१५ चैत २०८०

म्यानमारमा सैनिक शासन अन्त्य, संसदमै भयो नाचगान

0

१६ माघ, काठमाडौं । म्यानमारमा सैनिक शासन अन्त्य भएको छ । यससँगै त्यहाँको संसद भंग भएको छ । सैन्य शासन अन्त्य भएसँगै राजधानीमा खुसीयाली छाएको छ र त्यहाँ सांगितिक कार्यक्रम भइरहेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार संसदमा बनाइएको स्टेजमा सांसदहरु नै नाचगान गरेका छन् । निवर्तमान सभामुख शे मानले गीत गाउँदै  उपस्थितहरुसँग आफूलाई साथ दिन आग्रह गरे ।

गत नोभेम्बरमा भएको ऐतिहासिक आम चुनावपछि यो कदम उठाइएको हो । यो चुनावमा आङ सान सुची नेतृत्वको मुख्य विपक्षी दल नेशनल लिग फर डेमोक्रेसीले बहुमत सिट जितेको थियो ।

यसअघि म्यानमारको संसदमा सैन्य पृष्ठभूमि भएका मानिसहरुको दबदबा हुन्थ्यो । सोमबारबाट संसदमा एनएलडीको नियन्त्रण हुनेछ । तर, संसदको एक चौथाइ सिट र महत्वपूर्ण मन्त्रालय सेनाको कब्जामा रहनेछन् ।

संसदले छिट्टै राष्ट्रपतिको चुनाव पनि गर्ने छ ।  वर्तमान राष्ट्रपति थेन सेन जो पूर्व सेनापतिसमेत हुन्, उनी मार्चमा आफ्नो पदबाट हट्नेछन् ।

सूची सैनिक शासनका क्रममा १५ वर्ष नजरबन्दमा बसिन् । सुचीको दलले बहुमत ल्याए पनि उनी राष्ट्रपति भने हुन सक्दिनन्। त्यहाँको संबिधानअनुसार बिदेशीसँग बिबाह गरेको मानिस राष्ट्रपति बन्न पाउँदैन । तर, सुची र सेनाका बीचमा कुनै सहमति हुने र उनलाई राष्ट्रपति बन्न दिने अनुमान समेत गरिएको छ ।

-अनलाईन खबर

Share.

Leave A Reply