१५ चैत २०८०

भूकम्पपीडितलाई बास कै चिन्ता, अझै हटेन भग्नावशेष

0

भक्तपर, वैशाख ९ गते । वैशाख १२ गतेको विनाशकारी भूकम्पले भक्तपुर नगरपालिका– ५ याछेंको एउटै टोलका १९ घर ढल्यो । एकैछिनमा दुईजनाको ज्यान नै गयो । घर ढलेको एकवर्ष पुग्यो तर अझै भग्नावशेष नहट्दा त्यो टोलमा कुनै घर उठ्न सकेनन् । 

भूकम्पले भत्काएको आफ्नो घर र टोलका घर देखाउँदै पञ्चनारायण सितिखु भन्नुहुन्छ—‘यि यो लाइन नै घर ढले, यहाँ दुईजना मान्छे मरे, गतवैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको घरको भग्नावेशष अझै हटाउन नसक्दा यहाँ कुनै घर उठ्न सकेनन् ।’

भूकम्प गएको एकवर्ष बिते पनि गल्लीभित्र भत्किएका घरको भग्नावशेष हटाउन नसक्दा यो टोलका भूकम्पपीडितको बास भक्तपुर नगरपालिका देकोचामा जस्ताबाट मानवीय आस्था नेपालले बनाइदिएको ५४ वटा टहराको शिविरमा भएको छ ।

भक्तपुर नगरपालिका–४ थालाछे, वडा नं.– ५ याछे, भोलाछे र वडा नं ७ गोल्मढीका ५४ परिवारका ३०० जना बस्दै आएको देकोचास्थित शिविरका सबै भूकम्पपीडित आफ्नै ठाउँ फर्कन चाहन्छन् । तर अधिकांशको एउटै समस्या छ, व्यक्तिगत रुपमा भग्नावशेष हटाउनै सकिन्न, नगरपालिकाले भग्नावशेष हटाइदिएन ।

डोजर र गाडी छिर्नेबाहेक भक्तपुरका थुप्रै गल्लीका ५०० भन्दा बढी घरको भग्नावशेष अझै नहट्दा ती ठाउँमा पुनःनिर्माणको कल्पना पनि गर्न सकिएको छैन ।

देकोचा शिविरका सबै भूकम्पपीडितको चाहना आफ्नै जग्गामा गएर बस्ने नै छ तर भग्नावशेष हटाउन सक्ने आँट र पैसा भने कसैसँग छैन ।
देकोचा शिविर मै बस्दै आउनुभएकी भोलाछे– ५ कि सीता कुसाथाको पीडा पनि उस्तै छ । गत साउनदेखि बस्दै आएको यो शिविरबाट उठेपछि कहाँ जाने टङ्गो छैन । भूकम्पपीडितको रातो परिचयपत्र समेत नपाएको कुसाथाका परिवारको घर बनाउने जग्गासमेत छैन ।

‘एउटा घरमा ६ दाजुभाइको परिवार एक÷एक वटाकोठा बारेर बसेका थियाँै, भूकम्पले त्यो पनि भत्काएपछि सबैको उठिबास लाग्यो, अब त्यही ठाउँमा गएर घर बनाउनसक्ने अवस्था छैन,’—कुसाथा भन्नुहुन्छ˗‘सासूको नाममा रातो परिचयपत्र छ, अरु कसैले पाएनन्, त्यसैले हामीले राहत पनि पाएनाँै, तीन वटा ढलान घर हुनेसँग भूकम्पपीडितको परिचयपत्र छ, उठिबास भएका हामीसँग केही छैन ।’ टोपी, पञ्जा बनाएर कमाएको मासिक रु दुई हजारले बिरामी श्रीमान् र साना केटाकेटीको छाक टार्दैआएको बताउँदै उहाँले सरकारको राहतको अब कुनै आशा नभएको बताउनुहुन्छ । सरकारले शिविरमै आएर वास्तविक भूकम्पपीडितको पहिचान गरेर परिचयपत्र र राहत दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

भक्तपुर नगरपालिका– ५ तछिमलाकी महेश्वरी अवालको गुनासो पनि उस्तै नै छ । भूकम्पले भत्किएको घरको भग्नावशेष नहट्दा समस्या परेको बताउँदै शिविरको बसाइ निकै कष्टकर भएको गुनासो गर्नुहुन्छ । अरुको घर बनाउँदै हिड्ने उहाँका श्रीमान्ले आफ्नै घर भने बनाउन नसकेको बताउँदै उहाँ भोट माग्न आउने नेता भूकम्पपीडितको दुःख बुझ्न एकवर्ष बित्दा पनि शिविरमा नआएको दुखेसो पोख्नुहुन्छ । शिविरमा बस्ने सबै भूकम्पपीडितको एउटै चिन्ता छ, बासको व्यवस्था कसरी गर्ने । रासस 

Share.

Leave A Reply