०६ वैशाख २०८१

कामु प्रधानन्यायाधीशमा कार्की

0

काठमाडौँ, २ वैशाख । सर्वाेच्च अदालतको इतिहासमा पहिलो महिला कामु प्रधानन्यायाधीशका रुपमा आजदेखि सुशीला कार्कीले जिम्मेवारी सम्हाल्नुभएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले वरिष्ठतम न्यायाधीश भएर न्याय क्षेत्रमा काम गरिसक्नुभएकी कार्की नेपालको न्यायिक इतिहासमा सर्वोच्च स्थानमा पुग्ने महिला पहिलो हुनुभएको बताउनुभयो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गत चैत ३० गतेबाट उमेर हदका कारण अवकाश लिनुभएपछि वरिष्ठतम न्यायाधीशको हैसियतले कार्कीले कामु प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो ।

उहाँले आजैदेखि मुद्दाको इजलास तोक्ने लगायत न्यायिक तथा प्रशासनिक कामको नेतृत्व सुरु गर्नुभएको छ । संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि गत चैत २८ गते सिफारिस गरेकामा संसदीय सुुनुवाइ समिति नभएकाले कार्कीको संसदीय सुनुवाइ भएको छैन ।

संवैधानिक व्यवस्थानुसार प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ । संसदीय सुनुवाइ हुन नसकेको हुनाले कार्कीले हाल कामु प्रधानन्यायाधीशका रुपमा काम गर्नुहुनेछ । रासस

Share.

Leave A Reply