०७ वैशाख २०८१

नेपाली प्रतिनिधि मण्डल र यूएईका राजदूत बीच छलफल

0

?

काठमाडौँ ।
संयुक्त अरब ईमिरेट्स (यूएई) मा बसोबास गरी स्वदेश फर्किएका नेपालीहरुको एक प्रतिनिधि मण्डलले नेपालका लागि संयुक्त अरब ईमिरेट्सका राजदूत सइद अल नाक्बीसँग भेट गरेको छ ।
मंगलबार लाजिम्पाटस्थित यूएई दूतावासमा भएको एक घण्टा लामो उक्त छलफलमा छोटो समयमा नै यूएईले गरेको विकास र समृद्धि नेपालको लागि उदाहरणीय भएको चर्चा गर्दै त्यसलाई आत्मसाथ गर्न सके नेपालले पनि आफूलाई प्रगतिको मार्गमा हिँडाउन सक्ने औँल्याउनुका साथै नेपाली प्रतिनिधि मण्डलले आफूहरुले यूएईबाट विभिन्न सीप, क्षमता, दक्षता आदि हासिल गरी वर्तमान समयमा त्यसलाई नेपाल मै लगानी गरेको कुरा अवगत गराए ।

?

त्यसैगरी उनीहरुले राजदूतसँगको आफ्नो भेटको उद्देश्यका बारेमा बताउँदै विशेषत हामी यूएईबाट फर्किएका आप्रवासीहरु संगठित भई दुई देश बीचको आपसी सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउँदै एक अर्का देशको कला, संस्कृति, भेषभूषा, भाषा, धर्म, विज्ञान प्रविधि आदिको आदान प्रदान गर्नुका साथै एक अर्को देशका नागरिकहरुका बीचमा सुमधुर सम्बन्ध कायम गराउन पहल गर्ने, विश्वमा अति विकसित एवं धनी देशको रुपमा चिनिएको यूएई जस्तो देशबाट नेपालका विभिन्न सम्भावित क्षेत्रहरुमा लगानीका अवसरहरुको बारेमा सभा सेमिनार तथा छलफल मार्फत जानकारी गराएर लगानी आकर्षित गर्ने, एक अर्को देशका विविध विषयहरुका जानकारीमूलक पुस्तक, पत्रपत्रिका, स्मारिका आदिको आदान प्रदान गर्ने, स्वास्थ्य, शिक्षा आदिका क्षेत्रमा तालिम आदान प्रदान गर्ने, रोजगारीका क्षेत्रमा दक्ष कामदारहरुका लागि नयाँ सम्भावनाको खोजि गर्ने लगायतका विषयमा बिस्तृत छलफल भयो ।

?

छलफलका क्रममा राजदूत नाक्वीले यूएई र नेपाल बीच अत्यन्तै सुमधुर सम्बन्ध रही आएको चर्चा गर्दै यूएईको विकासमा नेपाली कामदारहरुको उल्लेख्य सहयोग रहेको बताउनु भयो । त्यसैगरी उहाँले यूएईमा अझै पनि ठूलो संख्यामा दक्ष कामदारहरु खपत हुने बताउँदै नेपालबाट दक्ष कामदार पठाउन सके त्यसबाट नेपालले पनि फाइदा लिन सक्ने बताउनु भयो । राजदूत नाक्बीले यूएई अहिले विश्व कै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै नेपाल प्राकृतिक रुपमा अत्यन्तै सुन्दर देश भएकाले नेपालको पर्यटन विकासको पनि ठूलो सम्भावना रहेको आफूले छोटै समयमा थाहा पाएको बताउनु भयो । त्यसैगरी नेपालले पर्यटन, जलविद्युत तथा कृषिमा विदेशी लगानी भित्र्याएर ठूलो विकास गर्न सक्ने सम्भावना रहेको बताउँदै आफूले आफ्नो स्थानबाट हुनसक्ने र गर्न सकिने सबैखाले सहयोग गर्ने बताउनु भयो । अन्त्यमा उहाँले यूएई छाडेर नेपाल फर्किईसकेपछि पनि नेपालीहरुले यूएईलाई माया गरेको पाउँदा खुशी लागेको बताउँनु भयो ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जानु भएका प्रतिनिधि सभा सदस्य मोहम्मद जाकिर हुसैनले नेपालमा भर्खरै स्थापना भएको दूतावास र त्यसमा आउनु भएको राजदूत नेपालका लागि नयाँ भएर पनि अत्यन्तै बौद्धिक, कुशल कूटनीतिज्ञ तथा छोटै समयमा पनि नेपालको बारेमा राम्ररी बुझ्न सफल व्यक्तित्वको रुपमा आफूहरुले पाएको बताउँदै नेपालले उहाँका माध्यमबाट यूएईबाट विविध क्षेत्रमा मनग्य सहयोग लिन सक्ने र लिनु पर्ने बताउनु भयो ।
सांसद जाकिर हुसैनको नेतृत्वमा प्रवासी नेपाली पत्रकार सञ्जालका सचिव दामोदर नेपाल तथा जेपी सापकोटा, जनकराज शर्मा, रबिन्द्र दाहाल र सिता पाण्डे सहितको प्रतिनिधि मण्डलले राजदूतसँग भेट गरी छलफल गरेको हो । छलफल पश्चात् राजदूतसँगको भेटघाट अत्यन्तै सफल भएको र आफूहरु राजदूतबाट अत्यन्तै प्रभावित भएको प्रतिनिधि मण्डलका सदस्यहरुले बताए ।
Share.

Leave A Reply