०८ वैशाख २०८१

सूर्यबहादुर : जो, गगन थापाकै उमेरमा प्रधानमन्त्री बने

0

३ बैशाख, काठमाडौं । सूर्यबहादुर थापा अब हाम्रा साथमा रहेनन् । बुधबार राति दिल्लीमा उनको निधन भयो । तर, नेपाली राजनीतिका विभिन्न युगहरुलाई एक्लै प्रतिनिधित्व गर्दै करिब ६० वर्ष सक्रिय राजनीति गरेका थापाले नेपाल र नेपालीलाई के छाडेर गए ? अब यो विषयमा पक्कै गम्भीर बहस र चिन्तन हुनेछ ।

सहमतिमै संविधान बनाउनुपर्छ भन्दै आएका थापाले आफ्नो ८८ औं बर्थ डेका दिन आफ्नो जीवनका अनुभवहरुको निश्कर्ष सुनाउँदै भनेका थिए । जनजाति, मधेसी, दलित र महिलाले समान अधिकार पाएको महसुस नहुँदासम्म मुलुकमा स्थायित्व र विकास सम्भव हुँदैन । ( यो पनि पढ्नुहोस् )

नेपालमा पहिलो संसदीय चुनाव (२०१५ साल) हुँदा चर्चित नेताहरुको सूचीमा थिएनन् सूर्यबहादुर थापा । त्यसबेलाको निर्वाचनका चर्चित अनुहारमा वीपी कोइराला, पुष्पलाल, गणेशमान सिंह, टंकप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई, तुलसीलाल अमात्य, डिल्लीरमण रेग्मीहरु थिए ।

पहिलो संसदीय चुनावमा सूर्यबहादुर थापाको उमेर ३१ वर्षको थियो । त्यसबेला उनी निर्वाचन क्षेत्र नं २२ (धनकुटा दक्षिण-पश्चिम) बाट स्वतन्त्र उमेद्वारका रुपमा चुनाव लडेका थिए । तर, थापा नेपाली कांग्रेसका उमेद्वार लीलानाथ पाध्यासँग पराजित भए । त्यसबेला धनकुटामा कांग्रेस उमेद्वारको मत ३ हजार २ सय ९ आएको थियो भने दोस्रो स्थानमा थापाले २ हजार ३ मत ल्याएका थिए । कम्युनिष्ट पार्टीका उमेद्वार भरतराज जोशीको मत १ हजार ८ सय ७९ थियो ।

बहुदलीय व्यवस्था अन्तरगत भएको चुनावमा ३१ वर्षको युवाले स्वतन्त्र उमेद्वारका रुपमा प्राप्त गरेको यो दोस्रो स्थान सम्मानजनक हार थियो ।

त्यसो त ३० वर्षको उमेरमै ०१४ सालमा थापा राजाले गटन गरेको सल्लाहकार सभाको ‘सभामुख’ भइसकेका थिए । जीवनको उत्तरार्थमा दोस्रो संविधानसभामा पनि उनले ज्येष्ठ सदस्यको नाताले केही समय सभामुखको जिम्मेवारी निभाए ।

पहिलो संसदीय निर्वाचन भएको दुईवर्षमै तत्कालीन राजा महेन्द्रले कु गरेपछि सूर्यबहादुर थापाले ०३८ सालसम्म चुनाव लड्नुपरेन । त्यसपछि राज्यको उपल्लो निकायमा थापाको सक्रियता बढ्यो ।

४० वर्ष नपुग्दै प्रधानमन्त्री

तत्कालीन राजा महेन्द्र युवाहरुमा विश्वास गर्ने भन्ने कुरा सूर्यबहादुर थापा ३८ वर्षको हुँदैखेरि प्रधानमन्त्री बन्नुले स्पष्ट गर्छ । ०२२ सालमा थापा पहिलोपटक प्रधानमन्त्री बन्दा उनको उमेर ३८ वर्ष (अहिले गगन थापाजस्तै) मात्र थियो । ०२२ सालदेखि उनले चार वर्ष प्रधानमन्त्री चलाए ।

पञ्चायती व्यवस्थामा दरबारसँग पटक-पटक संघर्ष गरेका थापा पञ्चायतकाल र त्यसभन्दा अघि-पछि गरेर पाँचपटक प्रधानमन्त्री भए ।

राजनीतिक जीवनमा मान्छेले अनेक प्रकारका उतार चढाबहरु व्यहोर्नुपर्छ भन्ने उदारण हुन् सूर्यबहादुर । तत्कालीन राजा महेन्द्रले आफ्ना छोरालाई भनेका थिए, समस्या पर्दा सूर्यबहादुर थापासँग सल्लाह लिनु । तर, महेन्द्रको निधनलगत्तै दरबारको विरोध गर्दा केही समय थापा जेलसमेत गरे । उनले भोक हडतालसमेत गरे । तर, फेरि ०३५ सालमा उनी प्रधानमन्त्रीमा मनोनित भए । ०३८ सालको जनमत संग्रह गराउँदा र पञ्चायतलाई जिताउँदासम्म उनी प्रधानमन्त्रीको कुर्सीमा थिए ।

