१३ वैशाख २०८१

यात्रा संस्मरणः युरोपको शीर्षस्थान युङफ्राउयोख पुग्दा

0

डा. बिजय मल्ल

दुई महिनाअघि स्विस साथीहरूसँग म नेपालको पोखरा गएको थिएँ । त्यतिबेला अन्नपूर्ण पदयात्राको सुरुवात स्थल ‘नयाँ पुल’, बिरेठाँटीबाट अन्नपूर्ण हिमशृंखला देखिएको थियो, त्यो सुन्दर दृश्य मेरो आँखामा अझै ताजा छ ।

हिमाल र पहाडको प्राकृतिक सौन्दर्यतामा रमाउनेका लागि उत्कृष्ट मानिने ‘पुन हिल’ गएर हिउँमा रमाउने धोको पूरा त हुन सकेन, तर, त्यही धोको पूरा गर्न नेपालभन्दा झन्डै ६ हजार सात सय १६ किलोमिटर दूरीमा रहेको मेरो कर्मभूमि स्विटजरल्यान्ड फर्केर युङफ्राउयोख पुग्यौं । युङफ्राउयोख विशेष गरी स्किस्पोर्ट्स, पदयात्रा, दृश्यावलोकनका लागि युरोपकै उत्कृष्ट गन्तव्य मानिन्छ ।

Dr-Bijaya-Mallaयुङफ्राउयोख स्विटजरल्यान्डको राजधानी बेर्न, थुन अथवा इन्तर्लेकन हुँदै ट्रेनबाट सजिलै पुग्न सकिन्छ । युङफ्राउयोख जानेले आफ्नो इच्छा अनुसार युङफ्राउ हिमशृंखलाको काखमा रहेका सुन्दर गाउँ लाउटरब्रुनेन, गि्रन्देल्वाल्ड वा वेन्गेनमा बस्ने गर्छन् । यहाँको प्रमुख क्षेत्र लाउटरब्रुनेन उपत्यका, युङफ्राउयोख जाने प्रमुखद्वार पनि हो ।

पर्यटन प्रवर्द्धनका लागि वेन्गेर्नाल्प र क्लाइने साइदेगमा क्रमशः सन् १८३४ र १८३५ मा होटलहरू सञ्चालनको अनुमति दिइएको थियो । सन् १८९० मा ‘बेर्नर-ओबरल्यान्ड’ र सन् १८९३ मा वेन्गर्नाल्पबाहन रेल सञ्जालको स्थापनापछि यहाँको पर्यटन विकासले काँचुली फेर्‍यो । उदाहरणका लागि वेन्गेन गाउँमा मात्रै २ हजार बेड क्षमताका २४ होटेल तथा २ हजार तीन सय बेड क्षमताका सय अपार्टमेन्टहरू पर्यटकको स्वागतका लागि तयार स्थितिमा हुन्छन् ।

पर्यटकले विभिन्न प्रकारले आनन्द उठाउन सकून् भन्ने उद्देश्यले युङफ्राउ दौड प्रतियोगिता, चिज फेस्टिबल, क्लाइने साइदेग स्नो-ओपनएर प्रतियोगिताले भरपुर मनोरञ्जन दिन्छन् । स्थानीय रेस्टुरेन्ट, होटेलहरूमा इन्डियन, चाइनिज, स्थानीय परिकारका खानपिनको राम्रो व्यवस्था गरिएको छ । विशेषगरी, हालको समयमा इन्डियन, चाइनिज तथा अन्य एसियाली पर्यटकको उल्लेख्य उपस्थितिका कारण पनि स्थानीयस्तरमा खानपिन, स्नो-स्पोर्ट्समा विविधता देखिएको हो ।

केही दिनका लागि आउने एसियन पर्यटक युङफ्राउयोख घुमेर स्थानीय होटेलमा बस्ने अथवा इन्तर्लेकन वा बेर्न र्फकने गर्छन् । यसको एउटा कारण स्थानीय होटलहरू औसतमा महँगो हुने र बेर्नर-ओबरल्यान्ड-बाहन र वेन्गर्नााल्पबाहन रेलयात्रा महँगो हुनु पनि हो । स्की वा अन्य स्नो-स्पोर्ट्स का लागि आउने युरोपियन पर्यटक भने हप्ता वा महिनाका लागि अपार्टमेन्टहरूमा बस्ने गर्छन् ।

