानिस्तानलगायतका मुलुकमा गैरकानुनीरुपमा कामदार पठाउने वा पठाउनमा संलग्न म्यानपावर कम्पनी, तस्कर, दलाल र कन्सल्टेन्सीलाई कडा कारबाही गर्न सरकार र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले भारतलगायत अन्य देशका विमानस्थल प्रयोग गरी गैरकानुनी रुपमा तेस्रो मुलुक जाने नेपालीलाई सम्बन्धित देशका सरकारसँग प्रभावकारी कुटनीतिक पहल गरी रोक्न परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा बोल्ने सांसदहरुले द्वन्द्वग्रस्तमुलुक अफगानिस्तानमा रोजगारीका लागि खुला गर्ने सरकारी निर्णयकै कारण अहिलको दुःखद घटना भएको टिप्पणी गरे ।

उनीहरुले मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ति परिवारलाई रोजगारी तथा छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्ने, द्वन्द्वग्रस्त मुलुकमा रोजगारीका लागि बन्द गरिनुपर्ने, त्यहाँ रहेका नेपालीहरुको उद्धार गर्नुपर्ने, अवैधानिक बाटोबाट पठाउने संस्था र व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने, म्यानपावरको सङ्ख्या घटाउनुपर्नेलगायतका सुझाव दिएका थिए ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले घटनामा १२ नेपालीको मत्यु सात घाइते भएको तथा तीमध्ये एक नेपालीको अवस्था चिन्ताजनक रहेको जानकारी दिनुभयो ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले आर्थिक वर्ष २०६२÷६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीका लागि खुला गरिएयता पनि हालसम्म वैधानिक ढङ्गबाट आठ हजार ६१४ जना नेपाली रोजगारीका लागि वैधानिक ढङ्गबाट अफगानिस्तान गएको जानकारी दिनुभयो । रासस

Share.

Leave A Reply