१२ वैशाख २०८१

‘चीनबाट जहाज ल्याउनेबारे निर्णय छिट्टै’

0

नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार नेपालका लागि तयार पारिएका चारवटा हवाईजहाज ल्याउने विषयमा मन्त्रिपरिषद्ले छिट्टै निर्णय गर्ने एकजना मन्त्रीले बताएका छन्।

जहाज ल्याउने विषयमा मन्त्रिपरिषद्का अधिकांश सदस्यहरु सकारात्मक रहेको र आफूहरु प्राविधिक विषयमा जहाज निर्माण कम्पनीको लिखित प्रतिवद्धताको पर्खाइमा रहेको नागरिक उड्डयनमन्त्रीले बताए।

अनुदानका दुईवटा जहाज ल्याएर प्रयोग गरिरहेको सरकारले खरिद गर्ने भनिएका जहाजको ६० प्रतिशत रकम भुक्तानी गरिसकेको छ।

सम्झौता बमोजिमको जहाज निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले जहाज तयार भएको भन्दै करिब १ वर्ष अघिदेखि नै नेपाली पक्षलाई लिन आउन भनिरहेको अधिकारीहरुले बताएका छन्।

अडान

अनुदानमा दुईवटा जहाज ल्याएर हाल प्रयोग गरिरहेको नेपाल वायुसेवा निगमले भने प्रविधिक सुधार नभएसम्म थप जहाज ल्याउन नहुने अडान राखिरहेको छ।

जसका कारण त्यसबारेमा निर्णय गर्नुपर्ने अधिकारीहरु अन्योलमा परेको बताइन्छ।

मन्त्रालयस्तरमा निर्णय गर्न नसकेपछि निर्माण गरिएका जहाजको अध्ययन गरेर प्राविधिक समितिको प्रतिवेदनसहित निर्णयका लागि मन्त्रिपरिषद्मा पठाइको करिब ३ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पनि कुनै निर्णय गर्न सकेको छैन।

तर अब त्यसबारे छिट्टै निर्णय हुने नागरिक उड्डयनमन्त्री आनन्द पोख्रेलले बताए।

उनले भने, “जहाज ल्याउने विषयमा सरकार सकारात्मक छ दुविधा छैन अब आउँदो मन्त्रिपरिषद्को बैठकमा निर्णय हुन्छ।”

हाल प्रयोगमा ल्याएका जहाजहरु सम्झौतामा उल्लेख भएको भन्दा कम भारक्षमताका भएको, मर्मतका लागि कम्पनीले समयमा पाटपूर्जा उपलब्ध नगराउन गरेको, बिमा रकम महंगो पर्ने जस्ता समस्या चिनियाँ जहाजमा रहेको नेपाल वायुसेवा निगमका अधिकारीहरु बताउँछन्।

ती सुधार नगरिए थप जहाज ल्याउँदा निगमलाई थप घाटामात्रै हुने उनीहरुको निष्कर्ष छ।

सुधार

तर अनुदानमा दिइएको जहाजभन्दा हाल निर्माण गरिएका जहाजमा प्राविधिक सुधार गरिएको चिनियाँ पक्षको दावी छ।

वायुसेवा निगमले उठाउँदै आएका विषयलाई ध्यानमा राखेरै आफूहरुले कम्पनीसँग लिखित प्रतिवद्धता मागेको मन्त्री पोख्रेलले बताए।

उनले भने, “पहिलेको परिक्षणमा आएको हो हामीले धेरै सिकेका छौँ, त्यसकारण कमी हुन दिदैनौँ भन्ने उनीहरुको प्रतिवद्धता छ, हामीले त्यो लिखितमा मागेका छौँ।”

पहाडी क्षेत्रको उडानका लागि १७ सीट क्षमताका तीनवटा जहाज र सुगम क्षेत्रका लागि ५६ सीटको एउटा जहाज ल्याउन बाँकी रहेको छ।

अनुदानमा ल्याइएका ५६ सीट क्षमता र १७ सीटको एउटा जहाज करिब दुई वर्षदेखि नेपाल वायुसेवा निगमले प्रयोग गर्दै आएको छ।

मर्मतमा आवश्यक पाटपूर्जा बेलैमा नपाइएका कारण धेरै पटक ती जहाजका उडान रद्द हुँदै आएका छन्।

१७ सीट क्षमताको जहाज चाहिँ विगत १ महिनादेखि मर्मत हुन नसक्दा विमानस्थलमा थन्किएको छ।

-बी बी सी नेपाली

Share.

Leave A Reply