११ वैशाख २०८१

ताइवानमा शक्तिशाली भूकम्प

0

दक्षिणी ताइवानमा गएको शक्तिशाली भूकम्पका कारण एउटा १७ तले अावासीय भवन भत्किँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ।

६ दशमलव ४ म्यागनिच्युडको उक्त भूकम्पको केन्द्रविन्दु ताइनान शहर नजिकै थियो।

हालसम्म उक्त भवनबाट दुई सयभन्दा बढीको उद्धार गरिएको छ र खोजीकार्यमा जुटेका टोलीहरुले त्यहाँभित्र फसेका हुनसक्ने मानिसहरुको खोजी कार्य जारी राखेका छन्।

शनिबार बिहान अधिकांश मानिसहरु सुतिरहेका बेला गएको भूकम्पपछि कम्तीमा पाँच वटा परकम्प महसुस गरिएको छ।

क्षति

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार गहिराइ कम भएका कारण सम्भवत उक्त भूकम्प बढी शक्तिशाली भएको महसुस गरिएको छ।

समाचारहरुमा कम्तीमा ४ वटा भवनहरु भत्किएको जनाइएको छ जसमध्ये एउटा अग्लो अपार्टमेन्ट रहेको छ।

अग्लो भवन भत्किँदा ज्यान गुमाउनेमध्ये एकजना शिशु पनि रहेको बताइएको छ।

अहिलेसम्म २ सय २० भन्दा बढीको उद्धार भईसकेको छ।

विवरणहरुमा कम्तीमा १ सय ५५ जना मानिसहरु घाइते भएको जनाइएको छ।

राष्ट्रपति मा यिङ जिउले झण्डै २० लाख मानिसहरुको बसोबास रहेको ताइनानको स्थलगत निरीक्षण गरेका छन्।

उनले उद्धार तथा खोजमा कुनै कसर बाँकी नराखिने बताउँदै भूकम्पले घर क्षति भएका मानिसहरुका लागि अस्थायी आवास बनाइने प्रतिबद्धता जनाए।

उद्धार

टेलिभिजनबाट प्राप्त भएका तस्वीरमा भत्किएका भवनका भग्नावशेषमा भर्याङ्गको प्रयोग गरी फसेका मानिसहरुको निकाल्ने प्रयास उद्धारकर्ताहरुले गरिरहेको देखाइएको छ।

शनिबारको उक्त भूकम्पको धक्का ३ सय किलोमिटर टाढा राजधानी ताइपेइमा पनि महसुस गरिएको छ र त्यसयता कैयौँ परकम्पहरु गएको जनाइएको छ।

सन् १९९९ मा गएको सात दशमलव ६ म्यागनिच्युडको भूकम्पका कारण सन् १९९९ मा २३ सयभन्दा बढीको ज्यान गएको थियो।

ताइवान दुईवटा टेक्टोनिक प्लेटहरु जोडिने स्थान नजिकै अवस्थित छ र यसले बारम्बार भूकम्पको धक्का महसुस गरिरहन्छ।

-बीबीसी नेपाली

Share.

Leave A Reply