१५ चैत २०८०

सर्वोच्चको फैसला सीमाभन्दा बाहिर–पूर्व प्रम नेपाल

0

काठमाडौँ, असार ९ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का नेता माधवकुमार नेपालले दलहरुबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्नु भन्ने सर्वोच्च अदालतको फैसला अदालतको सीमाभन्दा बाहिरबाट आएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता नेपालले पछिल्लो समय अन्य निकायको अधिकारमा अतिक्रमण गर्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–“राजनीतिक, सामाजिक जीवन सङ्घर्षमय भएजस्तै संविधानसभाको जीवन पनि सङ्घर्षमय बन्दै गएको छ, अगाडि बढ्न खोज्दा अहिले अवरोध आएको छ ।”

उहाँले संविधान निर्माण प्रक्रिया कानुनसम्मत ढङ्गले अगाडि बढिरहेको बताउँदै सर्वोच्चले त्यसमा हस्तक्षेप गर्न नपाउने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– “अन्तरिम संविधान र संविधानसभा नियमावलीमा नै कसको अधिकार के हो भन्ने प्रष्ट छ, सोही अधिकारअन्तर्गत नै १६ बुँदे सहमतिमार्फत संविधान निर्माणको कार्य अगाडि बढ्छ ।”

अर्को प्रसङ्गमा नेता नेपालले स्थानीय निकायको निर्वाचन हुन नसक्दा भूकम्पपछि राहत तथा पुनःस्थापनामा अप्ठ्यारो परेको बताउनुभयो ।

आफूले भूकम्पअघि पटकपटक प्रधानमन्त्रीलाई स्थानीय निकायको निर्वाचन घोषणा गर्नुहोस् भनेर आग्रह गरेको जानकारी दिँदै निर्वाचन हुँदा सङ्घीयतामा कुनै समस्या नपर्ने जिकिर गर्नुभयो ।

भूकम्पसम्बन्धी नयाँ पुस्तक

कार्यक्रममा नेता नेपालले परिषद्द्वारा प्रकाशित ‘नेपालमा भूकम्पीय जोखिम तथा दिगो विकास अवधारणा’ नामक पुस्तक लोकार्पण गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, पूर्व गभर्नर डा युवराज खतिवडा, सहप्रध्यापक डा तारानिधि भट्टराई र डा विनोद श्रेष्ठले संयुक्त रुपमा सो पुस्तक लेख्नुभएको हो ।

विभिन्न क्षेत्रमा विज्ञ रहनुभएका चार जना लेखकले लेख्नुभएको पुस्तकमा विपद् व्यवस्थापन, भूकम्पपछिको पुनःनिर्माण, भूकम्प विज्ञान र भूकम्प प्रतिरोधी घर निर्माणको तरिकालगायतका विषयमा केन्द्रित रहेको छ ।

एमाले नेता नेपालले सानो पुस्तकका सबै विषय समेटेर पठनीय पुस्तक तयार पारेको भन्दै लेखकहरुलाई धन्यवाद दिनुभयो ।

उहाँले पुस्तकमा समेटिएका विषयका आधारमा सरकारलाई नीति निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अझ बृहत् विषयवस्तु समेटर भूकम्पसम्बन्धी पुस्तक तयार पार्न लेखकहरुलाई सुझाव दिनुभयो ।

उहाँले स्पष्ट भूउपयोग नीति र बस्ती विकास नीति बनाउन आवश्यक रहेकामा समेत जोड दिनुभयो ।

कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले यो पुस्तकले पुनःनिर्माण र नवनिर्माणको योजना कस्तो बनाउने भन्ने मार्गनिर्देशन दिनसक्ने धारणा राख्नुभयो । रासस

Share.

Leave A Reply