०६ चैत २०८०

जुरिखमा तीज कार्यक्रम सम्पन्न, बाढी पीडितको सहयोगार्थ रकम संकलन

0

१४ अगष्ट २०१७, स्वीट्जरल्याण्ड । गैर आवासीय नेपाली संघ, स्वीट्जरल्याण्डको आयोजनामा नेपाली महिला दिदी बहिनीहरुले आफ्नो महान् चाड तीज मनाएका छन् ।

आइतबार स्वीट्जरल्याण्डको जुरिखमा सम्पन्न उक्त तीज कार्यक्रममा स्वीट्जरल्याण्डका विभिन्न स्थानबाट रातो सारी, चुरा, पोते तथा सुनका बिभिन्न गहनाहरुले सुसज्जित भएका नेपाली महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

एनआरएनए स्वीट्जरल्याण्डका महिला संयोजक शुभ एल्मर लामाको विशेष पहल र सहयोग एवं संघका उपाध्यक्ष सीमा गौतमको संयोजकत्वमा आयोजना गरिएको उक्त तीज कार्यक्रममा ख्याति प्राप्त गायिका माण्डवी त्रिपाठीले विभिन्न तीजका गीतहरु र आधुनिक गीत समेत गाएर कार्यक्रम स्थलको माहोल नै तताएकी थिईन ।

सोही कार्यक्रममा गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डका आईसिसी सदस्य डा. विनय श्रेष्ठले आफ्नो छोटो शुभकामना मन्तव्य दिंदै नेपालमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागहरुमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएकोले त्यसको सहयोगार्थ गैर आवाशीय नेपाली संघ स्वीट्जरल्याण्डको आह्वानमा आर्थिक संकलन शुरु गरिसकिएको जानकारी गराएका थिए ।

शुभकामना मन्तव्य कै क्रममा एनआरएनए स्वीट्जरल्याण्डकी महिला फोरम सदस्य विजया भट्टले नेपाली महिलाहरुको प्रमुख चाड तीज जसले आयोजना गरेको भए पनि सबैजना मिलेर भव्यताका साथ मनाउनु पर्नेमा जोड दिएकी थिईन । लामो समयदेखि स्वीट्जरल्याण्डमा व्यक्तिगत रुपमा नेपाली तीज कार्यक्रमको आयोजना गर्दै आईरहेकी उनले गत वर्षदेखि संघले आयोजना गर्न थालेको कुरालाई इंगित गर्दै उक्त कुरा व्यक्त गरेकी हुन् ।

नेपालमा आईपरेको दैवि प्रकोप र त्यसबाट अति प्रभावित १८ जिल्लाका मृतकहरुको चीर शान्तिको कामना तथा बाँचेका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संघका उपाध्यक्ष सीमा गौतमले उक्त तीज कार्यक्रम सञ्चालन गरेकी थिइन भने कार्यक्रम स्थल र उपस्थित सबैलाई खानाका व्यवस्था गरिदिएका दिल गोतामेलाई आयोजकका तर्फबाट खादा ओढाएर सम्मान गरिएको थियो ।

बाढी पीडितलाई सहयोग रकम संकलन

गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डकी महिला संयोजक शुभ एल्मर लामाको पहलमा बाढी पीडितको सहयोगार्थ १३१३। स्वीस फ्रान्क संकलन भएको छ । महिला फोरमले संकलन गरेको रकम भने महिला फोरम मार्फत नै बाढी पहिरो प्रभावित महिलाहरुका लागि सहयोग गरिने संयोजक लामाले जानकारी दिईन । उनले सहयोग गर्ने सबै सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।

त्यसैगरी गैर आवासीय नेपाली संघ, स्वीट्जरल्याण्डको आह्वानमा संकलित रकम २१५०। स्वीस फ्रान्क भने एनआरएनएको बाढीपीडित राहत कोषमा पठाईने भएको छ ।

Share.

Leave A Reply