१५ चैत २०८०

बैंकको जागिर छाडेर कोरिया जाने ‘लाइन’मा

0

नविन अर्याल, काठमाडौं, ३ वैशाख। नाम चलेको बैंकमा जागिर गरिरहेका पाल्पाका सुदर्शन नेपाल विहीबार बिहानै कोरियन भाषा परीक्षाको फारम भरिरहेका भेटिए । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनको बैंकमा राम्रै तलब छ ।

‘यहाँ जति कमाए पनि एक रुपैयाँ जोगाउन सकिँदैन्, कोरिया गएर दुःख गर्‍यो भने मासिक दुई लाख रुपैयाँसम्म कमाउन सकिने रहेछ’ नेपालले भने- ‘त्यही भएर म कोरिया जान तयार भएको हुँ ।’

त्यस्तै नुवाकोट त्रिशुलीकी ममता तामाङ सामाखुशीमा फेन्सी पसल गर्छिन् । ‘प्लस टु’ सम्मको पढाइ सिध्याएर सुरु गरेको फेन्सी पसल राम्रैसँग चलिरहेको छ । तर, उनी बिहीबार बिहानै च्यासलस्थित फुटवल मैदानमा कोरियन भाषा परीक्षाको फारम भर्दै गरेको अवस्थामा भेटिइन् ।

कोरिया पुगेर मासिक लाख रुपैयाँभन्दा बढी कमाउने सपना बुन्दै ममताले रोजगार अनुमति प्रणाली -ईपीएस’ मार्फत कोरिया जानका लागि फारम भरेकी हुन् ।

‘नेपालमा जति दुख गरे पनि राम्रो आम्दानी गर्न सकिएको छैन्’ उनले अनलाइनखबरसँग भनिन्- ‘कोरिया पुगेपछि केही नभए पनि मासिक एक लाख रुपैयाँ त कमाउन सकिन्छ ।’

चलिरहेको फेन्सी पसल छोडेर कोरियामा दुःख गर्न ममता तयार भइसकेकी छिन् । भाषा परीक्षाको फारम भर्ने लाइनमा ममता र शुदर्शन जस्तै राम्रो जागिर र पेशा व्यवसाय गरिरहेका युवा पनि भेटिए ।

सँगैका साथीहरुले कोरियामा गएर राम्रो कमाएको, काठमाडौंमा घर बनाएको देखेपछि उनीहरुमा पनि कोरिया जाने रहर जागेको हो । करिब एक लाख लगानी गरी कोरिया जाँदा मासिक डेढ लाखसम्म कमाउन सकिने उनीहरुमा आशा देखिन्छ ।

राति १० बजेदेखि लाइन

आगामी जेठ ३० र ३१ गते हुने परीक्षाका लागि राजधानीमा ५ ठाउँ र राजधानी बाहिर ५ ठाउँमा गरी १० ठाउँबाट आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । फारम भर्नका लागि राति १० बजेदेखि नै युवाहरुको भिड लागेको थियो ।

‘म राति १० बजेदेखि लाइन बसेर फारम भरेँ’ बनेपाका विनोद कर्माचार्यले भने- ‘रातभरि लाइन बसे पनि फारम भर्नका लागि विगतमा जस्तो खासै सास्ती खेप्नु परेन । सहकारीका जागिरे उनी कोरियामा गएर लाखौं रुपैयाँ कमाउने सपना बोकेर फारम भर्न आएका हुन् ।

यसपटक फारम भर्ने लाइन विगतका वर्षहरुको भन्दा धेरै व्यवस्थित रहेको सहभागीहरुले बताए । बुधबार ४ बजेदेखि ५ बजेसम्म कुपन बाँडेको हुनाले पनि लाइन धेरै व्यवस्थित भएको इपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले अनलाइनखबरलाई बताए ।

‘हामीले एक घण्टाको अवधिमा करीव पाँचहजार कुपन बाँडेर समय तोकी बोलाइएका थियौं’ बास्तोलाले भने- ‘हामी हिँडेपछि आउनुभएकाहरु रातभर लाइनमा बस्नुभएछ ।’

केही युवा लाइनमा बसे पनि विगतको भन्दा धेरै सभ्य र व्यवस्थित तवरले फारम भर्ने काम भएको प्रमुख बास्तोलाको भनाइ छ । यसपटक सरकारले फारम संकलन केन्द्र थप गरेका कारण पनि व्यवस्थित भएको दाबी कर्मचारीहरुको छ ।

विगतमा राजधानीमा तीन ठाउँबाट फारम भर्ने व्यवस्था मिलाइएकोमा यस वर्ष दुई ठाउँ थप गरिएको छ । राजधानी बाहिर यसवर्ष जनकपुरमा पनि फारम भर्ने व्यवस्था मिलाइएको छ ।

परीक्षामा ७ हजारको कोटा

यसपटकको भाषा परीक्षामा ७ हजार १ सय जनालाई पास गराउने बताइएको छ । जसमध्ये उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय जना र कृषि तथा पशुपालनमा २ हजार २ सय जना पास गराउने इपीएस कोरिया शाखा प्रमुख बास्तोलाले जानकारी दिए ।

