०७ वैशाख २०८१

नेपाली सेनाले दियो विद्यार्थीलाई राष्ट्रसेवक तालिम

0

गोरखाबजार, भदौ २ गते । प्राकृतिक विपद्मा स्वयम्सेवा गर्न तथा देशभक्ति भावना जगाउन गोरखास्थित भैरवी दल गणको नेपाली सेनाले विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरेको छ । भैरवी दल गणका गणपति प्रमुख सेनानी प्रेमबहादुर थापाले आज तालिमको उद्घाटन गर्नुभयो । तालिममा हरमटारीस्थित मोडर्न सेकेण्डरी बोर्डिङ स्कुलका ३६ जना विद्यार्थी सहभागी भएका छन् ।
देशभरका ३६ जिल्लामध्ये यो वर्षदेखि गोरखाका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरिएको सेनानी थापाको भनाइ छ । “सेना बनाउन तालिम दिन लागेका होइनौँ” उहाँले भन्नुभयो, “देशलाई माया गर्ने नागरिक बनाउन विद्यार्थीलाई तालिम दिएका हौँ ।” विद्यार्थीलाई १०० दिनको तालिम दिइन्छ । ७९ दिनको तालिम गोरखामा र २१ दिनको तालिम दलमा आबद्ध देशभरका प्रशिक्षार्थी नवलपरासीको हात्तीखोरमा गरिने थापाले जानकारी दिनुभयो । तालिममा नेतृत्व तथा व्यक्तित्व विकास, साहसिक खेल, देशभक्तिको भावना जगाउने, प्राकृतिक प्रकोपका बेला उद्धार गर्ने र सामान्य हतियार चलाउने तालिम पनि दिइने उहाँले बताउनुभयो । तालिम उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा अधिकारी हरि अर्यालले पढाइबाहेक अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक सीताराम तिवारीले किताबको किरोभन्दा पनि विद्यार्थीलाई चौतर्फी विकास हुने खालका गतिविधिमा सहभागी गराएको बताउनुभयो । कक्षा ८ र ९ मा पढ्दै आएका विद्यार्थी तालिममा सहभागी छन् । अभिभावकको अनुमति लिएर विद्यार्थीलाई तालिममा सहभागी गराएको तिवारीले बताउनुभयो । रासस

Share.

Leave A Reply