०७ वैशाख २०८१

संविधान जारी नभएसम्म सरकार परिवर्तन हुँदैन

0

काठमाडौँ, चैत १४ गते । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी नभएसम्म सरकार परिवर्तन नहुने बताउनुभएको छ ।प्रशासन व्यवस्थापन र विकास केन्द्रको सत्रौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान लेखनका विषयमा अझै पनि केही कुराहरु सहमति हुन बाँकी रहेकाले संविधान जारी नहुँदासम्म वर्तमान सरकार नै कायम रहने बताउनुभयो ।

महामन्त्री सिटौलाले लोकतन्त्र र लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका भएको तर सोचेअनुरुप काम गर्ने क्रममा कर्मचारीतन्त्रबाट सहयोग नहुने गरेको अनुभव राख्नुभयो ।

सरकार र कर्मचारीहरु एउटै डुङ्गामा बसेर यात्रा गर्ने भएकाले सरकारलाई कर्मचारीले भरपुर सहयोग गर्नुपर्ने भन्दै महामन्त्री सिटौलाले समग्र मुलुकको विकासका निम्ति सरकार र कर्मचारीसँगै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“हिजो दरबारियासँगको डर थियो, आज कोहीसँग डर छैन, तैपनि किन काम हुन सकेको छैन रु” प्रश्नको शैलीमा पूर्व गृहमन्त्रीसमेत रहनुभएका सिटौलाले सरकार अस्थायी हुने र कर्मचारीतन्त्र स्थायी भएको हुनाले साँचो अर्थमा मुलुकका विकासमा कर्मचारीतन्त्रको ठूलो हात रहेको बताउनुभयो ।

सो अवसरमा सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले कर्मचारीतन्त्रको कार्य सम्पादनलाई छिटो छरितो बनाउन आवश्यक रहेको बताउनुभयो ।

कर्मचारीतन्त्रमा काम चुस्त दुरुस्त राख्न युनियनहरुको आवश्यकता भए पनि लामो समयसम्म यस्ता युनियन राख्नुपर्ने आवश्यकताको अन्त्य गर्नुपर्ने भन्दै आर्थिक, प्रशासन, विकासलगायतका क्षेत्रमा कर्मचारीतन्त्रको ठूलो योगदान छ भन्नुभयो ।

केन्द्रका अध्यक्ष डिल्लीप्रसाद सिवाकोटीले कर्मचारीतन्त्रलाई राजनीतिले अगुवाइ गर्नु उपयुक्त हुने भन्दै सरकार परिवर्तन हुनेबित्तिकै कर्मचारी हेरफेर गरेर कार्यसम्पादनमा ठूलो असर पु¥याउने गरेको विचार व्यक्त गर्नुभयो । रासस

Share.

Leave A Reply