सुधारिएको पञ्चायती व्यवस्थासँगै ०३८ सालमा सम्पन्न् संसदीय चुनावमा सूर्यबहादुरले धनकुटाबाट चुनाव जिते । त्यसबेला खसेको ४६ हजार सदर मत मध्ये थापाले ४० हजार ५ सय ४६ मत पाएका थिए ।

जनमत संग्रहमा पञ्चायतलाई जिताएर पहिलो रापंस चुनाव जितेपछि थापा फेरि ०३८ सालदेखि ०४० सालसम्म तेस्रोपटक देशको प्रधानमन्त्री बने । तर, त्यसलगत्तै थापा र दरबारवीच दुरी बढ्यो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र नेतृत्वको ‘भूमिगत गिरोह’ले प्रधानमन्त्रीबाट वर्खास्त गर्न खोजेपछि सूर्यबहादुर थापाले पाँचवर्षे कार्यकाल पूरा नहुँदै प्रधानमन्त्रीबाट राजीनामा दिए । त्यसपछि पञ्चायतकाल रहुञ्जेल दरबारले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बन्न दिएन ।

विश्लेषकहरुका अनुसार पञ्चायती व्यवस्थाको प्रादुर्भावदेखि नै पञ्चहरुको दुई धार थियो । एउटा अनुदारवादी धारको नेतृत्व डा. तुल्सी गिरी र ज्ञानेन्द्र शाह लगायतले गर्थे भने सूर्यबहादुर थापाले उदारवादी धारको नेतृत्व गथ्र्यो । डा. तुल्सी गिरीले ०३६ सालमा राजाले जनमत संग्रहको घोषणा गर्दा गिरी असहमत भएर रिसाएर श्रीलंकातिर लागेका थिए । पछि ज्ञानेन्द्रले माघ १९ को ‘कु’ गर्दा डा. गिरीलाई श्रीलंकाबाट झिकाएर मन्त्रिमण्डलको उपाध्यक्ष बनाए ।

विसं. ०४३ सालमा सम्पन्न दोस्रो पञ्चायती चुनावमा सूर्यबहादुर थापाले धनकुटाबाट ३२ हजार मत ल्याएर जिते । त्यसबेला धनकुटाबासीले प्रधानमन्त्री बन्न सक्ने उमेद्वारलाई भोट हालिन्छ भन्दै मतदान गरेका थिए, तर चुनाव सम्पन्न भएपछि दरबारले खासै चर्चामा नआएका मरिचमान सिंहलाई प्रधानमन्त्री बनायो । सूर्यबहादुर थापा प्रधानमन्त्री नभए लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुने अनुमान गरिएको थियो, तर न सूर्यबहादुर बने, न लोकेन्द्रबहादुर ।

तर, ०४६ सालको जनआन्दोलनका बेला मरिचमानले राजीनामा दिएपछि पञ्चायतले आफ्नो रक्षाका लागि  चन्दलाई प्रधानमन्त्री बनायो, तर उनी टिकेनन् ।

परिवर्तन आउँदा चुनावमा पराजय

नेपाली कांग्रेस परिवर्तनको सम्वाहक भएको अवस्थामा थापाले ०१५ सालको चुना हारेका थिए भने ०४७ को परिवर्तनपछि ०४८ सालमा सम्पन्न पहिलो संसदीय चुनावमा पनि सूर्यबहादुर थापा धनकुटाबाट चुनावमा पराजित भए । त्यसबेला उनी नेकपा एमालेका गोपा गुरागाईसँग भारती मतान्तरले हारेका थिए । गुरागाईको १७ हजार ७ सय ६३ मत आएको थियो भने दोस्रो स्थानका थापाले ८ हजार ५ सय ८ मतमात्रै ल्याएका थिए । कांग्रेसबाट सूर्यबहादुर थापाकै भतिजा अर्जुन थापाले ४ हजार ७ सय ५४ मत ल्याएका थिए ।

सूर्यबहादुर थापा राजनीतिमा निकै ज्याद्रो नेता थिए । उनले ०५१ सालमा सम्पन्न मध्यावधि चुनावमा एमालेका गोपाल गुरागाईलाई पराजित गरिदिए । त्यसपछि उनी ०५४ सालमा करिब एक वर्ष बहुदलीय व्यवस्थाको प्रधानमन्त्री बने । ०५१ को मध्यावधि चुनावमा थापाले १३ हजार २ सय २० मत पाएका थिए भने एमालेका गुरागाईले १० हजार ३ सय ५२ मत ल्याएका थिए ।

