१६ चैत २०८०

म्यानमार नयाँ राजनीतिक युगमा प्रवेश

0

नाइपिद्व ( म्यानमार), माघ १८ गते। म्यानमारको राजनीति नयाँ युगमा प्रवेश गरेको बताइएको छ । सोमबार सुरु भएको नयाँ संसदको कार्यभारसँगै यो चित्रण गरिएको हो । 

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको प्रजातान्त्रिक दल सोमबार नयाँ संसदमा प्रवेश गरेको छ ।
सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीले गत नोभेम्बरमा भएको आमनिर्वाचनमा अत्यधिक बहुमत ल्याएको थियो ।
सोही दलले सोमबारदेखि संसदमा आफ्नो सबैभन्दा ठूलो दलको कार्यभार थालेको बताइएको छ । यो सँगै म्यानमारको राजनीति नयाँ युगमा प्रवेश गरेको हो भनिएको छ ।
सुकीको दलका सांसदहरु सुन्तला रङको पोशाकमा सोमबार पहिलो पटक संसद प्रवेश गरेका हुन् ।
त्यस घटनालाई म्यानमारका तथा म्यानमारमा रहेका विदेशी सञ्चारमाध्यमहरुले पनि बडो महत्वका साथ लिएका छन् ।
गएको नोभेम्बर महिनामा सम्पन्न आमनिर्वाचनमा सुकीको दलले स्पष्ट बहुमत हासिल गरेको थियो । त्यसयता सोमबार मात्र म्यानमारको नवनिर्वाचित संसदको अधिवेशन सुरु हुन लागेको हो ।
म्यानमारको सैनिक सहयोगको सरकार एवम् पूर्व सैनिक जर्नेलहरुको बाहुल्यतामा रहेको राजनीतिक प्रणालीमा सुकीजस्तो प्रजातान्त्रिक दलले गरेको विजयका कारण पनि म्यानमारमा राजनीतिको नयाँ बिहानी उदाउने अपेक्षा गरिएको विश्लेषकहरुको भनाई छ ।
नेत्री सुकी सो संसदमा प्रवेश गरेको क्षणलाई पनि क्यामेरामा कैंद गर्नका लागि सञ्चारमाध्यमका प्रतिनिधिहरु ठूलो सङ्ख्यामा संसद बाहिर उभिएका थिए ।
नेत्री सुकीले कुनै प्रतिक्रिया नदिई सरासर संसदमा प्रवेश गर्नुभएको थियो । उहाँ सरासर संसद भित्र जानुभयो र आफ्नो कुर्सीमा बस्नुभयो– ती सञ्चारले भनेका छन् ।
निकै छोटो समयका लागि सुरु भएको संसद अधिवेशन औपचारिक सम्बोधन मात्र गरी त्यसपछि संसदमा सभामुखको चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको थियो ।
बैठकको सुरुमा केही सम्बोधन भएको थियो र सांसदहरुले सपथ लिएका थिए ।
त्यसपछि सुरु भएको निर्वाचनको प्रक्रियामा नेत्री सुकीकै एकजना नजिका राजनीतिज्ञ विन मिन्तलाई संसदको तल्लो सदनको सभामुखको उम्मेदवार बनाइएको छ ।
उहाँले आफ्नो उम्मेदवारीका बारेमा संसदमा दिनुभएको मन्तव्यमा भन्नुभयो– म्यानमारको राजनीतिक इतिहासमा आजको दिन अत्यन्तै महत्वपूर्ण छ ।
नयाँ संसदले सभामुख र उपसभामुख निर्वाचन गरेपछि नयाँ राष्ट्रपतिको पनि चयन गर्नेछ ।
तर म्यानमारको वर्तमान सैनिक सहयोगको संसदले नेत्री सुकीलाई भने उम्मेदवार बन्न नमिल्ने किसीमले कानुन बनाएको छ ।
यसअघि पनि पटक पटक म्यानमारको सरकारले प्रजातान्त्रिक दललाई सरकार निर्माणमा प्रतिबन्ध लगाउनुका साथै नेत्री सुकीलाई नै जेल हालेकोले अहिले पनि शक्ति हस्तान्तरण हुने कुरामा त्यहाँका नागरिकमा आशङ्का थियो ।
तर पनि यस पटक भने म्यानमारको सैनिक सहयोगको सरकारले आमनिर्वाचनमा अत्यधिक बहुमत ल्याएको सुकीको दललाई सत्ता हस्तान्तरण गर्ने जनाइसकेको छ ।
त्यसैले आजको राजनीतिक परिवर्तनले म्यानमारमा नयाँ बिहानी ल्याउने अपेक्षा म्यानमारका नागरिकले गरिरहेको बताइएको छ । रासस-एएफपी

Share.

Leave A Reply