१३ वैशाख २०८१

सन्दर्भ: भूकम्प स्मृति दिवस २०७३

0

फोटो-विनय श्रेष्ठ– डा. विनय श्रेष्ठ*, स्विटजरल्याण्ड।

विक्रम संवत २०७२, बैशाख १२ को भूकम्पले नेपालीजन जनलाई दु:खी तुल्यायो, हजारौं हजार नेपालीहरुलाई घरबार बिहिन बनायो र हजारौंले नेपालीहरुको ज्यान लियो। नब्बे सालको भूकम्पको ८० बर्ष पश्चात फेरी दैवले हामीलाई भूकम्पीय जोखिमपूर्ण भूभागमा रहनुको खतरालाई बिर्सनैनसक्ने गरी लीला देखाए। त्यस्तरी बिनासको ताण्डव नृत्य देखाई सकेपछि पनि प्रकृतिले पटक पटक पराकम्पका त्रासहरु देखाई नै रह्यो। ति बिनास र त्रासहरुले नेपालीमात्रको फेरी उठने र भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण गरी छाडने विश्वासलाई हल्लाउन सकेन। तरपनि बिनासको त्यो क्षण बितेको एक बर्ष भैसक्दापनि हजारौं हजार पीडित नेपालीहरुले प्राप्त गर्नुपर्ने सुबिधा र पुननिर्माण अझै मृगतृष्णा बनेको छ। आउला भन्यो आउँदैन, बन्ला भन्यो बन्दैन। लाग्छ, कस्तुरीको बिनाको खोजमा हामी अझैपनि भौंतारी रहेका छौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प स्मृति दिवस पारेर यहि बैशाख १२ र १३ गते विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ। हाम्रो खोज र कार्यक्रमका उदेश्यहरु बीच मेलखान सकोस्।

पुनर्निर्माण प्राधिकरण

भूकम्प राहत र उद्धार कार्य पश्चात पुनर्निर्माणका लागि आवश्यक पुर्वाधारहरु तयार पारी पुनर्निर्माणका कार्यहरु समयमै सुरुवात गरिने आशा गरिएको थियो। तर दुर्भाग्यवश पुनर्निर्माणका कामहरु हुन नसकेको मात्र होईन, भूकम्प गएको लगभग आठ महिना पछिमात्र नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गर्न सक्यो।राष्ट्रिय-अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ४०० अर्व रुपैयाँको सहयोगको प्रतिबध्दता हुँदाहुँदै पनि नीति-नियमको अभावमा सरकारले पुनर्निर्माण कार्य अपेक्षाकृत गतिमाआरम्भ गर्न सकेन। गठन पश्चात प्राधिकरणले प्रभावित क्षेत्रको क्षति विवरण संकलन र अद्यावधिक गरी तयार पारेको “भूकम्पोत्तर आवश्यकता पहिचान प्रतिवेदन” अनुसार अनुदान वितरण र पुनर्निर्माण कार्य सुरु गर्न लागिएको बताएको छ।

आशाको किरण

१२ बैशाख २०७३ मा गैरआवासीय नेपाली संघ, नेपाल सरकार र पुननिर्माण प्राधिकरणबीच गोर्खा जिल्लामा पर्ने लारपाकको पुननिर्माणका लागि त्यसै स्थानमा भेलाभई एक त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रमको समाचार प्रकाशित भएको छ। गैर-आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले लारपाकलाई एक नमुना गाउँका रुपमा विकास गर्न चाहेको बताएका छन्। महामहिम राष्ट्रपति विद्धादेवी भण्डारीको उपस्थितिमा हुने भनिएको उक्त कार्यक्रमले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा नयाँ लहर ल्याओस्।कार्यक्रम परिणाममुखि बन्न सकोस्। गैर-आवासीय नेपाली संघको १००० घर योजना यसै दिनदेखि आरम्भ हुनसकोस। यसको चौतर्फि प्रतिक्षा छ।

हाम्रो उत्तरदायित्व     

प्रवासी नेपालीहरुले नेपालको पुनर्निर्माणको आरम्भ, कार्यान्वयन, मूल्याङकन र सुपरिवेक्षणमा महत्वपुर्ण भुमिका खेल्न सक्दछन्। यो समय र अवस्थाको माग पनि हो। संसारभरबाट प्रवासी नेपालीहरुले पुनर्निर्माणका लागि सक्दो आर्थिक सहयोग गरेका छन् र आवश्यकता परे अझै गर्ने पनि छन्। पुनर्निर्माण योजना सुचारु र पारदर्शितवरले संचालन गर्न सकिएमा अन्तर्राष्ट्रिय समुदायबाट अझैबढि सहयोग प्राप्त हुन सक्ने देखिन्छ। हाम्रो उत्तरदायित्व अहिलेसम्मको अर्थ संकलनसंगै समाप्त हुनु हुँदैन। प्रवासी नेपालीहरुले नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकारण र अन्य संघ-संस्थाहरुलाई नीति र नियमको परिधिभित्र रहि पारदर्शि एवं भ्रष्टाचाररहित तबरले पुनर्निर्माण योजनाहरुको कार्यान्वयन गर्न निरन्तर सहयोग गर्नु पर्ने आवश्यकता छ। साथै सकारात्मक दबावर रचनात्मक आलोचनाले योजना कार्यान्वयनकर्ताहरुलाई अनियमितताका विरूद्ध सदैब सचेत रहन अवश्य सहयोग गर्ने छ। यस सन्दर्भमा गैर-आवासीय नेपाली संघले खेल्दै आएको भुमिकालाई अझै बिस्तृत र सशक्त बनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ।


*लेखक गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल २०१५-२०१७ का सदस्य हुन्।

Share.

Leave A Reply