०८ वैशाख २०८१

भारतीय प्रधानमन्त्रीको विदेश भ्रमण

0

नयाँ दिल्ली, २५ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिन्द महासागरमा पर्ने तीन राष्ट्रको भ्रमणमा जान लाग्नु भएको छ । 
द्विपक्षीय सम्बन्ध विस्तारको लागि उहाँले यो भ्रमण गर्न लाग्नुभएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । 
यस हप्ता आफूले सिसेल्स, मौरीसस् र श्रीलङ्काको भ्रमण गर्न लागेको र ती मित्र राष्ट्रहरुसँग द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने प्रतिक्षामा रहेको मोदीले आइतबार साँझ ट्वीटरमार्फत बताउनु भएको जनाइएको छ । 
निकट भविष्यमा हुन गईरहेको सिसेल्सको भ्रमणबाट पनि आफू अत्यन्त खुसी भएको र सिसेल्सका राष्ट्रपति जेम्स माइकलसँग भारत र सिसेल्सबीचको सहकार्य मजबूत गर्ने विषयमा वार्ता गर्न आफू प्रतिक्षारत रहेको मोदीले बताउनु भएको छ ।
प्राकृतिक सुन्दरताले भरिएको र हृदयबाट नै स्वागत गर्ने नागरिक रहेका सो देशको भ्रमणको लागि आफू उत्साहित भएको पनि उहाँले बताउनु भएको छ । 
यसैगरी मार्च ११ देखि १२ सम्म उहाँ मौरीसस्को भ्रमणमा रहनु हुने भएको छ । ‘म अत्यन्त खुसी छु, मौरीस्सका मेरो बहिनी र भाइहरुले राष्ट्रिय दिवस मनाउँदै छन्’ मोदीले टवीट्रमा लेख्नु भएको जनाइएको छ । 
यस भ्रमणपछि मौरीसस् र भारतबीचको सम्बन्ध बलियो हुने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको समाचारमा उल्लेख गरिएको छ । 
मौरीसस्का प्रधानमन्त्री आनेरोड जुङनाउथसँग भेटवार्ता गरी थप सम्बन्ध विस्तार गरिने पनि प्रधानमन्त्री मोदीले बताउनु भएको छ । 
त्यसैगरी मार्च १३ देखि १४ सम्म मोदीले कोलम्बोको भ्रमण गर्न लाग्नु भएको पनि सो समाचारमा उल्लेख छ । 
भारतको प्रधानमन्त्री भएयता उहाँले श्रीलङ्काको यो पहिलो पटक भ्रमण गर्न लाग्नुभएको हो । 
यस भ्रमणपछि भारत र श्रीलङकाबीचको सम्बन्ध विस्तार हुने धारणा राख्दै लामो समयपछि भारतीय प्रधानमन्त्रीले छिमेकी श्रीलङ्काको भ्रमण गर्न लागेकोले आफू अत्यन्त हर्षित रहेको पनि उहाँले बताउनु भएको छ । रासस-सिन्ह्वा

Share.

Leave A Reply