१६ चैत २०८०

स्विट्जरल्याण्डमा हुने वर्ल्ड इनोभेसन फोरममा नेपालले सहभागिता जनाउने

0

१५ जनवरी २०१८, स्विट्जरल्याण्ड। आगामी जुन महिनामा स्विट्जरल्याण्डको लुजेनमा हुने पहिलो वर्ल्ड इनोभेसन फोरममा नेपालले विशेष सहभागिता जनाउने भएको छ । नेपालमा नवीनतम प्रविधि र आविष्कारहरुलाई प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित यही जनवरी महिनाको पहिलो साता नेपालमा आयोजना गरिएको तीन दिने नेपाल स्वीस टेक्नोलोजी ट्रान्सफर कार्यशाला गोष्ठीबाट छानिएका चार उद्यमशील नव सिर्जनाका स्टार्टअप सोचहरु मध्येबाट नेपालले सहभागिता जनाउन लागेको हो।

नेप्लिज साइन्टिफिक एशोसिएशन इन स्विट्जरल्याण्ड (नेप्सास)द्वारा नेपालस्थित स्विट्जरल्याण्ड दूतावासको सहयोगमा काठमाडौंको गेट कलेजमा आयोजना गरिएको उक्त कार्यशाला गोष्ठीमा नेपालभरिका नव आविष्कारमा संलग्न ५० भन्दा बढी यूवाहरुको सहभागिता रहेको थियो । प्रविधिजन्य क्षेत्रमा नेपालभरि कै रचनात्मक सिर्जनामा संलग्न व्यक्ति तथा समूहबाट परेका करिब ५०० आवेदन मध्येबाट ५० जना छनौट गरिएको नेप्सासका अध्यक्ष रञ्जन मिश्रले बताए।

सहभागीहरुलाई विभिन्न चरणमा प्रविधि हस्तान्तरण, परियोजना विकास र सञ्चालनका तौर तरिकाहरु आदिका बारेमा उद्यम, व्यवसाय, प्रविध, वित्त व्यवस्थापन, चिकित्सा सहितका क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका थिए । सिंगापुर यूनिभर्सिटीका पूर्व डीन श्रीराम कृष्णनन्ले समेत विशेष अतिथिका रुपमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । गोष्ठीको समापनमा उत्कृष्ट स्टार्टअपहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताबाट छानिएका चार स्टार्टअपहरु मध्येबाट उत्कृष्ट हुने एकले स्विट्जरल्याण्डमा आयोजना हुने पहिलो वर्ल्ड इनोभेसन फोरममा सहभागिता जनाउने नेप्सासका अध्यक्ष मिश्रले जानकारी दिए।

विश्वाव्यापी आविष्कारहरुमा पहिलो स्थानमा रहेको स्विट्जरल्याण्डसँग गरिने यस प्रकारका सहकार्यले १०९ औँ स्थानमा रहेको नेपाललाई अत्यन्त उपयोगी हुने वर्ल्ड इनोभेसन फोरम नेपालका लागि राजदूत खेम लकाईले बताए । उनले विश्वमा आविष्कार तथा नव सिर्जनाका क्षेत्रहरुमा भईरहेका नयाँ नयाँ अभ्यासहरुलाई नेपाल भित्र्याउन यस्ता कार्यक्रमहरुले योगदान दिने भन्दै आगामी वर्षदेखि यस्तो प्रतियोगितालाई अझै देशव्यापी बनाएर त्यसलाई अन्तर्राष्ट्रिय इनोभेसन फोरमसँग आवद्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे । यसै वर्षको आगामी जुन महिनामा स्विट्जरल्याण्डमा हुने पहिलो वर्ल्ड इनोभेसन फोरमलाई विश्व आर्थिक मञ्च कै समकक्षी अन्तर्राष्ट्रिय आविष्कार तथा नव सिर्जना मञ्चका रुपमा विकास गरिन लागिएको समेत नेप्सासले जनाएको छ।

Share.

Leave A Reply