१६ चैत २०८०

जाजरकोटका चार सय ३२ विद्यालय बन्द

0

जाजरकोट, वैशाख ३ गते । जाजरकोटमा मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिक बढेपछि यहाँका सबै विद्यालय आजदेखि बन्द गरिएको छ । जिल्लाका २७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिले गरेको निर्णयअनुसार १५ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।

विद्यालयमा धेरै मानिस जम्मा हुने भएकाले त्यहाँबाट छिटो सङ्क्रमण बढ्ने भन्दै विद्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यहाँको अछानी गाविसको एक विद्यालयबाट यो रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालय दिएको जानकारीअनुसार नेपाली सेनाको चिकित्सकसहितको टोलीले आज बिहानैदेखि रोग प्रभावित टालेगाउँ गाविसमा उपचार सुरु गरेको छ ।

त्यस्तै चौरजहारीस्थित रहेको मेसिन अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले पनि आजबाट उपचार सुरु गरेको छ । यसैबीच बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी रामकृष्णा गिरी बिरामी परेपछि थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको छ । रासस

Share.

Leave A Reply