११ वैशाख २०८१

चीनले अमेरिकामा उच्च गतिको रेल निर्माण गरिदिने

0

चीनले अमेरिकाको ब्यापारिक शहर लस एन्जलसमा उच्च गतिको रेल निर्माण गर्ने भएको छ । चाइना रेलवे ग्रुप र अमेरिकाको एक्सप्रेस वेष्ट इन्टरप्राइजेजको सहकार्यमा लस भेगास र लस एन्जलस जोड्ने ३७० किलोमिटर लामो रेलमार्ग बनाउन लागिएको हो ।

अमेरिकी सञ्चारमाध्य ब्लुमबर्गका अनुसार यो नै चिनियाँ रेलवे सेवाले बिदेशमा बनाउन लागेको सवैभन्दा ठूलो परियोजना हो । चिनियाँ राष्ट्रपति सि जिनपिङको अमेरिका भ्रमण ठिक अघि दुई देशका कम्पनीवीच द्रुत गतिको रेल बनाउने सम्झौता भएको हो ।

सुरुवातमा एक सय मिलियन अमेरिकी डलर निकासा गरिने बताइए पनि कति पैसाको लागतमा र कहिलेसम्म सकिने गरी परियोजना सुरु गर्न लागिएको हो भन्ने खुलाइएको छैन् । रेलमार्गको निर्माण सन् २०१६ को सेप्टेम्बरबाट हुने बताइएको छ ।

पछिल्ला बर्षहरुमा चीनले द्रुत गतिका रेलमार्ग निर्माणमा सफलता हाँसिल गर्दै गइरहेको छ । द्रुत गतिका रेल निर्माणमा कहलिएको जापानलाई समेत उछिन्दै चीनले तिब्र गतिका रेल निर्माणमा सफलता पाइरहेको छ । अमेरिकाको मुख्य शहरमै उच्च गतिको रेलमार्ग निर्माणमा चीन सहभागिता जनाएपछि उसको प्रविधि विस्तारमा ठूलो ढोका खुलेको छ ।

यो रेलमार्ग निर्माणका लागि चीन र जापानवीच लामो समयदेखि हानथाप हुँदै आइरहेको थियो । ‘ यो सम्झौता चिनियाँ रेल प्रबिधिको उत्कृष्टताको पहिचान हो’ चिनियाँ रेलवे ग्रुपका उपप्रमुख याङ झोङमिनले भने- ‘अमेरिका र चीनवीचको ब्यबस्थित साझेदारीको सुरुवात बिन्दू पनि यही हो ।’

चीनले अघिल्लो बर्षमात्र अमेरिकाकै बोष्टनको भूमिगत रेलमार्ग निर्माण गर्नेगरी ५६७ मिलियन डलरको सम्झौता गरेको थियो, जुन अमेरिकाभित्र चीनको पहिलो परियोजना थियो ।

पछिल्ला बर्षहरुमा एशियाली बजारमा तिब्र गतिका रेल निर्माणमा चीन र जापानवीच प्रतिस्पर्धा भइरहेको छ । चीन भित्रै पनि चिनियाँ रेलवे बिभागले करिव १७ हजार किलोमिटर तिब्र गतिको रेलमार्ग निर्माण गरिसकेको छ ।

-अनलाईन खबर

Share.

Leave A Reply