धनकुटाको राजनीतिमा सूर्यबहादुर थापाको दबदबाका अगाडि परिवर्तित भनिएका राजनीतिक शक्तिको पनि केही लाग्दैनथ्यो । ०५६ सालको संसदीय निर्वाचनमा एमालेका गोपाल गुरागाईले सूर्यबहादुरसँग तेस्रोपट प्रतिस्पर्धा गरे, तर जित्न सकेनन् । ०५६ चुनावमा विजयी थापाले १२ हजार १ सय ४५ मत ल्याएका थिए भने एमालेका गुरागाईले ११ हजार १ सय १९ मत ल्याएका थिए । त्यसबेला मालेका राजकुमार राईले २२ सय ८० मत नकाटेको थए एमालेले थापालाई पराजित गर्ने स्थिति थियो ।

राजनीतिक परिवर्तनको अवस्थामा थापाले चुनाव हार्ने गरेका थिए । ०१५ साल र ०४८ सालमा जस्तै ०६४ सालको पहिलो संविधानसभा चुनावमा उनी एमाओवादीसँग पराजित भए । पहिलो संविधानसभामा थापा एमाओवादीका युवा उमेद्वार हरिराज खेवासँग पराजित भएर संविधानसधभामा जान पाएनन् ।

दोस्रो संविधानसभामा उमेर र स्वाथ्यका कारणले मतदातालाई न्यया नहुने भन्दै उनले चुनावमा भाग लिएनन् । भाग लिएका भए जित्ने थिए भने प्रमाण उनका छोरा सुनिलबहदुर थापाको जितले प्रमाणित गरेको छ ।

राप्रपाका पूर्वअध्यक्ष थापा दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद बने । ज्येष्ठ सदस्यका नाताले उनले संविधानसभाको अध्यक्षता गरे ।

सधैं सुधारको पक्षमा

बरिष्ठ राजनीतिज्ञ सूर्यबहादृुर थापा मुलुकमा हुने राजनीतिक परिवर्तन वा क्रान्तिमा आफैं संलग्न भएनन् तर जब परिवर्तन आयो, त्यसलाई उनले सधैं स्वीकार गरे । थापा जति वृद्ध हुँदै गए उति क्रान्तिकारी जस्तै देखिन थालेका थिए । कमल थापासँग पार्टी एकता हुन लाग्दा उनले गणतन्त्रको पक्षमा लिएको अडान यसको प्रमाण हो ।

त्यसैगरी ८८ बर्थडेमा उनले मधेसी, जनजाति, दलित र महिलामाथि विगतको शासन सत्ताले न्याय नगरेको उनको निश्कर्ष पनि एउटा क्रान्तिकारी परिवर्तनपछिको अपेक्षा नै हो ।

राणा शासनविरुद्ध भएको ००७ सालको क्रान्तिमा युवा उमेरका थापा कांग्रेसमा लागेनन् र उनले स्वतन्त्र उमेद्वारका रुपमा कांग्रेससँगै प्रतिस्पर्धा गरे ।

थापाले ०३७ सालको जनमत संग्रहमा पञ्चायतलाई जिताउने भूमिका खेले पनि उनी सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा उभिएका थिए । ०४६ सालको परिवर्तनपछि उनले निरंकुश राजतन्त्रको वकालत गरेनन् र पार्टी खोलेर बहुदलीय प्रक्रियामा सहभागी भए । र, ०६२/०६३ को परिवर्तनपछि उनले गणतन्त्रलाई दह्रोसँग आत्मसाथ गरे । दोस्रो संविधानसभा पछि उनी सहमतिबाटै संविधान निर्माण हुनुपर्ने पक्षमा थिए ।  पछिल्लो समय उनले आफ्नै निवासमा दलका नेताहरुलाई बोलाएर चाँडो सहमतिमा पुग्न र संविधान बनाउन आग्रह गरेका थिए ।

करिब ६ दशक राजनीतिमा लागेका थापाको जीवनमा सकारात्मक पक्षमात्रै छैनन्, उनीमाथि आलोचना पनि हुने गरेका छन् । तर, सापेक्षित रुपमा हेर्दा थापाको निरन्तर र अथक राजनीतिक यात्राबाट जो कोही राजनीतिज्ञले पनि सिक्न सक्ने ठाउँ छ । प्रधानमन्त्री सुशील कोइरालाले नै थापालाई स्वास्थ्यलाभको कामना गर्दै लेखेको पत्रमा भनिसकेका छन् कि थापा प्रधानमन्त्री कोइरालाका लागिसमेत मार्गदर्शक थिए ।

-अनलाइनखबर

Share.

Leave A Reply