क्लाइने साइदेग अर्थात् २०६१ मिटर उचाईमा रहेको पर्यटकीय स्थलबाट देखिने स्विस आल्प्स हिमाल नै यहाँको प्रमुख आकर्षण हो । क्लाइने साइदेगबाट रेलयात्रा मनोरम दृश्यावलोकन तथा केही स्थानमा सुरुङमार्ग हुँदै तीन हजार चार सय ५४ मिटर उचाइमा रहेको युङफ्राउयोखमा पुगेर टुंगिन्छ । यस रेलयात्राबाट स्वित्जर्लंदको आधुनिक विकास र राष्ट्रले पर्यटन प्रवर्द्धनमा गरेको लगानी प्रस्ट हुन्छ ।

युङफ्राउयोख युरोपकै सबैभन्दा उचाई अर्थात् ती हजार चार सय ५४ मिटरमा रहेको रेलस्टेसन हो, त्यसैले यसलाई ‘युङफ्राउयोख युरोपको शीर्षस्थान’ भनेर प्रचार-प्रसार पनि गरिएको छ । यहाँको तीन पाँच सय ७१ मिटरमाथि अवस्थित सिसाबाट बनाइएको स्पिmन्क्स अब्जरभेटरी हलबाट देखिने स्विस आल्प्सअन्तर्गत एइगेर हिमाल (३९७० मिटर), मोन्स हिमाल (४१०७ मिटर), युङफ्राउ हिमाल (४१५८ मिटर) र अलेट्स हिमनदी आकर्षणका केन्ऽ हुन् ।

स्फ्रिन्क्स अब्जरभेटरी हलको ठीक तलबाट देखिने २२ किमि लामो अलेट्स हिमनदी अल्पाइन युनेस्को हेरिटेज साइट पनि हो । यस हलभित्र स्विस चोकोलेटका पारखीका लागि लिंदत ब्रान्डको चोकोलेट प्रदर्शनीमा राखिएको छ, जहाँ चोकोलेट उद्योगबारे विभिन्न जानकारी लिनका साथै आफ्ना साथी, परिवारका लागि सुलभ मूल्यमा चोकोलेट उपहारका लागि खरिद पनि गर्न सकिन्छ ।

युङफ्राउयोखबाट पदयात्रा गर्दै मेनलिखन हुँदै ग्रिन्देल्वाल्ड वा वेन्गेन आउँदा प्रकृतिको भरपुर सुन्दरताको मजा लिन सकिन्छ । अझ स्नो-सुइङ वा स्की गर्दै आउने पर्यटकको अनुभव अतुलनीय र अनुपन हुन सक्छ । यस क्रममा देखिने झरनाहरू, जंगल, अनि मानवबस्ती भएको जनाउने विशेष प्रकारको स्विस घरहरू तथा ठूला अपार्टमेन्टहरूले यात्रालाई अविस्मरणीय बनाउँछ । लाउटरब्रुनेनमा रहेको भ्याली म्युजियममा स्थानीय जीवनपद्धति, भू-गर्भसम्बन्धी तथ्य, अल्पाइन पर्वतारोहण पर्यटनबारे पुरातात्त्विक तथा हालसम्मका सूचनाहरू पढ्न र हेर्न पाइन्छ ।

प्रकृति को भरपुर सौन्दर्य का साथै स्थानीय तहमा उपलब्ध पर्यटकीय सेवा, यातायातको सरल सुविधा, मनोरञ्जनका अन्य अवसर, सफा-सुन्दर बाटो अनि मानवबस्ती, सरकारी तथा निजी लगानीले यहाँको पर्यटन उद्योगलाई बलियो टेवा पुर्याएको छ, जुन पर्यटन विकासको प्रचुर सम्भावना रहेको नेपालजस्तो मुलुकका लागि एउटा शिक्षा लिने अवसर हुन सक्छ ।

(हाल बासेल, स्विटजरल्यान्ड)

-अनलाईन खबरबाट

Share.

Leave A Reply