१६ चैत २०८०

प्रवासी नेपाली मञ्च यूकेको १३ औं स्थापाना दिवस सम्पन्न

0

लन्डन ।

नेकपा एमालेको प्रवास भातृ संगठन प्रवासी नेपाली मञ्च यूकेको १३ औं स्थापना दिवस सम्पन्न भएको छ । आइतबार लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्ट, साउथ ह्यारोमा बेलायतको लेबर पार्टीका सांसदसहित स्थानीय नेताहरुको उपस्थितिमा मञ्चको स्थापना दिवस मनाइएको हो ।

मञ्चको स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट मन्तव्य दिंदै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको आर्थिक विकासका लागि बेलायतवासी नेपालीहरुको महत्वपूर्ण योगदान रहने धारणा व्यक्त गरे । उनले नेपालको राजनीतिक विकासक्रमबारे अवगत गराउंदै प्रवासमा रहेका नेपालीलाई समेटेर मुलुकको समृद्धिका लागि मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत व्यक्त गरे ।

राजदूत सुवेदीले बेलायतस्थित लेवर पार्टीका सांसदसहितका प्रनिनिधिलाई कार्यक्रममा सहभागी भएकोमा विशेष धन्यवाद दिए ।

कार्यक्रममा बेलायती अतिथीहरु लेबर पार्टीका तर्फबाट सांसद तथा स्याडो सेक्रेटरी अफ स्टेट फर इन्टरनेशनल ट्रेड बेरी गार्डिनर, ह्यारो लेबर ग्रुपकी अध्यक्ष तथा मानवअधिकारवादी नेतृ पामेला फिच प्याट्रिक, समाजवादी चिन्तक स्टिभ फरेष्टसहित जिएमबी आवद्ध अधिकारकर्मीहरुले शुभकामना दिंदै बेलायतमा नेपाली समुदायको राजनीतिक तथा आर्थिक योगदानप्रति आभार व्यक्त गरे ।

सो कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीलाई दिइने नागरिकतामा राजनैतिक अधिकार पनि थप्नु पर्ने अभियान एनआरएनएले थालेको जानकारी दिए । उनले सुरुमै राजनीतिक अधिकार दिन नसकेपनि नेपाल फर्किएको केही वर्षपछि दिने व्यवस्था गर्न संसारभरबाट दवाव सिर्जना गर्ने समेत बताए ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङगी मगरले पत्रकारहरु समुदायसंग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए । उनले समाज विकासका लागि गरिने हरेक कार्यमा बिना सर्त पत्रकारहरुको सहयोग रहने समेत विश्वास दिलाए ।

गेसोका अध्यक्ष कृष्णकुमार राईले गोर्खा आन्दोलनका पक्षमा अब बन्ने बाम गठबन्धन सरकारले ठोस पहल कदमी लिने आशा व्यक्त गर्दै राजनीतिक अधिकारसहितको नागरिकता उपलव्ध गराउन नेपाल सरकारलाई दवाव दिइनुपर्ने बताए ।

विजयविक्रम लिंग्देनले सञ्चालन गरेको औपचारिक कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका तर्फबाट नेता विश्वआदर्श पण्डितले राजनीतिक अधिकारसहितको नागरिकताका लागि बेलायतबाट दवाव सिर्जना गर्न सुझाव दिए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले मञ्च पार्टीको संगठनका रुपमा मात्र नभई सबै नेपालीलाई साथमा लिएर अघि बढिरहेको बताए । उनले प्रवासमा बसेर पनि मञ्चले प्रजातान्त्रिक स्थायित्वका लागि आन्दोलन गरेको स्मरण गर्दै मानवअधिकार, प्रजातन्त्र, विकास र समृद्धिका लागि बेलायतस्थित नेपाली संघसस्थासंग एकाकार भएर काम गर्न तयार रहेको समेत विश्वास दिलाए ।

त्यसैगरि, जनप्रगतिशील नेपाली समाज बेलायत तथा माओवादी पूर्व केन्द्रीय सदस्य पूर्ण लक्समले एमाले र माओवादी एकताका लागि बेलायतस्थित बाम निकट संगठनलाई दवाव दिन आग्रह गरे ।

स्थापना दिवस कार्यक्रमका संयोजक रामजी बरालले मञ्चले गरेका गतिविधिबारे जानकारी दिंदै उपस्थित सबैलाई स्वागत गरेका थिए भने प्रवासी नेपाली मञ्च नर्थ वेष्ट लन्डनका अध्यक्ष अर्जुन चापागाईले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

स्थापना दिवस कार्यक्रमको अन्त्यमा अध्यक्ष पुडासैनी र संस्थापक अध्यक्ष आङकल्जङ लामाले संयुक्त रुपमा केक काटेर १३ औं स्थापना दिवसको खुशी साटासाट गरेका थिए ।

दोश्रो चरणमा गरिएको सांस्कृतिक कार्यक्रममा विभिन्न नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । गायक सुजेश बैद्य र सुनिल लिम्बुले आ आफ्नो गायकी प्रस्तुत गरेका थिए भने बिनु लामिछाने घिमिरे, सुस्मिता थापा लगायतले नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमको सञ्चालन कृष्ण तिवारीले गरेका थिए ।

Share.

Leave A Reply