भाषा परीक्षा फारम वैशाख ६ गते साँझ पाँच बजेसम्म खुल्ने छ । कोरियाले महिलालाई खासै प्राथमिकता नदिएपनि फारम संकलन केन्द्रहरुमा युवतीहरुको पनि बाक्लो उपस्थिति देखिएको छ ।

‘केटीलाई कोरियाले प्राथमिकता दिएर लैजाँदैन भन्ने थाहा छ, तर पनि भाग्य सपि्रएको भए गइन्छ कि भनेर फारम भर्न आएकी हुँ’ च्यासल केन्द्रबाट फारम भरेकी नवलपरासीकी राधा ज्ञवालीले भनिन्- ‘नेपालमा भनेजस्तो जागिर नपाएपछि विदेश जानुको विकल्प पनि त छैन नि ।’

च्यासल केन्द्रबाटै फारम भरेका बनेपाका शिव ओम पोटे पनि राम्रो कमाइ हुने आशामा कोरिया जान कस्सिएका हुन् । नेपालमा बसेर मासिक लाखौं रुपैयाँ कमाउन भ्रष्टाचार नगरी मन्त्रीले पनि नसक्ने ठोकुवा गर्दैै उनले कोरिया गएर दुःख गरेमा मासिक डेढ दुई लाख रुपैयाँसम्म कामाउन सकिने हुँदा कोरियन भाषा पढेको उनले बताए ।

नेपालमा वाषिर्क ४ लाख श्रमशक्ति खडा हुने अनुमान गरिएको छ । तर, रोजगारी भने नगन्य मात्रामा सिर्जना भइरहेको छ । अस्थिर राजनीतिबाट गुजि्रएको मुलुकमा निजी क्षेत्रबाट उल्लेख्य लगानी पनि हुन सकिरहेको छैन । विदेशी लगानी पनि उल्लेख्य मात्रामा आउन नसक्दा रोजगारी सिर्जना हुन सकेको छैन ।

मुलुकमा योग्यता अनुसारको रोजगारी नपाउँदा दैनिक १५ सय दुई हजार युवा विदेशिने गरेको सरकारी तथ्यांक छ । मलेसिया, कोरिया तथा खाडी मुलुक नेपालीको रोजगार गन्तव्य भए पनि कोरिया सबैभन्दा आकर्षक गन्तव्य बनिरहेको छ ।

फारम भर्ने स्थानहरु

सरकारले राजधानीको नेपाल वेद विद्याश्रम संस्कृत मावि वनकाली, गौशाला, काठमाडौं भ्याली उच्च मावि महाराजगञ्ज, ल्याबरोटरी उच्च मावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र च्यासल फुटबल मैदानबाट फारम भर्ने व्यवस्था मिलाएको छ ।

राजधानी बाहिर धरान, जनकपुर, बुटवल, पोखरा र डढेलुधुराबाट फारम भर्ने व्यवस्था मिलाइएको इपीएस शाखा प्रमुख बास्तोलाले बताए ।

धरानमा सभागृह, जनकपुरमा जनकपुर चुरोट कारखाना, बुटवलमा नेपाल प्रहरी तालिम केन्द्रको पूर्वतर्फ रहेको प्रर्दशनी मण्डप, पोखराको बाटुलेचौरस्थित विन्ध्यावासिनी उच्च मावि र डढेल्धुराको कर्मचारी मिलन केन्द्रमा फारम भर्ने व्यवस्था मिलाइएको छ ।

कस्ताले कोरिया जान पाउँछन् ?

बिहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म फारम भर्न पाइने बास्तोलाले बताए । कोरियन भाषा परीक्षाका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्छ ।

फौजदारी अभियोग लागेको र कोरियामा गएर गैरकानुनी रुपमा बसोबास गरेको व्यक्तिले कोरियन भाषा परीक्षा उत्तीर्ण गरे पनि जान पाउँदैनन् ।

कोरियन भाषा उत्तीर्ण गरेपछि कोरिया जानका लागि योग्य उम्मेदवार मात्रै भइन्छ, तर कोरिया जान पाउने ग्यारेन्टी भने हुँदैन ।

विगतमा कोरिया जान नपाउने आन्दोलन गरेको कुरालाई मध्यनजर गर्दै सरकारले यस वर्ष अभिमुखीकरण गर्ने काम गरेको बास्तोला बताउँछन् । सञ्चारमाध्यम लगायत विभिन्न माध्यमबाट जानकारी गरेपछि विगतमा पहिलो र दोस्रो दिन आवेदन फारम भर्दा जति भिड लाग्थ्यो, यसवर्ष त्यसो नभएको उनको दाबी छ ।

‘विगतमा जसले पहिला फारम भर्छ, उसको नाम निस्किन्छ भन्ने मनसायले पहिलो दिन नै ठूलो भिड लाग्ने गथ्र्यो’ बास्तोलाले भने- ‘यसपटक प्ररिक्षार्थीहरुलाई यथार्थ जानकारी गराउन सक्दा विगतमा जस्तो पहिलो दिन खासै भिड देखिएन ।’

जेठ ३० र ३१ गते हुने दुई सिफ्ट गरेर हुने परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

-अनलाईनखबर

Share.

Leave A Reply