१६ चैत २०८०

राष्ट्रसंघीय महासचिव बानको भ्रमण उत्तर कोरियाद्वारा रद्द

0

सोल, जेठ ६ गते । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको उत्तर कोरिया भ्रमण उत्तर कोरियाले एकतर्फी रुपमा रद्द गरेको जानकारी दिएको छ । 

उहाँलई भ्रमणका लागि उत्तर कोरियाले यसअघि आमन्त्रण गरेकोमा बुधबार आएर अकस्मात सो भ्रमण आफैले रद्द गरेको जानकारी दिएको हो ।
महासचिव बानले उत्तर कोरियाका केही औद्योगिक क्षेत्रको भ्रमणको चासो राख्नुभएको थियो । सो भ्रमणका लागि उत्तर कोरियाले उहाँलाई आमन्त्रण पनि गरेको थियो ।
विश्वको लगभग एक्लो कूटनीति मानिएको सो देशको भ्रमणका लागि महासचिव बानले समय तय गर्नुभएको तर अकस्मात बुधबार आएर उत्तर कोरियाले नै सो निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यस घटनाबाट आफु निकै दुःखी बनेको महासचिव बानले बताउनुभएको छ । उहाँले पनि आफुले सो समाचार कूटनीतिक स्रोतबाट थाहा पाएको बताउनुभएको छ ।
आफुले आफ्नो भ्रमण बारेकोे समाचार कूटनीतिक माध्यमबाट थाहा पाएको भन्दै यसले आफुलाई निकै दुःखी बनाएको उहाँको प्रतिक्रिया छ ।
यसै हप्तामात्र महासचिव बानले उत्तर कोरियालाई कुनैपनि हिसाबले सैनिक तनाव बढाउने वा कोरियाली प्रायद्वीपलाई अस्थिर बनाउने काम नगर्न सार्वजनिक रुपमा नै आग्रह गर्नुभएको थियो ।
सो आग्रहपछि उत्तर कोरियाले कुनै प्रतिक्रिया भने दिएको थिएन । उत्तरले केहीदिन अघि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
सो क्षेप्यास्त्र परीक्षणको सर्वत्र विरोध भएको थियो । त्यसपश्चात नै महासचिव बानले उत्तरको भ्रमणका लागि चासो देखाउनुभएको थियो ।
महासचिव बानले आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ– मैले अकस्मात उत्तर कोरियाले आफ्नो निमन्त्रणा रद्द गरेको समाचार कूटनीतिक माध्यमबाट थाहा पाएँ र कासेङ क्षेत्रको मेरो भ्रमणको कार्यक्रम रोकिएको छ ।
दक्षिण कोरियाका पूर्व विदेशमन्त्री समेत रहनुभएका महासचिव बानले उक्त भ्रमण के कारणले रद्द गरिएको हो भन्ने बारेमा भने कुनैपनि जानकारी नदिइएको उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ– उत्तर कोरियाको यो निर्णय वास्तवमै दुःखलाग्दो छ ।
उहाँले भन्नुभएको छ– म संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि मैले उत्तर कोरियालाई विश्व समुदायसँग कामगर्ने वातावरण निर्माण गर्ने काममा लागि नै रहनेछु ।
कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वको स्थापनाका लागि म लागि नै पर्नेछु र उत्तर कोरियाका लागि एक्लिएर नभई विश्व समुदायसँग कामगर्न आवश्यक छ– महासचिव बानको भनाई छ ।
महासचिव बानको अकस्मात भ्रमणको आमन्त्रण रद्द गरेकोप्रति दक्षिण कोरियाको एकीकरण मन्त्रालयले पनि दुःख व्यक्त गरेको समाचारमा जनाइएको छ ।
महासचिव बानले यही बिहीबार उत्तर कोरियाको सो औद्योगिक क्षेत्रको भ्रमण गर्नुहुने कार्यक्रम रहेको थियो ।
सो क्षेत्र उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रको नजिक पर्दछ । सो क्षेत्र दक्षिण कोरियाको सीमाभन्दा १० किलोमीटर मात्र भित्र पर्दछ । रासस/एएफपी

Share.

Leave A Reply