०८ वैशाख २०८१

मान्यजनहरुको हातबाट टीका ग्रहण गरेर बडा दशैंको टीका मनाईँदै

0

आज हिन्दू धर्मावलम्बीहरुको महान् चाड बडा दशैं अन्तर्गत टीकाको दिन बिहान ११ बजेर ५५ मिनेटको शुभ मुहूर्तमा घर घरमा मान्यजनहरुबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिएर मनाइँदैछ ।
आजको दिन नेपालीहरुको महान् चाड बडा दशैंको पहिलो दिन अर्थात घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको पूर्ण घडाको जल तथा जमरा अनि फूलपातिका दिन भित्र्याइएको फूलपाति समेतले दुर्गा भवानीको बिसर्जन गरी पूर्ण घडाको जलबाट अभिषेक गरेर मान्यजनहरुबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गर्ने प्रचलन रहेको छ ।
१५ दिनसम्म मनाईने बडा दशैं मध्ये विजया दशमी महत्वपूर्ण दिन हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवि शक्तिको विजयको उत्सवको रुपमा मनाइने आजको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म दुर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा आदि लगाएर मान्यजनबाट आयु आरोग्य, यश एवं ऐश्वर्य तथा दीर्घ जीवनको आशीर्वाद लिइन्छ । त्यतिमात्र होइन यो चाडलाई संसारभर रहेका नेपालीहरुले पुनर्मिलनको चाडको रुपमा लिँदै एकता, भातृत्व र प्रेम तथा सद्भावको पर्वको रुपमा समेत लिने गर्दछन् । विशेषतः परदेशमा रहेका नेपालीहरु समेत यो चाडलाई महत्वपूर्ण रुपमा लिँदै वर्षदिनमा आउने महान् चाड मनाउन स्वदेश आउने हुँदा यो समय एयरपोर्ट तथा बसपार्कहरुमा अन्य समयभन्दा बढी भीडभाड रहने गर्दछ ।
आजकै दिन देशमा गणतन्त्र स्थापना हुनु पूर्व राजाको हातबाट सर्वसाधारणले टीका ग्रहण गर्ने चलन रहेको थियो भने मुलुक गणतन्त्रात्मक शासन पद्धतिमा गएपछि राष्ट्रपतिको हातबाट सर्वसाधारणले टीका ग्रहण गर्न थालेका छन् ।

Share.

Leave A Reply